समाज

तरुल खनेर बेच्न किसानलाई भ्याइनभ्याइ

सर्लाही र रौतहटको बीचमा बग्ने बागमती नदीको बगरका किसानलाई तरुल खनेर बेच्ने हतारो छ। माघे संक्रान्ति आइसकेकोले तरुलको माग अत्यधिक हुँदा तरुल खेती गर्ने किसानहरुलाई अहिले भ्याइनभ्याइ छ।

रौतहटको गढीमाई नगरपालिका १ समनपुरका किसान गणेश राय यादवले पहिलोपटक पाँच कट्ठा बगरमा तरुल खेती गरेका छन्। एक कट्ठामा करिब १२ क्वीन्टलको दरले तरुल फलेपछि यादव दंग परेका छन्।

यादव आफूले खेती गरे पनि मजदुर लगाएर तरुल खन्न लगाइरहेका छन्। एक क्वीन्टल तरुल खनेपछि मजदुरलाई सात सय रुपैया ज्याला दिन्छन्। खेतमा तरुल खनिरहेको राम एकबाल हजारी र देबन हजारीले कठांग्रिँदो जाडोमा तरुल खनेर राम्रो ज्याला पाइरहेको बताउँछन्।

बजारमा तरुलको माग अत्यधिक रहेको छ। तरुलको व्यावसायिक खेती केही वर्ष पहिलेदेखि मात्र बागमतीको बगरमा हुन थालेको छ। प्रति किलो साठी रुपैयामा माग गरेको ठाउँमा पठाइरहेको यादवको भनाइ छ।

तरुलको उत्पादन पनि राम्रो हुने बजारको पनि अभाव नरहेको पहिलो अनुभव यादवको रहेको छ। यादव भन्छन् – अर्को सिजनदेखि तरुल खेतीको विस्तार गर्छु।

सर्लाहीको बरहथवा नगरपालिका १५ पिपराभित्ता सुकुम्बासी टोलका सुबोध ठाकुर र राम बहादुर ठाकुरले बागमती बगरको करिब सय बिगाहा जमिनमा तरुल खेती गरेका छन्।  

बजारको माग अनुसार मजदुरबाट खन्न लगाएर  काठमाडौँ, पोखरा, नारायणघाट र अन्य सहरमा तरुल पठाइरहेको सुबोध ठाकुरको भनाइ छ।

तरुलको अर्डर आएपछि खेतबाट खनेर पठाइरहेका छौँ – ठाकुर भन्छन् – पहिलेभन्दा तरुलको माग निकै बढेको छ। त्यसैले खेतीको विस्तार पनि गरेका छौँ।अहिले प्रति किलो ६० रुपैयामा तरुल विभिन्न सहरमा पठाइरहेको ठाकुरको दावी छ।  

माघ १ गते माघे संक्रान्तिमा तरुल अनिवार्य खानुपर्ने पहाडी संस्कृतिको मान्यता रहेको कारण तरुलको माग अत्यधिक हुँदा अहिले पु¥याउन कठिन भइरहेको ठाकुरको भनाइ छ। फागुन महिनासम्म तरुलको माग बजारमा उच्च हुने गरेको ठाकुरको दावी छ।

तरुललाई उसिनेर र तारेर खानुका साथै तरकारीको रुपमा पनि खाने चलन रहेको छ। तरुलले बजार पाउँदा किसानहरु निकै उत्साहित भएका छन्।

प्रकाशित: २५ पुस २०७९ १३:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App