समाज

आगलागीबाट घाइते भएका बालकको दुई हप्तापछि मृत्यु

आगलागीमा घाइते भएको दुई हप्तापछि एक बालकको उपचारको क्रममा मृत्यु भएको छ। 

आगलागीमा परी गम्भीर घाइते भएका रौतहटको गौर नगरपालिका १ का १० वर्षीय बालकको दुई हप्तापछि बिहीबार मृत्यु भएको हो।

गत मंसिर ७ गते इस्लम कपडा तथा डसना पसलमा आगलागी भएको थियो। आगलागीमा परेर इस्लाम मियाँका ९ वर्षीया छोरी रुक्साना खातुन, ७ वर्षीय छोरा इमरान मन्सुरी र ५ वर्षीया छोरी सबिना खातुनको मृत्यु भएको थियो। आगलागीमा परेर तीन जना घाइते भएका थिए। घाइतेमध्ये १० वर्षीय बालक अरमान मन्सुरको पनि मृत्यु भएको हो।

आर्थिक अवस्था अत्यन्त कमजोर भएको आगलागीपीडित मियाँलाई विभिन्न संघसंस्था, व्यक्ति तथा नगरपालिकाले मानवीय सहयोग गर्दै आएको छ तर उपचारका साथै खान, लाउन पनि समस्या भएको पीडित परिवारले जनाएको छ। घटनामा आगलागीबाट मृत्यु हुनेको संख्या चार पुगेको छ।

प्रकाशित: २२ मंसिर २०७९ ११:३९ बिहीबार

आगलागी