समाज

विमानस्थलमा विशेष सुरक्षा कार्यदल

काठमाडौं- सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षाका लागि बिहीबारदेखि डिएसपी नेतृत्वमा विशेष कार्यदल खटाएको छ। विमानस्थल सुरक्षामा खटिएको महानगरीय प्रहरीको विमानस्थल सुरक्षागार्डको सहयोगका लागि ३५ जनाको समूहमा रहेको विशेष टोली खटाएको हो।

विमानस्थलका डिआइजी गोविन्दप्रसाद निरौलाले सुरक्षाका लागि विशेष कार्यदलबाट टोली आएको बताए। उनका अनुसार आधुनिक हतियार, उपकरणसहित खटिएको टोली चौबीसै घन्टा अलर्ट रहने गरि विमानस्थलको सुरक्षाप्रबन्ध गरिएको हो। 'रिजर्भ र परिचालन दुवै अवस्थाका लागि खटाइएको टोलीले अवस्था र निर्देशनअनुसार काम गर्नेछ,' डिआइजी निरौलाले भने। उनका अनुसार सुरक्षाजाँचमा तालिमप्राप्त कुकुरसमेत प्रयोग गरिनेछ।

यस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरीले आफूमातहतका पाँचै क्षेत्रका प्रमुखलाई सीमा र शंकास्पद व्यक्ति तथा स्थानमा विशेष निगरानी राख्न निर्देशन दिएको छ। केही दिनअघि बंगलादेशमा आतंककारी हमलापछि गृह मन्त्रालयमा आइतबार बसेको सुरक्षा महाशाखा बैठकले देशभर उचित सुरक्षाप्रबन्ध गर्ने निर्णय गरेसँगै मातहत सुरक्षा निकायले आफ्नो जनशक्ति र साधनस्रोतअनुसार सुरक्षाकर्मी परिचालन गरेका हुन्। सशस्त्र प्रहरी बलका एआइजी शैलेन्द्र खनालले सुरक्षाको नियमित प्रक्रिया अझै चुस्तदुरुस्त राख्न देशभरका सुरक्षा अधिकारीसँग छलफल भएको बताए।

प्रकाशित: २४ असार २०७३ ०२:४६ शुक्रबार

विमानस्थलमा विशेष सुरक्षा कार्यदल