समाज

सहमतीपछि खुल्यो बजार र यातायात

रौतहटको गरुडाका व्यापारी राजनारायण साहको सडक दुर्घटनामा मृत्यु भएपछि गरुडा नगरपालिकाले काज किरियावापत आर्थिक सहयोग गर्ने भएको छ। यसै गरी नवनिर्वाचित प्रतिनिधिसभा सदस्यले पनि आश्रित परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।

गरुडा नगरपालिकाले आश्रित परिवारलाई एक लाख पाँच हजार रुपैया काज किरियावापत सहयोग गर्ने नगर प्रमुख कन्थमनि प्रसाद कलवारले जानकारी गराएका छन्।  

यसै गरी नवनिर्वाचित प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमल्सिनाले पनि आफ्नो तर्फबाट एकाउन्न हजार रुपैया सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।  

व्यापारी साहको सोमबार बिहान झिसमिसेमै प्रातः भ्रमणका क्रममा अज्ञात सवारी साधनको ठक्करले मृत्यु भएको थियो। सोमबार गरुडा बजारमा स्थानीय व्यापारीहरुले ठक्कर दिने सवारी साधनको माग गर्दै चक्का जाम र बजार बन्द गरेका थिए। यसै गरी मंगलबार पनि मृतक व्यापारी साहको लास प्रदर्शन गर्दै चक्का जाम तथा बजार बन्द गरेका थिए।

४८ घन्टामा ठक्कर दिने सवारी साधन तथा सबारी चालकमाथि कारबाहीको लिखित आश्वासन पछि जाम खुलेको थियो। सहमतीपछि मृतक व्यापारी साहको अन्तिम संस्कार गरिएको छ।

प्रकाशित: १३ मंसिर २०७९ १३:२४ मंगलबार

दुर्घटना