समाज

धिमे बाजा सिक्दै भक्तपुरका युवायुवती

भक्तपुरका एक हुल युवायुवती भक्तपुरको परम्परागत बाजा धिमे सिक्न व्यस्त भएका छन्। जगाती भीमसेन धिमे बाजा खलः जगाती भक्तपुरको अगुवाइमा भएको धिमे बाजा प्रशिक्षणमा उनीहरु धिमे बाजा सिक्न मस्त भएका हुन्।

जगाती भीमसेन धिमे बाजा खलः जगाती भक्तपुरका अध्यक्ष अनिल माकका अनुसार प्रशिक्षण पुसदेखि चैतसम्म गरेर चार महिना चल्ने छ। साँझ ६ बजेदेखि आठ बजेसम्म दैनिक उनीहरु प्रशिक्षणमा व्यस्त छन्। सैद्धान्तिक तथा व्यवहारिक ज्ञान दुवै दिई बाजा बजाउन सक्ने गरी प्रशिक्षण दिने जनाइएको छ।

प्रशिक्षणमा सहभागी प्रशिक्षार्थीलाई चैत वैशाखमा भक्तपुरमा हुने प्रसिद्ध बिस्केट जात्राको बेला सार्वजनिक गरिने जनाइएको छ। प्रशिक्षार्थीहरूलाई चैत बैशाखमा सार्वजनिक रुपमा बाजा बजाउन लगाई जात्रा स्थलमा लगिने जनाइएको हो।

भक्तपुरमा प्रत्येक वर्ष नयाँ वर्षको चार दिन अगाडि र पछाडि गरेर आठ रात नौ दिन धूमधामले बिस्केट जात्रा मनाइन्छ। यो क्रममा धिमे बाजाले भक्तपुर नगर नै गुञ्जायमान हुने गर्दछ।

प्रशिक्षणमा पाँच किशोरी र ११ जना किशोर गरी कुल १६ जना सहभागी छन्। सहभागीहरू न्यूनतम १० वर्षदेखि ३० वर्षसम्मका छन्।

प्रशिक्षणमा सहभागी एक जना किशोरी सलिना शिल्पकारले पुरानो बाजागाजालाई पुनर्जीवित बनाइराख्न आफूले पनि केही मात्रै भए पनि योगदान दिन सकुन् भनी बाजा सिकेको बताउँछिन्। यससँगै बाजा बजाउन पाउँदा थप आनन्द आउने भएकाले पनि बाजा सिकेको उनको भनाई छ। 

प्रशिक्षणमा भक्तपुर नगरपालिका वडा नं ८ पुरानो जगातीका साथै भक्तपुरका विभिन्न ठाउँका व्यक्तिहरू सहभागी छन्। मुख्य प्रशिक्षकका रुपमा आयोजक संस्थाका अध्यक्ष अनिल माक रहेका छन् भने अर्का प्रशिक्षक गोपाल किसीले पनि सहयोग गरिरहेका छन्।

जगाती भीमसेन धिमे बाजा खलः जगाती भक्तपुरका अनुसार यो प्रशिक्षणको चौथौँ ब्याच हो। यसअघि पनि तीन वटा प्रशिक्षण सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ।

एउटा धिमे बाजाको टोलीमा घटीमा ४ जना हुने गर्दछन्। दुई जना धिमे बजाउने, एक एक जना भुछ्या र सिद्ध्या (बाजाका प्रकार) गरी घटीमा एउटा टोलीमा चार जना बाजा टोली सहभागी हुने गरिन्छ। यसका साथै बाजा टोलीसँगै अन्य पनि साथ दिनका लागि सहभागी हुने गर्दछन्।

नेवार समुदायमा धिमे बाजा खुसीयाली, चाडपर्व, जात्रालगायतका समयमा बजाउने गरिन्छ। साथै बिहे, ब्रधबन्धलगायतका बेला पनि बाजा बजाएर देवता स्थल जाने गरिन्छ।

प्रकाशित: ११ पुस २०७९ १३:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App