समाज

मल्लकालीन मूर्ति दुरवस्थामा

ललितपुर- गत वर्ष वैशाखमा गएको भूकम्पमा भत्केको विश्वसम्पदा सूचीमा रहेको पाटनका चार नारायण मन्दिर र हरिशंकर मन्दिरका मूर्तिहरू संरक्षण नगरिँदा नष्ट हुने अवस्थामा पुगेका छन्। मठमन्दिर सम्पदा र मूर्ति संरक्षणको जिम्मेवारी पुरातत्व विभागको भए पनि विभागले बेवास्ता गर्दा मूर्ति नष्ट हुने स्थितिमा पुगेका हुन्।

भूकम्पमा क्षतिग्रस्त मन्दिरका गजुर तथा मूर्तिहरू दरबारको दक्षिण कुनास्थित दलान कोठामा थुपारिएको छ । सबै मूर्तिहरू एउटै कोठामा कोचेर राखिएको छ । पुरातात्विक महत्वका ऐतिहासिक मूर्ति एउटै कोठामा भुईंमा असुरक्षित रुपमा लडाएर राखिएकाले मूर्ति भाँचिने, बांगिने, टुटफुट हुने र स्वरुप नै बिग्रन थालेको छ । दलानमै राखिएको मल्ल राजा योगनरेन्द्रको मूर्ति भाँचिन थालेको मात्र नभएर जीर्ण भएको छ ।

यस्ता पुरातात्विक महत्वका सम्पदा संरक्षणमा जिम्मेवार विभागले हेरचाह नगर्दा यसरी मूर्ति असुरक्षित रुपमा थुपारिएका पुराना मूर्ति चोरी हुनसक्ने पाटनका स्थानीय इश्वर कायस्थ बताउँछन् । भूकम्पमा भत्केपछि मन्दिरमा भएका शंंख, घण्टीलगायत अन्य सामग्री पनि दरबारभित्र यत्रतत्र भुईंमै छरपस्ट मिल्काइएका छन् । मन्दिर भत्कँदा भाँचिएका टुटेफुटेका कतिपय मूर्ति यस्तै सामग्रीले किचिएका छन् । यसबारे पुरातत्व विभाग हेरचाह कार्यालय ललितपुरका प्रमुख काजीमान प्याकुरेलले स्थानाभावका कारण यसरी सबै मूर्ति, गजुर र अन्य सामग्री एकै ठाउँमा राख्नुपर्ने बाध्यता रहेको बताए । त्यस्तै तलेजुको गजुर पनि दरबारको खुला आँगनमा राखिएको छ ।

भूकम्पको १८ महिना बित्न लाग्दा पनि मूर्तिको संरक्षण नगरिँदा रातारात मूर्ति नै बेपत्ता हुन्छन् कि भनेर चिन्तित छन् ८० वर्षीय स्थानीय सुरेश लाखे । उनी भन्छन्, ‘भूकम्पअघि चार नारायण मन्दिरमा भेला भएर टोलका बुढापाका भजन किर्तन गर्दथ्यांै, तर भूकम्पले हामीले भजन किर्तन गर्ने थलो नै खोसिदियो।’

दरबार परिसरको पूर्वतर्फको भण्डारखालमा टहरा निर्माण गरी खुला ठाउँमा मन्दिरका कलात्मक टुँडाल राखिएको छ । यसरी पुरातात्विक कलात्मक टुँडाल खुला ठाउँमा राख्दा टुँडाल हराउने प्रवल सम्भावना देख्छन् स्थानीय बुद्धिजीवि मनोज महर्जन । भूकम्पमा भत्केका मन्दिरका कलात्मक टुँडाल, कार्नेस, तोरण, खम्बा, झ्याल, ढोकाको कुनै अभिलेख हेरचाह समितिसँग छैन । टहरामा बिनागन्ती राखिएका झ्याल, ढोकालगायत टुँडालको प्रहरीको उच्च सुरक्षामा राखिएको हेरचाह कार्यालय ललितपुर प्रमुख प्याकुरेल बताउँछन्।

प्रहरीले सुरक्षा दिएको भए पनि यसरी खुला ठाउँमा राखिएको बहुमूल्य सामग्री कुनै पनि बेला पनि चोरिनसक्ने ललितपुर मंगलबजारका एक स्थानीय आशंका गर्छन्।

प्रकाशित: १९ आश्विन २०७३ ०३:१४ बुधबार

मल्लकालीन मूर्ति दुरवस्थामा