उदयपुर प्रहरीले वर्षौँदेखि फरार रहेका ३ जना अभियुक्तलाई पक्राउ गरेको छ। जिल्ला अदालतले बिभिन्न मुद्धामा दोषी करार गरे पनि सजाय भुक्तान नगरी प्रहरीको ‘फरार सूची’मा रहेका बिभिन्न ठाउँका अभियुक्तहरु पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार पक्राउ पर्नेमा २०५९ देखि २०७४ सालसम्मको अदालती फैसलामा दोषी करार भएका अभियुक्तहरु रहेका छन्। जिल्ला अदालत उदयपुृरले २०५९ असार २६ गतेको फैसला अनुसार ज्यान मास्ने बेच्ने अभियोगमा २ वर्ष कैद सजाय सुनाइएका सिन्धुलीको दुघौली नगरपालिका १४ कालीखोला नौले घर भई हाल कटारी नगरपालिका २ खोक्सा बस्दै आएका ४० वर्षीय ऋद्धिकुमार गौतम पक्राउ परेका छन्।
त्यस्तै उदयपुर अदालतकै २०६२ फागुन ८ गतेको इजलासी फैसला अनुसार जवरजस्ती करणी अभियोगमा ६ वर्ष कैद सुनाइएका कटारी नगरपालिकाकै १ नं. वडा कालीखोला घर भई मधेस प्रदेशको सिराहा जिल्ला मिर्चया नगरपालिका ७ बस्ने ५० वर्षीय स्वस्तिहरि बराल पनि प्रहरी नियन्त्रणमा परेका छन्। अर्का अभियुक्त कटारी नगरपालिका ८ बेलटारका ६९ वर्षीय दुर्गाबहादुर तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश पोदारले बताए।
लागू औषध कारोबार मुद्धामा १० महिना १५ दिन कैद तथा १० हजार रुपैँया जरिवाना सुनाइएका तामाङ जिल्ला अदालत उदयपुरको २०७४ फागुन २८ गते बसेको इजलासको फैसला अनुसार दोषी प्रमाणित भएका हुन्। खोजी सूचिमा रहेका फरार अभियुक्तहरुको खोजी गर्ने क्रममा जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले शनिबार उनीहरुलाई लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जनाइएको छ।
पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालयमा उपस्थित गराई कैद सजाय भुक्तानका लागि अदालतको जिम्मा लगाइएको प्रहरी प्रमुख एसपी ज्ञानेन्द्र फुयालले बताए। अदाललते पनि प्रहरीले बुझाए लगत्तै कैद सजाय भुक्तानका लागि जिल्ला कारागार शाखा पठाएको जनाएको छ। एसपी फुयालका अनुसार फरार प्रतिबादी पक्राउ अभियान अन्तगर्त २०७९ फागवुन ९ देखि १४ गतेसम्ममा ७ जना फरार अभियुक्तहरु पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा बुझाइसकिएको छ।
प्रकाशित: १४ फाल्गुन २०७९ १२:५१ आइतबार