राजनीति

मधेसका ३२ सिटको हिसाबकिताब

प्रतिनिधिसभामा ३२ सिट रहेको मधेस प्रदेशमा ठूलो दल बन्न नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) तथा नेकपा (एमाले) बीच त्रिपक्षीय प्रतिस्पर्धा हुने भएको छ।

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा मधेस प्रदेशमा प्रत्यक्षतर्फ ११ सिटमा विजयी भई पहिलो दल बनेको तत्कालीन राष्ट्रिय जनता पार्टी (हाल लोकतान्त्रिक समाजवादी पार्टी) ले यसपटक ९ सिटमा मात्र उम्मेदवारी दिएको छ। त्यसमा पनि ७ सिटमा सत्तारुढ गढबन्धनसँग तालमेल गरेको छ। बाँकी २ सिटमा गठबन्धनसँगै प्रतिस्पर्धा गर्दै छ। यसपटक ९ सिटमा मात्र उम्मेदवारी दिएको लोसपा, ७ सिटमा उम्मेदवारी दिएको नेकपा (माओवादी ) र ४ सिटमा उम्मेदवारी दिएको नेकपा (एस) पनि मधेस प्रदेशमा पहिलो दल हुने सम्भावना कम छ।

त्यस्तै एमाले र जसपाले १७/१७ सिटमा उम्मेदवारी दिएका छन् भने कांग्रेसले १५ सिटमा उम्मेदवारी दिएको छ। त्यसैले यसपटक ठूलो दल बन्न यी ३ दलबीचमै प्रतिस्पर्धा हुने भएको छ। २०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम नेपाल (हालको जसपा) ले ९ सिटमा विजयी भई मधेसमा दोस्रो ठूलो दल बनेको थियो भने कांग्रेस ६, माओवादी ५ र एमाले २ सिटमा प्रत्यक्षतर्फ विजयी भएका थिए।

यसपटक मधेस प्रदेशमा एमालेबाट ताराकान्त चौधरी, रामशंकर यादव, लीलानाथ श्रेष्ठलगायतले उम्मेदवारी दिएका छन्। यसैगरी जसपाबाट नवलकिशोर साह, उपेन्द्र यादव, बालकिशोर यादव, राजकिशोर यादवलगायतले उम्मेदवारी दिएका छन्।

कांग्रेसबाट रामदेव साह, दिनेशकुमार यादव, तेजुलाल चौधरी, रमेश रिजाललगायतले उम्मेदवारी दिएका छन्। यसैगरी माओवादी केन्द्रबाट विश्वनाथ साह, मात्रिका यादव, गिरिराजमणि पोखरेललगायतले उम्मेदवारी दिएका छन्।

रौतहट ३ मा स्वतन्त्रबाट उम्मेदवारी दिएका प्रभु शाहलाई माओवादीले आधिकारिक उम्मेदवार मानेको छ भने सोही क्षेत्रमा माओवादीबाट उम्मेदवारी दिएका रवीन्द्र पटेललाई भने पार्टीबाट कारबाही गरेको छ। यसैगरी नेकपा (एस) बाट रामचन्द्र झा, माधवकुमार नेपाल, कृष्णकुमार श्रेष्ठलसगायतले उम्मेदवारी दिएका छन्। त्यस्तै लोसपाबाट भने जयप्रकाश ठाकुर, लक्ष्मीकान्त मण्डल, अनिल कुमार झालगायतले उम्मेदवारी दिएका छन्।

यसपटक मधेसमा कांग्रेस–माओवादी–लोसपा र एमाले–जसपाको गठबन्धन आमनेसामने भएका छन्। सर्लाही २ मा भने माओवादी र लोसपाले प्रतिस्पर्धा गर्दै छन्। यसैगरी धनुषा २, धनुषा ४ र बारा ३ मा एमाले–जसपाबीचमै प्रतिस्पर्धा हुँदै छ।

जनमत र लोसपाले प्रवेश गर्दै

यसपटक सिके राउतको जनमत पार्टी, बिर्खेशचन्द्र लालको तराई–मधेस लोकतान्त्रिक पार्टीले पनि मधेसका विभिन्न क्षेत्रमा प्रतिस्पर्धा गर्दै छन्। गत स्थानीय तह निर्वाचनमा जनमत पार्टी सप्तरीका २ वटा पालिकामा मात्र विजयी भएको थियो।

सप्तरी

२०७४ को निर्वाचनमा सप्तरी १ मा तत्कालीन संघीय समाजवादी फोरम नेपालका डा. सूर्यनारायण यादव, सप्तरी २ मा उपेन्द्र यादव, सप्तरी ३ मा तत्कालीन राजपाका चन्द्रकान्त चौधरी तथा सप्तरी ४ मा कांग्रेसका तेजुलाल चौधरी विजयी भएका थिए। यस क्षेत्रमा जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका जयप्रकाश ठाकुर तथा जनमत पार्टीका सिके राउतबीच प्रतिस्पर्धा हँुदै छ। यस क्षेत्रमा माओवादी निर्णायक मानिएको छ। सप्तरी ३ मा एमालेका ताराकान्त चौधरी र कांग्रेसका दिनेशकुमार यादवबीच प्रतिस्पर्धा हुँदै छ।  

सिराहा

२०७४ को निर्वाचनमा सिराहा १ मा कांगेसका प्रदीप गिरी, २ मा माओवादीका सुरेशचन्द्र दास, ३ मा एमालेका लीलानाथ श्रेष्ठ तथा ४ मा तत्कालीन राजपाका राजकिशोर यादव विजयी भएका थिए। यसपटक सिराहा १ मा एमालेका रामशंकर यादव र कांग्रेसका पदमनारायण चौधरी, सिराहा २ मा कांग्रेसका चित्रलेखा यादव र जसपाका राजकिशोर यादव, सिराहा ३ मा एमालेका लीलानाथ श्रेष्ठ र माओवादीका विश्वनाथ साह तथा सिराहा ४ मा जसपाका वीरेन्द्रकुमार महतो र माओवादीका धर्मेन्द्रप्रसाद साहबीच प्रतिस्पर्धा हुँदै छ।  

धनुषा

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा धनुषा १ मा माओवादीका मात्रिका यादव, २ मा तत्कालीन संघीय मसाजवादी फोरमका उमाशंकर अरगरैया, ३ मा तत्कालीन राजपाका राजेन्द्र महतो तथा ४ मा एमालेका रघुवीर महासेठ विजयी भएका थिए। यसपटक धनुषा १ मा माओवादीका मात्रिका यादव र जसपाका दीपक कार्की, २ मा एमालेका उमाशंकर अरगरैया र कांग्रेसका रामकृष्ण यादव, ३ मा एमालेका जुलीकुमारी महासेठ र लोसपाका अनिल झा तथा ४ मा एमालेका रघुवीर महासेठ र कांगेसका महेन्द्र यादबीच प्रतिस्पर्धा हुँदै छ।  

महोत्तरी

२०७४ को निर्वाचनमा महोत्तरी १ मा माओवादीका गिरिराजमणि पोखरेल, २ मा तत्कालीन राजपाका शरदसिंह भण्डारी, ३ मा तत्कालीन राजपाका महन्थ ठाकुर, ४ मा तत्कालीन संघीय समाजवादी फोरमका सुरेन्द्र यादव विजयी भएका थिए। यसपटक महोत्तरी १ मा एमालेका लक्ष्मी महतो र माओवादीका गिरिराजमणि पोखरेल, २ मा लोसपाका भण्डारी अगाडि छन्। यसैगरी ३ मा जसपाका हरिनारायण यादव र लोसपाका महन्थ ठाकुर तथा महोत्तरी ४ मा जसपाका सुरेन्द्र यादव र कांग्रेसका महेन्द्रकुमार रायबीच प्रतिस्पर्धा हुँदैछ।  

सर्लाही

२०७४ को निर्वाचनमा सर्लाही १ मा तत्कालीन संघीय समाजवादी फोरमका प्रमोद साह, २ मा तत्कालीन राजपाका महेन्द्र यादव, ३ मा माओवादीका रामेश्वर राय यादव तथा ४ मा कांग्रेसका अमरेश सिंह विजयी भएका थिए। यसपटक सर्लाही १ मा जसपाका प्रमोद साह तथा लोसपाका रामप्रकाश चौधरी, २ मा माओवादीका महिन्द्र यादव र लोसपाका राजेन्द्र महतो, ३ मा माओवादीका नरेन्द्र साह कलवार र एमालेका हरिप्रसाद उपे्रती, ४ मा कांग्रेसका नागेन्द्रकुमार र जसपाका राकेशकुमार मिश्राले प्रतिस्पर्धा गर्दै छन्।  

रौतहट

२०७४ को निर्वाचनमा रौतहट १ मा तत्कालीन राजपाका अनिल झा, २ मा कांग्रेसका आफताम आलम, ३ मा माओवादीका प्रभु शाह, ४ मा कांग्रेसका देवी तिमिल्सिना विजयी भएका थिए। यसपटक रौतहट १ मा एसका माधव नेपाल अगाडि छन् भने २ मा कांग्रेसका फिरोददास आलम र जसपाका शैलेन्द्र साहले प्रतिस्पर्धा गर्दै छन्। ३ मा स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह अगाडि छन्। ४ मा एमालेका उद्धव रेग्मी र कांग्रेसका देवी तिमिल्सनाबीच प्रतिस्पर्धा हुँदै छ।  

बारा

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा बारा १ मा कांग्रेसका उमाकान्त चौधरी, २ मा तत्कालीन संघीय समाजवादी फोरमका रामसहाय यादव, ३ मा तत्कालीन संघीय समाजवादी फोरमका रामबाबुकुमार यादव, ४ मा तत्कालीन राजपाका इकबाल मिया विजयी भएका थिए। यसपटक बारा १ मा एमालेका अच्युतप्रसाद मैनाली र कांग्रेसका उमाकान्त चौधरी, २ मा जसपाका रामसहाय यादव र माओवादीका शिवचन्द्रप्रसाद कुशवाह, ३ मा एमालेकी ज्वालाकुमारी साह र जसपाका रामबाबुकुमार यादव, ४ मा एमालेका इकवाल मिया र एसका कृष्णकुमार श्रेष्ठबीच प्रतिस्पर्धा हँुदै छ।  

पर्सा

२०७४ को प्रतिनिधिसभा निर्वाचनमा पर्सा १ मा तत्कालीन संघीय समाजवादी फोरम नेपालका प्रदीप यादव, २ मा तत्कालीन फोरमका विमल श्रीवास्तव, ३ मा फोरमका हरिनारायण रौनियार, ४ मा तत्कालीन राजपाका लक्ष्मणलाल कर्ण विजयी भएका थिए। यसपटक पर्सा १ मा जसपाका प्रदीप यादव र लोसपाका लक्ष्मणलाल कर्ण, २ मा कांग्रेसका अजयकुमार चौरासिया र जसपाका सुरेन्द्रप्रसाद कुर्मी, ३ मा कांग्रेसका सुरेन्द्र चौधरी र एमालेका राजकुमार गुप्ता, ४ मा कांग्रेसका रमेश रिजाल र एमालेका जमिम मिया अन्सारीबीच प्रतिस्पर्धा हुँदै छ।

प्रकाशित: ३० कार्तिक २०७९ ०२:३९ बुधबार

आम निर्वाचन २०७९