समाज

भारतको सिमलामा बाढीले एकै परिवारका ६ नेपालीको मृत्यु

रोल्पा– भारतमा एक हप्ता अगाडि आएको बाढीमा ६ नेपालीको मृत्यु भएको छ। भारतको सिमलामा आएको बाढीका कारण एकै घरपरिवारकाले ज्यान गुमाएका हुन्।

ज्यान गुमाउनेमा रोल्पाको पश्चिम क्षेत्रमा पर्ने तालाबाङ–४ रिजाबाङका लक्षीराम पुनमगर, उनकी श्रीमती देउकली पुनमगर, ११ वर्षका छोरा परसु पुनमगर, ६ वर्षका छोरा सुरज पुनमगर, सात वर्षकी छोरी सुनिता पुनमगर र चार वर्षका छोरा कर्णबहादुर पुनमगर रहेको बताइएको छ।

सो परिवार भारतको हिमाञ्चल प्रदेशको सिमला नजिकै १५ वर्ष पहिलेदेखि आलुखेती गर्दै आएको छिमेकी वीरबहादुर घर्तीले जानकारी दिए। यता जिल्ला प्रहरी कार्यालय रोल्पाले यसबारेमा आफूहरुलाई केही जानकारी नआएको बताएको छ।

आर्थिक अभावका कारण धेरै रोल्पाली जीविपार्जनका लागि भारतको हिमाञ्चल जाने गर्दछन्। रासस

प्रकाशित: १५ भाद्र २०७३ ११:११ बुधबार

भारतको सिमलामा बाढीले एकै परिवारका नेपालीको मृत्यु