समाज

लाइसेन्स बनाउन पैसा उठाउने गिरोहका थप तीन पक्राउ

इटहरी– यातायात कार्यालयका कर्मचारीसँगको साँठगाँठमा सवारी साधन चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स) बनाई दिने भन्दै पैसा उठाउने थप तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

लाइसेन्स बनाइदिने भनी रकम असुली गर्ने सुनसरी मधेसा– ३ का २४ वर्षीय रिजय रजक, उदयपुर कटारी घर भई इटहरी वडा नं. १ मा बस्ने ४० वर्षीय रविन जोशी र सुनसरी बक्लौरी घर भई इटहरी १२ मा बस्ने ३५ वर्षीया सरिता धामीलाई प्रहरीले पक्राउ गरेको हो। तिनै जनालाई इटहरी बजारकै गणपति होटलबाट बिहीबार अपरान्ह पक्राउ गरेको हो।

लाइसेन्स बनाइदिए बापत प्रतिलाइसेन्स २५ हजार रुपैयाँ माग गरी सुनसरी रामधुनी भासी– १ का रोशनकुमार चौधरीबाट उनीहरुले ५ हजार रुपैयाँ बैना लिएको खुलेको छ। अभियुक्तहरुको समुहले यसअघि पनि लाइसेन्स बनाइदिने भन्दै सर्वसाधारणबाट रकम असुलेको खुलेको प्रहरीले जनाएको छ।
दस दिनअघि पनि इटहरी प्रहरीले सुनसरी भरौल–६ का ३० वर्षीय रिजन भनिने आनन्दकुमार चौधरीलाई

इटहरीबाट पक्राउ गरी ठगी मुद्दा चलाएको थियो।  कोशी अञ्चल यातायात व्यवस्था कार्यालयबाट लाइसेन्स बनाई दिने भनी पैसा उठाउने ठुलै गिरोह भएको प्रहरीले जनाएको छ। चौधरीले लाइसेन्स बनाई दिने भनेर मोटरसाइकलको १५ हजार र चार पाङ्गे सवारी साधनको २० देखि २५ हजार उठाउने गरेको खुलेको छ।

पछिल्लो समय मोटरसाइकलको लाइसेन्स लिनका लागि असार ५ र ६ गते इटहरीमा चार हजारभन्दा बढीले आवेदन दिएका थिए। आवेदन दिएकामध्ये अन्तिम परीक्षा शुक्रबार भएर अब  ट्रायल यही साउन ३२ गते हुदैं छ। चार पाङ्ग्रे सवारी साधनको पनि केहीको ट्रायल हुन बाँकी छ ।

 

प्रकाशित: २८ श्रावण २०७३ १३:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App