समाज

दुई पैसा जग्गामा घर

भक्तपुर- गत वर्षको विनाशकारी भूकम्पपछि भक्तपुरमा आधा आना अर्थात् दुई पैसा जग्गामा धमाधम घर पुनर्निर्माण हुन थालेका छन्। दुई पैसामा बनाइने घरमा एउटा सानो कोठा पनि मुश्किल बन्छ।

भूकम्पमा भत्केका भक्तपुर नगर क्षेत्रभित्रका पुराना र घना बस्तीका घर एक आनाभन्दा थोरै जमिनमा पुनर्निर्माण हुन थालेका हुन्। ससाना टुक्रे जग्गामा बनेका पुराना घरको ठाउँमा अहिले ढलानका पक्की घर निर्माण हुन थालेका हुन्। नगरका अधिकांश पुराना घर एक/दुई पैसादेखि बढीमा एक/दुई आना क्षेत्रफलमा इँटा र माटोका थिए।

भक्तपुर नगरपालिकाको नक्सा उपशाखाको तथ्यांक अनुसार हालसम्म पुनर्निर्माणका लागि नगरभित्र ७ सय २९ वटा नक्सा दर्ता भएका छन्। तीमध्ये ४ सय ३३ वटा घरको नक्सा पास भइ पुनर्निर्माणसमेत सुरु भइसकेका छन्। नगरपालिकाको नक्सा उपशाखामा दैनिक नक्सा दर्ता गर्न आउनेको भीड छ।

नगरपालिकाको नक्सा उपशाखाको तथ्यांक अनुसार भक्तपुरका १ देखि १७ वडाका पुराना बस्तीमा ससाना टुक्रा जमिनमा घर पुनर्निर्माण भइरहेका छन्। भक्तपुर नगरपालिका–२ जेलामा विवेक गोसाईको घर १ सय ७० वर्ग फिट (करिब २ पैसा) जमिनमा निर्माण भइरहेको छ। नगरपालिकाको नक्सा शाखाका अनुसार भक्तपुर नगरपालिका–४ महालक्ष्मीस्थानमा विश्वराम घटुवाको घर पनि करिब २ पैसा जमिनमा बनिरहेको छ। यस्तै भक्तपुर नगरपालिका–५ भोलाछेंका रामकृष्ण कैंटी, वडा नं ७ गोल्मढीमा राजाराम मचामसीलगायत धेरै नगरवासी एउटा कोठा पनि बल्ल बन्ने २ पैसा जमिनमा घर बनिरहेको नगरपालिका नक्सा शाखाले जनाएको छ।

भक्तपुर नगरपालिका नक्सा उपशाखाका प्रमुख ओमहरि था श्रेष्ठका अनुसार भक्तपुरको पुरानो घनाबस्तीमा पुनर्निर्माणका लागि दर्ता भएका अधिकांश घर नक्साको क्षेत्रफल एक आना भन्दा थोरै छ। उनीहरुले भत्केको घरले चर्चेको जमिनमा नयाँ घर पुनर्निर्माण गरिरहेका छन्।

ससानो क्षेत्रफलमा घर बनाउन बाध्य भएपछि स्थानीय पनि दिक्क छन्। एउटा कोठा बल्लतल्ल बन्ने तर भर्‍याङ पनि नबन्ने जमिनमा घर बनाउनु परेपछि कति पीडितले पक्की घरमा पुरानो शैलीको काठेभर्‍याङ राखेका छन्।

१५ वर्षयता घरनक्सा डिजाइन गर्दै आएको भक्तपुर सूर्यविनायकस्थित मेथड कन्सल्टेन्सीका संस्थापक प्रबन्ध निर्देशक इन्जिनियर तुल्सीलाल बासुकलाले पक्की भर्‍याङ राख्दा धेरै ठाउँ चाहिने भएकाले १/२ पैसामा बन्ने घरमा आफूले पुरानै शैलीको काठेभर्‍याङ राखेर नक्साको डिजाइन गरिदिएको बताए। 'एक पैसा त होइन, दुई पैसादेखि माथि क्षेत्रफल भएका घरका नक्सा डिजाइन हामीले नै एक दर्जनभन्दा बढी गरेका छौं,' इन्जिनियर बासुकलाले नागकिसँग भने।

नगरपालिका क्षेत्रभित्रै पुराना घना बस्तीबाहेक अन्य भूभागमा नयाँ घर बनाउन दर्ता भएका घरका नक्सा भने बढी क्षेत्रफलका रहेको नक्सा शाखाले जनाएको  छ। सूर्यविनायक, च्याम्हासिंह, कमलविनायक, सल्लाघारीलगायत स्थान नगरपालिका क्षेत्रमा रहे पनि नयाँ बसोबास क्षेत्र हुन्। त्यहाँ बन्न लागेका घरका नक्सा भने बढी क्षेत्रफलका छन्। भूकम्पमा ध्वस्त घरको पुनर्निर्माणसँग भक्तपुरका ती ठाउँमा नयाँ घर निर्माण क्रम पनि तीव्र छ। भूकम्पले भक्तपुर नगरक्षेत्रका ५ हजार ९ सय ५० घर ध्वस्त भएका थिए।  

प्रकाशित: २१ श्रावण २०७३ ०३:११ शुक्रबार

दुई पैसा जग्गामा घर