समाज

राहतकै पर्खाइमा छन् पहिरोपीडित

राहत नपाएपछि तिलागुफाका नागरिकलाई सास्ती। तस्बिर: ललित/नागरिक

तिलागुफा ४ राँचुलीकी ४६ वर्षीया सीता शाहीको घर गत असोज पहिरोका कारण भत्किएपछि छिमेकीका घरमा ओत लाग्दै आएकी छन्। यसअघि उनी होटल सञ्चालन गरेर गुजारा चलाउँदै आएकी थिइन्। अहिले उनी मागेर गुजारा चलाइरहेकी छन्।

दुई सन्तानसहित छिमेकी कृष्णबहादुर शाहीका घरमा बस्दै आएकी उनको खेतबारी पनि पहिरोले बगायो। उनको घरजग्गा केही बाँकी रहेन। उनले भनिन्, ‘बाँच्नै कठिन छ। पति रनबहादुर शाही तीन वर्षदेखि घर आएका छैनन्।’

कर्णाली राजमार्गछेउको राँचुली बजारमा रहेको घर पहिरोले लगेपछि बिचल्ली भएको उनको गुनासो छ।

उनको परिवारले कात्तिक महिनामा सहयात्रा परियोजनामार्फत एक बोरा चामल, ५ केजी दाल, ५ पाकेट तेल, २ पाकेट नुन पाएपछि गुजारा चलाउँदै आएकी थिइन्। यसपटक थप सहयोग पाएपछि उनी खुसी छन्।

मंसिर ९ मा स्टार्ट फन्ड नेटवर्कको सहयोगमा वल्र्डभिजन र किर्डाक नेपालले १३ हजार ५ सय मूल्यको ४ बोरा चामल, २० केजी दाल, १० पाकेट खाने तेल, ५ केजी चिनीसहितको खाद्य सामग्री दिएको छ। ‘यो राहतले त तीन महिनालाई पुग्छ’, उनले भनिन्, ‘घर बनाइदिने भनिएको छ, तर काम सुरु भएको छैन।’ यो हिउँदको चिसो कसरी कटाउने भन्ने उनमा चिन्ता छ। ‘खाना त दाताले दिए’, सीताले भनिन्, ‘बास सरकारले दिए हुन्थ्यो।’

आठजनाको परिवार भएकी अप्सरा शाहीको घर पनि पहिरोका कारण भत्किँदा बिचल्ली भएको छ। स्थानीय भन्दरी शाहीका घरमा बस्दै आएको उनको परिवारले पनि स्टार्ट फन्डको सहयोगमा १३ हजार ५ सय रूपैयाँबराबरको खाद्यान्न सहयोग पाएको छ।

यहाँको तिलागुफा–४ राँचुलीमा असोज १९ देखिको अविरल वर्षाका कारण आएको पहिरोले राँचुली बजारका घरसहित मलामी गएका १३ जनाको एकैपटक मृत्यु भएको थियो। एकजनाको शव भेटिए पनि १२ जना अझै बेपत्ता छन्।

त्यतिबेला पहिरोले कालिकोटमा मात्र २३ जनाले ज्यान गुमाए भने सयौं परिवार घरवारविहीन बने। यहाँको तिलागुफा र खाँडाचक्रका पहिरोपीडित तीन सय ४० परिवारलाई दाताको सहयोगमा प्रति परिवार १३ हजार ५ सय रूपैयाँबराबरको खाद्यान्न सहयोग भएको कालिकोटका प्रजिअ रामहरि शर्माले बताए। उनले भने, ‘कालिकोटको इतिहासमा कहिल्यै नभएको क्षति यसपटकको वर्षाले पु¥याएको छ।’

स्थानीय बजारबाट दरभाउ संकलन गरेर पीडित परिवारलाई आवश्यक खाद्यान्न उपलब्ध गराइएको किर्डाक नेपालका कार्यक्रम निर्देशक गौतमराज अधिकारीले सुनाए। उनका अुसार प्रतिपरिवार १३ हजार ५ सय मूल्यको खाद्यान्न, ननफुड आइटम, ज्येष्ठ नागरिक, एकल महिला, पाँच वर्षमुनिका बालबालिका र सुनौला हजार दिनका आमालाई पोसिलो खाना र किशोरीलाई सरसफाइ तथा स्वच्छता किट पनि वितरण गरिएको थियो। उनले पहिरोले कर्णालीका कालिकोट, जुम्ला र मुगुमा बढी क्षति पुर्‍याएकाले जिल्ला विपद् व्यवस्थापन समितिको अनुरोधमा सहयोग गरिएको जानकारी दिए।

पहिरोपीडितलाई तत्काल सहयोग गर्न पहल भए पनि दसैंतिहारजस्ता चाड, प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका कारण केही ढिलो भएको थियो तर पनि पीडितका घरसम्म राहत पुगेको तिलागुफाका नगर प्रमुख शंकर उपाध्यायले बताए।

प्रकाशित: १० पुस २०७९ ०१:३८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App