समाज

दाईको हत्या गरेको आरोपमा भाई पक्राउ

आफ्नै दाईको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। गेरुवा गाउँपालिका–१ का ३१ वर्षिया सिताराम थारुलाई प्रहरीले पक्राउ गरेको हो। थारुले आफ्नै दाईलाई चिर्पट दाउराले टाउकोमा प्रहार गरि फरार भएका थिए। पक्राउ परेका थारुले दाईको हत्या गरेको प्रहरी समक्ष स्विकार गरेका छन्।

२०७५ सालमंसिर २७ गते राति ११ बजे गेरुवा गाउँपालिका–१ जनकनगरका ३५ वर्षिया रामबहादुर थारु कुलोको ढिकमा भेटिएका थिए। घाइते थारुको दायाँकान पछाडि टाउकोमाचोट लागि शख्त घाइते अवस्थामा थिए। घाइते अवस्थामा भेटिएका थारुको उपचारको लागि काठमाडौं मेडिकल कलेज टिचिङ अस्पताल सिनामंगलबाट २०७६ साल बैशाख ६ गत घरमा ल्याएको दिनमा मृत्यु भयो।

मृतकको छोरीले ईलाका प्रहरी कार्यालय पाताभारमा फुटकर ज्यान सम्बन्धि २०७६ साल बैशाख २४ गते जाहेरी दरखास्त दिएकी थिइन्। जमिनको विषयमा झगडा र मृतकले भाईको जमिनमा सामुदायिक वनबाट काठ ल्याई लुकाई छिपाई राख्दा वनका कर्मचारीले भाईसंग जरिवाना तिराएको विषयमा दुबै भाई बिच बोलचाल थिएन। शंकास्पद घटना भएकोले प्रहरीले सुक्ष्म अनुसन्धान गरेको थियो। फरार भाईलाई प्रहरीले गत माघ १६ गते नियन्त्रणमा लिएको थियो।

प्रहरीले भाई सिताराम थारुसंग बयान लिने क्रममा दाईलाई २०७५ साल मंसिर २७ गते राति चिर्पट दाउराले हानेर घाइते बनाएको स्विकार गरेका छन्। प्रहरीले थारुलाई बिहीबार कारवाहीको लागि जिल्ला अदालतमा बुझाएको एसपी सुधिर राज शाहीले जानकारी दिए।

प्रकाशित: ११ फाल्गुन २०७९ ११:३१ बिहीबार

हत्या