समाज

जोरपाटी अझै फोहर

काठमाडौं- जथाभावी फ्याँकिएको फोहर र त्यसको दुर्गन्ध। अव्यवस्थित फुटपाथ बजार। भत्केका खाल्डाखुल्डी सडक। ढल फुटेर निस्केको फोहर पानी। न समयमा पानी आउँछ न बिजुली। लथालिंग बिजुली र केबलका तार यस्ता अनेकौं समस्याग्रस्त जोरपाटीवासी दुई वर्षअघि आफ्नो गाविस नगरपालिका बन्ने खबर सुन्दा यी सबै समस्या समाधान होला र नगरपालिकाका सेवा सुविधा पाइएला भनेर दंग परेका थिए।

२०७१ साल मंसिर १६ मा जोरपाटी गाविस गोकर्णेश्वर नगरपालिका बन्यो। अब नगरपालिकाले फोहर उठाउन नियमित गाडी पठाउँछ अनि सडक सफा र चिल्लो बन्छ जस्ता सपना देखेेका थिए जोरपाटीवासीले। गाविस नगरपालिका बनेपछि नामसँगै साइनबोर्ड र कार्यालय फेरियो। तर जोरपाटी भने फेरिनुको साटो झन् झन् फोहर र अव्यवस्थित बन्दै गयो।

'नगरपालिका भएपछि सहरका सुविधा उपयोग गर्न पाइएला जस्तो लागेको थियो,' जोरपाटीका स्थानीय सहदेव अधिकारी भन्छन्, 'नगरपालिका होइन न गर पालिका पो जस्तो छ।' अधिकारीका अनुसार जोरपाटी नगरपालिका बनेपछि कर बढाएर ढाड सेक्ने बाहेक अरु कुनै काम गरेको छैन।

काठमाडौंको उत्तरभेगको केन्द्र मानिने जोरपाटी चोकमै फोहरको डंगुर छ। 'नगरपालिकाको मात्र नभएर उत्तरभेगकै केन्द्र मानिने ठाउँको हाल यस्तो छ,' जोरपाटी चोकमै थुप्रेको फोहरको डंगुर र रुमालले नाक थुनेर हिँडिरहेका बटुवा देखाउँदै एक स्थानीयले नागरिकसँग भने, 'यस्तो ठाँउको फोहर त उठाउन नसक्ने नगरपालिकाले अरु के गर्ला!' उनका अनुसार बरु गाविस हुँदा फोहर उठाउने गाडी दैनिकजसो आउँने भएकाले चोकमा फोहर कमै मात्र थुप्रिन्थ्यो। 'टोलटोलमा गाडी सातामा पनि आउँदैन। स्थानीय दुर्गन्ध भए पनि चोकमा लगेर फोहर फ्याँक्न बाध्य छन्,' उनले थपे, 'अरु त यस्तै हो सबैभन्दा बढी समस्या फोहर नउठेर भइरहेको छ।'

फोहर थुप्रेको जोरपाटी चोक साँखु, थली, मूलपानी, कागेश्वरी र सिन्धुपाल्चोक जाने सवारीसाधन रोक्ने ठाउँ र यात्रु प्रतिक्षालय समेत हो। त्यहाँ फोहर थुपारिँदा सबैभन्दा बढी असर सवारी प्रतिक्षारत यात्रुले खेपिरहेका छन्। 'दैनिक यहीँबाट गाडी चढ्छु,' कुटुम्ब कलेज जोरपाटीमा अध्ययनरत सञ्जय फुयाँलले भने, 'जहिल्यै फोहर यस्तै हुन्छ। नाक थुनेर बस्नुपर्ने बाध्यताले यहाँ हुन्जेल सास समेत ढिलो लिन्छु।'

फोहर थुप्रेको विपरीत फुटपाथ पनि हिँडिसक्नु छैन। लहरैका मासु पसलको दुर्गन्ध त छँदैछ साथमा फुटपाथमै पनि मासु बेचिरहेका हुन्छन्। चिकित्सक फोहरको दुर्गन्धले स्वाथ्यमा खराब असर पार्छ। सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन्, 'फोहरमा अनेकौं रोगका किटाणु हुने हुँदा गर्मीमा लाग्ने रोग यसबाटै फैलन सक्छ।'

यही छेउमा नगरपालिकाका तीन वटा संयुक्त वडा कार्यालय र जोरपाटी प्रहरी चौकी छन्। नगरपालिकाकै कार्यालय पनि त्यहाँबाट ५ सय मिटरमा छ। नगरपालिकाकी कार्यकारी प्रमुख इन्द्रकुमारी थपलिया दैनिक कार्यालय आउँदाजाँदा गाडीको सिसा लगाएर त्यही बाटो हिँड्छिन्। 'चोकमा फोहर थुप्रेको मैले देखेकी छु,' उनले भनिन्, 'दैनिक फोहर उठाउन गाडी गइरहे पनि पूर्ण सफा हुन सकेको छैन।' थपलियाले फोहर नउठेको मात्र होइन नगरपालिकाले दिनुपर्ने सुविधा र गर्नुपर्ने काम गर्न नसकेको पनि स्विकारिन्।

'नगरपालिकाले स्थानीय सरकारको अनुभूति नगरवासीलाई गराउनुपर्ने भए पनि सकेको छैन,' थपलियाले भनिन्, 'कर्मचारी अभावले गर्दा पनि हामीले काम गर्न सकेका छैनौं।' उनका अनुसार हाल नगरपालिकामा जम्माजम्मी ३४ जना कर्मचारी छन्। कार्यकारी, लेखा प्रमुख, नायब सुब्बा, एक जना वडा सचिव र ३ जना कार्यालय सचिव गरी ७ जना बाहेक सबै कर्मचारी करारमा छन्। स्थायी कर्मचारीको जस्तो काम करारका कर्मचारीले नगर्दा पनि नगरपालिकाको काम प्रभावकारी हुन सकेको छैन। 'करारका कर्मचारीलाई कामको कुनै चिन्ता हुँदैन,' थपलियाले भनिन्। सरकारले आवश्यकता अनुसार स्थायी कर्मचारी नियुक्ती र पूर्वाधार विकास गरे नगरपालिकाका सेवा प्रभावकारी हुने उनले दाबी गरिन्।

जोरपाटी क्षेत्रको फोहर उठाउने जिम्मा बौद्ध सरसफाइ केन्द्रले लिएको छ। घरधनीसँग निश्चित रकम लिएर फोहर उठाउने जिम्मा नगरपालिकाले स्थानीय संघसंस्थालाई दिएको हो। नगरपालिका सक्रिय नहँुदा सम्बन्धित संघसंस्था आफूखुसी फोहर उठाउने गरेको दाबी गर्छन्।

केन्द्रका अध्यक्ष धर्मराज लामाले भने आफूहरुले दैनिक टोलटोलमा फोहेर उठाउन गाडी पठाइरहेको बताए। 'हाम्रो सदस्य नबनेकाले सडकमै फोहर फ्याँकिरहेका गरिरहेका छन्,' लामाले भने, 'जोरपाटी चोकमा थुप्रिने फोहर दैनिक उठाउने गरे पनि भोलिपल्ट जस्ताको तस्तै हुने गरेको छ।'

 

प्रकाशित: १६ श्रावण २०७३ ०४:५५ आइतबार

जोरपाटी फोहर