समाज

शोभराजलाई भेट्न उनकी सासू सकुन्तला पुगिन केन्द्रीय कारागार

कुख्यात अन्तर्राष्ट्रिय अपराधी चार्लस शोभराजलाई भेट्न उनकी सासू सकुन्तला बिहीबार केन्द्रीय कारागार पुगेकी छिन्।

केन्द्रीय कारागार सुन्धारामा कैद सजाय काटिरहेका शोभराजलाइ भेट्न उनी केन्द्रीय कारागार पुगेकी हुन्। तर, कारागार प्रशासनले उनलाई शोभराजसँग भेट गर्न दिएन। केही समयपछि छुट्ने भएकाले कागजात मिलाउने प्रक्रिया चलिरहँदा उनलाई अहिले भेट्न नमिल्ने बताइएको हो।

२०६१ साल २८ साउनमा काठमाडौँ जिल्ला अदालतले शोभराजलाई हत्याको ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो।

सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले अन्य मुद्दामा थुनामा बस्न नपर्ने भए आजैदेखि कैद मुक्त गर्न र पन्ध्र दिन भित्र आफ्नै देश फर्काउने व्यवस्था मिलाउन आदेश जारी गरेको थियो।

शोभराजले दिएको बन्दी प्रत्यक्षीकरण मुद्दामा इजलासले १९ वर्ष कैद सजाय भोगिसकेको र ७८ वर्षको वृद्ध भएकाले उनले कानुनले दिएको सुविधा पाउनुपर्ने भनेर आदेशमा उल्लेख गरिएको छ।

प्रकाशित: ७ पुस २०७९ ०९:४१ बिहीबार