समाज

वैदेशिक रोजगारीमा पठाउँछु भन्दै ६६ लाख भन्दा बढी ठगी गर्ने छन्त्याल पक्राउ

काठमाडौं- युवाहरूलाई आकर्षक तलवको प्रलोभन देखाई दक्षिण अफ्रिका, इराक, मकाउ र पलाउ पठाउने भनी ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागलुङ देवीस्थान–६ घर भई दाङ तुलसीपुर–५ बस्ने होम बहादुर छन्त्याल रहेका छन्। प्रहरीले छन्त्याललाई सुन्धाराबाट पक्राउ गरेको हो ।

छन्त्यालले युवाहरुबाट लाखौ रुपैयाँ उठाई रहेको सूचना महानगरीय अपराध महाशाखामा प्राप्त भएपछि प्रहरीले उनको खोजी गरेको थियो।  उनी कहिले थाईल्याण्ड, कहिले दुवई बस्ने गरेको प्रहरीले बताएको छ। छन्त्यालले ठूलो संजाल बनाई ठगी गरी रहेको तथा इराकमा ३७ जना व्यक्ति पठाएकोमा ३४ जना फर्किएको जानकारीमा आएपछि उनको खोजी तिब्र पारेको प्रहरीले जनाएको छ।

छन्त्याल विरुद्ध पीडितहरू नवलपरासी घर हुने जयश्वर घिमिरे, अशोक बुर्जा, दाङ्ग घर हुने सुदिप नेपाली, रविन परियार, केशव परियार, डम्बर बहादुर बुढाथोकी, सल्यान घर भएका खर्कविर घर्ती, दाङ्ग शान्तीनगर घर भएका टिकराम घर्तिमगर, रोल्पा होजा घर भएका तारासिंह बुढा र रोल्पा जुगार घर भएका शिवराज पुनमगरले अपराध महाशाखामा उजुरी दिएका थिए। उनीहरुलाई छन्त्यालले दक्षिण अफ्रिका, इराक, मकाउ र पलाउ पठाउने भन्दै प्रति व्यक्ति ४ लाख ६ लाख ५० हजार रुपैयाँसम्म लिई थाईल्याण्डमा पुर्याइ फरार भएको निवेदन दिएका थिए।

उनको विरुद्धमा हालसम्म ६६ लाख १५ हजार विगोको उजुरीहरू परेका छन्। उनले पठाएको ६ जना व्यक्तिहरू हाल दुवईमा अलपत्र परिरहेकोले उद्धार गर्न पहल गरिएको साथै इराकमा पठाएकाहरू मध्ये काम नपाई फर्किएका ३४ जनालाई सम्पर्कमा ल्याउन पहल भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २८ असार २०७३ १३:४९ मंगलबार

वैदेशिक रोजगारीमा पठाउँछु भन्दै ६६ भन्दा बढी ठगी गर्ने छन्त्याल पक्राउ