समाज

खोटाङको केपिलासगढीमा आगलागी: ५ घर जलेर नष्ट

फाइल तस्बिर।

सोमबार दिउसो खोटाङमा भीषण आगलागी भएको छ। साँझ ५ बजेको समयमा जिल्लाको केपिलाशगढी गाउँपालिकास्थित एक बजारमा आगलागी हुँदा ५ घर जलेर नष्ट भएका हुन्।

५ घर जलाईसकेर थप घरहरूतर्फ संक्रमण हुन लागेको आगो फैलिन नदिन स्थानीयले सँगै जोडिएको एउटा घर एक्स्काभेटर लगाएर भत्काइ आगो फैलिनबाट रोकेका थिए। बिचको घर भत्काइएपछि आगो संक्रमण हुनबाट रोकिएर थप क्षति हुनबाट बचेको जिल्ला प्रहरी प्रमुख डिएसपी मञ्जिल मुकारुङले बताए।

स्थानीय दिपक गुरुङको घरबाट एक्कासि उब्जेको आगो तीव्र गतिमा फैलिएर आधा घण्टामै ५ घर जलाएको खबर आएको उनले बताए। ५ घरपछि थप घरहरूतर्फ संक्रमण हुने देखिएपछि थप क्षति हुन नदिन नजिकैको एउटा घर एक्स्काभेटर लगाएर भत्काउनु परेको हो। अहिले आगो नियन्त्रणमा आइसकेको डिएसपी मुकारुङले बताए।

केपिलासगढीमा दमकल नभएकाले आगो निभाउन हम्मे परे पनि नजिकको चौकीका प्रहरी, सेना, जनप्रतिनिधि र स्थानीयको ठुलो जमातले आधा घण्टामै आगो नियन्त्रणमा ल्याइएको थियो। आगलागीबाट मानवीय क्षति भने हुन पाएन। सबै मिलेर लागि परेकाले थप घर र धनमाल जोगाउन सफल भएको प्रहरी भनाई छ।

५ घर जल्दा ती घरभित्र रहेका अन्नपात, लत्ताकपडा, सुनचाँदी र पशु चौपाया क्षति भएको तर, के कति भयो भन्ने यकिन विवरण भने आउन बाँकी रहेको डिएसपी मुकारुङले बताए। उनका अनुसार आगलागीबाट भएको क्षति विवरण अहिले संकलन भइरहेको छ। आगो लाग्नुको कारण अहिले पत्ता नलागे पनि प्रारम्भिक अनुसन्धानले विद्युत् सर्ट भएर लागेको हुनसक्ने अनुमान गरिएको छ।

बजारका सबै घर एकै खालका भएकाले एउटा घरमा लागेको आगो तीव्र गतिमा अर्को घरमा सल्कँदै गएर क्षति हुन पुगेको प्रहरी भनाई छ। १० वटा स्थानीय तह रहेको खोटाङमा एउटा पनि दमकल नहुनले आगलागीका बेला निभाउन गाह्रो हुने गरेको स्थानीयले बताएका छन्। सदरमुकाम दिक्तेल रुपाकोट मझवागढीमा रहेको दमकल पनि बिग्रेको हुनाले सिङ्गो जिल्ला दमकलविहीन भएको बताइएको छ।

प्रकाशित: ४ पुस २०७९ १५:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App