समाज

तेस्रो लिंगीको तीज

भूमिका श्रेष्ठ, अधिकारकर्मी

तीजले नेपालको संस्कृति झल्काउने भएकाले हामी तेस्रो लिंगी महिला पनि यसलाई मनाउँछौं। विशेष गरेर महिलाले यसलाई महान चाडका रुपमा लिने गरेका छन्। मैले पनि अन्य महिलाले झैं राम्रो जीवनसंगिनी पाउँ भनेर तीजमा व्रत बस्ने गरेकी छु। हाम्रा तेस्रो लिंगी महिला तीज मनाउनुको मुख्य कारण नै राम्रो जीवनसाथी पाउनका लागि हो। कोही–कोही साथी आफ्नो स्वास्थ्य राम्रो होस् भनेर पनि व्रत बस्छन्। हाम्रो समाजले मनाउँदै आएको पर्वप्रति मेरो पनि आस्था छ। त्यसैले पानी पनि नपिई व्रत बस्ने गरेकी छु। तीजको अघिल्लो दिन दर खाने, तीजको दिन रातो सारी, चुरापोते लगाएर रमाइलो गर्ने र साथीहरुसित तीज मनाउने गरेकी छु। अहिलेसम्म राम्रो जीवनसाथी भेट्टाएकी छैन। तीज आउनुभन्दा अगाडिबाट नै महिलासम्बन्धी संघसंस्थाले दर खान बोलाउँछन्। ती सबैमा उपस्थित हुने गरेकी छु। हरेक वर्ष मानवअधिकार महिला संघ, माइती नेपाल, अपांगता महिला समाजले तीजको दर खान र कार्यक्रममा बोलाउने गरेका छन्। हामी तेस्रो लिंगी महिलाहरुले तीज कै दिन पारेर ब्लू डायमण्ड सोसाइटीले तीजको हरेक वर्ष कार्यक्रम राखेर रमाइलो गर्ने गरेका छौं।

अञ्जली लामा, मेकअप आर्टिस्ट

तीजप्रति मेरो निकै आस्था छ। तीजमा हामी तेस्रोलिंगी महिलामा कतिपय साथीले राम्रो साथी पाउनका लागि पानी त के थुक पनि ननिली व्रत बस्छन् तर म दिनभर व्रत बसेर साँझ फलफूल खान्छु। धर्मप्रति आस्था भएकाले हिन्दुधर्मको मान्यताअनुरुप सबै पर्व मनाउने गरेकी छु। लगातार सात वर्षदेखि व्रत बस्ने गरेकी छु। हामी महिला संस्कार–संस्कृतिको निरन्तरता एवं जगेर्ना गर्नका लागि पनि आवश्यक ठान्छु।

मेघना लामा सदस्य, ब्लु डायमन्ड सोसाइटी

हामी तेस्रोलिंगी समुदायका शारीरिक, मानसिक तथा भावनात्मक पीडामा रुमल्लिइरहेका छौं। यस्ता चाडपर्वलाई हामीले खुसी हुने अवसर पनि दिने गरेकी छु।  हामीहरु तीज सुरु हुनुभन्दा एक महिनाअगावै सजाउने काम गरिरहन्छु। ब्युटी पार्लर जाने, बुटिक चाहर्ने, सुन्दर बन्न हरेक उपाय गरेर तथा तीजको अवसरमा हेभी लेहेंगा, साडी र एसेसरिजको सपिङ गर्ने काममा हामीबीच प्रतिस्पर्धा हुन्छ।

बिन्दिया गौतम

तीजप्रति तेस्रो लिंगी महिलामा पनि उत्तिकै आस्था छ। हामी पनि आफ्ना जीवनसंगिनीको लागि व्रतसमेत बस्ने गरेकी छु। तीजमा रमाइलो गर्न रातो साडी, हरियो चुरा पोतेको पहिरनमा सजिएर महिला साथीसित नै कम्मर मर्काउने पनि गरेका छौं। तीजका लागि पहिलेदेखि नै ब्युटी पार्लर गएर सुन्दर बन्नेजस्ता क्रियाकलापमा पनि निकै समय खर्चिने गरेकी छु।

इशा नेपाल

तीजकै अवसरमा तेस्रो लिंगी मिस तीज प्रतियोगिता हुन्छ। म जब सिंगारिएर प्रतियोगी बन्छु, मलाई पूर्ण नारी भएको महसुस हुन्छ। तीजमै हामी तेस्रो लिंगी महिलामा अलि बढी नै शृंगार गर्न मौका मिल्छ र सजिएर सांस्कृतिक अवसरमा हामीभित्र भएका शारीरिक, मानसिक, भावनात्मक सबै पीडा भुलेर तनाबमुक्त भई खुसीमा रमाइलो गर्न पाउँछु। राम्रो जीवनसाथी पाउँ्क भनी पाँच वर्षदेखि तीजमा व्रत बस्ने गरेकी छु।

 

ज्योति थापा, रेस्टुरेन्ट, सञ्चालक

तेस्रो लिंगी महिलाको साझा रेस्टुरेन्ट पिंक टि्रफ्नी रेस्टुरेन्टमा तीजको दर खाने, नाच्ने, गाउने र रमाइलो गर्ने कार्यक्रम प्रत्येक वर्ष हुने गर्छ। नेपालमा विशेष छोरीले मनाउने पर्व हो तीज। हामी पनि छोरी मान्छेको रुपमा स्थापित भइसकेकाले हाम्रा संस्कृतिमाथि आस्था बढेर गएको छ। महिलाहरु प्रायः आफ्ना पतिका लागि व्रत बस्ने गर्छन्। त्यही जनविश्वासका आधारमा हामी तेस्रो लिंगी महिला पनि व्रत बस्छौं। मैले पनि राम्रो, सुन्दर वर पाउँ्क भन्ने आस्थाका साथ तीजमा ६ वर्षदेखि निराहार व्रत बस्दै आएको छु। यसपालि पनि बस्ने तयारीमा छु। थुप्रै साथीले व्रत बस्ने गरेका छन्। तीजमा मन्दिरमा पनि जाने गरेकी छु। म ब्लु डायमन्ड सोसाइटीमा भोलेन्टियरका रुपमा काम गरिरहेको छु।

प्रस्तुति : विजयकुमार यादव

प्रकाशित: १८ भाद्र २०७३ ०२:३६ शनिबार

तेस्रो लिंगीको तीज