समाज

तिला नदीमा एक बालक बेपता

तिला नदीमा एक बालक बेपता भएका छन्। जिल्लाको तिलागुफा नगरपालिका १ को भिग्म बजारस्थित तिला नदी किनारमा खेलिरहेका १३ वर्षीय बालक बेपत्ता भएका हुन्।

तिलागुफा नगरपालिका उप-प्रमुखका स्वकीय सचिव जीवन शाहीले दिएको जानकारी अनुसार नदी किनारमा खेलिरहेका दुई जना बालक नदीमा बगेका थिए। एक जनाको स्थानीयले उद्धार गर्न सफल भए पनि एक बालक बेपता रहेका छन्। बेपत्ता हुनेमा तिलागुफा नगरपालिका वडा नं १ का चन्द्र बुढाका छोरा वर्ष १३ का तपेन्द्र बुढा रहेका छन्।

बुढासँगै नदीमा बगेका जाजरकोट घर भई तिलागुफा नगरपालिका १ भिग्म बजारमा व्यवसाय गर्दै आएका चन्द्रविक्रम शाहीका छोरा वर्ष १२ का लेक विक्रम शाहीलाई भने सकुशल उद्धार गरिएको छ।

बेपत्ता भएका बालक बुढाको खोजी जारी रहेको प्रहरीले जनाएको छ। नदी किनारमा खेल्न गएका बालक नदीमा खसेका थिए।

प्रकाशित: १८ पुस २०७९ १२:४० सोमबार