समाज

जुम्लामा विपद्का बेला योगदान गर्ने सुरक्षा निकाय सम्मानित

जिल्ला समन्वय समिति जुम्लाले गएको असोज महिनाको तेस्रो साताको विपद् योगदान गर्ने सुरक्षा निकायलाई सम्मान गरेको छ। विपद्को बेलामा सुरक्षा निकायले पुराएको योगदानलाई कदर गर्दै प्रशंसा पत्र र खादा ओडाएर सम्मान गरेको जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरिनन्द आचार्यले बताए।

समन्वय समितिले आयोजना गरेको नवनिर्वाचित सांसदहरुलाई बधाई तथा सम्मान कार्यक्रमको अवसरमा सम्मान गरिएको थियो। शसस्त्र प्रहरी बल नेपाल ३३ नम्बर गण जुम्लाका एसपी चित्राङ्गगत दाहाल, नन्दबक्स गण जुम्लाका गणपती रविन थापा, जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख नरेन्द्र चन्द, सडक डिभिजन कार्यालय र समिट एयरलाई सम्मान गरिएको उनले बताए।  

उनले भने, 'विपद्को समयमा जुम्लामा रहेका सुरक्षा निकायले खेलेको भूमिकालाई गरिएको छ। विपद्मा परेका नागरिकको उद्धार तथा खोजि कार्यमा सुरक्षा निकायले अतुलनीय योगदानको कदर गरिएको छ।'

विपद्का बेला समिट एयरले जुम्लामा नियमित फलाईट गरि सेवा प्रवाह गरेको थियो।असोज महिनाको १९ गते परेको अविरल वर्षाले कर्णाली राजमार्ग अवरुद्ध गरेको थियो। त्यो बेला हवाई सेवा सुचारु भएको हो। 

प्रकाशित: १५ मंसिर २०७९ ११:१३ बिहीबार

विपद्