काठमाडौं– दसैंसम्म उपत्यकावासीको घरमै मेलम्चीको पानी वितरण गर्ने दाबी गरिरहेको मेलम्ची खानेपानी उपयोजना– २ कार्यान्वयन निर्देशनालयले राजधानीका सबै भित्री बस्तीमा पाइप बिच्छ्याउने सकेको छैन ।
पुराना तथा घना बस्तीका साँघुरा सडक भत्काउँदा आवागमन कठिन हुने, भूकम्पमा चर्केका घरमा लगाइएका टेकाले खन्न अप्ठेरो परेकाले भित्री बस्तीमा पाइप बिच्छाउन चुनौती बनेको निर्देशनालयका प्रवक्ता लिलाप्रसाद ढकालले बताए । निर्देशनालयका अनुसार असन र पाटनलगायत पुराना र घना बस्तीमा टेका लगाएका घर धेरै छन् ।
सबैभन्दा घना बस्ती भएको असन क्षेत्रमा ३५ र पाटनमा १५ किलोमिटर जोखिमपूर्ण ठाउँ रहेका प्रवक्ता ढकालले जनाए । ‘साँघुरो बाटोमा पाइप हाल्दै नयाँ नेटवर्क राख्न अप्ठेरो छ नै टेकामा अडिएका घर ढल्लान् भन्ने अर्को समस्या छ,’ उनले भने, ‘त्यहाँका पाइप धेरै पुरानो भएकाले चुहावट हुने डर, नयाँ राख्न असाध्यै कठिन छ ।’
स्थानीयको सहयोगबाट मात्रै भित्री सडकमा पाइप बिच्छ्याउन सकिने ढकालले बताए । ‘ट्राफिक र सडक विभागको सहयोग पाएका छौं । अब स्थानीयले पनि साथ दिनु पछर्,’ उनले स्थानीयसँग सहयोगको आग्रह गर्दै भने, ‘कर्मचारीको काम चित्त नबुझे निर्देशनालयमा फोनबाट गुनासो गर्न सकिनेछ ।’ स्थानीयले सहयोग गरेमात्र सेप्टेम्बरभित्रै पाइप बिच्छ्याउन सकिने उनले बताए ।
चावहिल, महाराजगन्ज, चक्रपथ, ग्वार्को, डल्लु, एकान्तकुना, ढुंगेधारा, गौशालालगायत क्षेत्रमा पाइप बिच्छ्याउने काम तीव्र गतिमा भइरहेको निर्देशनालयले जनाएको छ । उपत्यकाभित्र बिच्छयाउनु पर्ने ८ सय किलोमिटर पाइपमध्ये ५ सय किलोमिटर बिच्छ्याइ सकेको छ । उपयोजना– २ ले दैनिक ३५ किलोमिटर पाइप बिच्छ्याइरहेको र यसका लागि दैनिक हजार जना कर्मचारीले काम गरिरहेको निर्देशनालयले जनाएको छ ।
प्रकाशित: १३ आश्विन २०७३ ०२:०४ बिहीबार