समाज

नारायणीमा पानीको सतह बढ्यो- सचेत रहन ५० हजारलाई मोबाइल सन्देश

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले नारायणीको पानीकेा सतह चेतावनी तहभन्दा माथि गएपछि शुक्रबार सा“झ नौ बजे नदीकिनारका करिब ५० हजार सर्वसाधारणलाई मोबाइल एसएमएसबाट सचेत गराएको छ।

नारायणी नदीको दुई किनारका नवलपरासी र चितवनतर्फ बसोबास गर्दै आएका सर्वसाधारणलाई विभाग अर्न्तगतको बाढी पूर्वानुमान शाखाले मोबाइलमार्फत सचेत गराएको हो।

 'करिब तीन/चार वर्षमा आउने बाढी हो यो,' शाखाका जलविद् विनोद पराजुलीले भने, 'त्यसैले हामीले सबै सर्वसाधारणलाई सचेत गराएका हौं।'

उनका अनुसार सा“झ पौने नौ बजे नारायणी देवघाटमा पानीको सतह चेतावनी तह (७.३ मिटर) भन्दा माथि पुगेको छ। 'पौने ९ बजे ७.३१ मिटर थियो। यो बढेर पौने दस बजे ७.३२ भयो। यो भनेको चेतावनी तह भन्दा माथि हो,' पराजुलीले शुक्रबार राति १० बजे नागरिकसँग भने, 'यो बिस्तारै बढिरहेको छ। शनिबार बिहानसम्मै बढ्ने देखिन्छ। त्यसैले नदी किनारका सर्वसाधारण सचेत हुनुपर्छ।'

उनका अनुसार अहिले देवघाटमा प्रतिसेकेन्ड ८५०० घनमिटर पानी बगिरहेको छ। 'यो भनेको ३ लाख क्युसेक पानी हो। यस्तो पानी नारायणी नदीमा तीन/चार वर्षको अन्तरालमा मात्र बग्छ,' पराजुलीले भने, 'यसले ठूलो बाढी निम्त्याउन सक्छ।'

प्रकाशित: ८ श्रावण २०७३ ०१:५९ शनिबार

नारायणीमा पानीको सतह बढ्यो- सचेत रहन ५० हजारलाई मोबाइल सन्देश