राजनीति

साना दललाई अस्तित्व जोगाउनै सकस

मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ ६१ दलले उम्मेदवारी दिएका छन्, तीमध्ये अधिकांश साना दललाई अस्तित्व जोगाउनै सकस पर्ने भएको छ। धेरैजसो साना दलका उम्मेदवारहरू ठूला दलको चेपुवामा परेका छन्। प्रचारप्रसार तथा अन्य राजनीतिक गतिविधिमा ठूला दलसँग प्रतिस्पर्धा गर्न साना दललाई समस्या परेको छ। आर्थिक व्यवस्थापन गर्न तथा ठूला दलका उम्मेदवार सरह खर्च जुटाउन साना दललाई सबैभन्दा ठूलो चुनौती बनेको छ।  

केही थोरै उम्मेदवार बाहेक साना दलबाट प्रतिनिधित्व गरेका उम्मेदवारहरूलाई खर्च जुटाउनै गाह्रो परेको छ। व्यापारी, व्यवासायी तथा चन्दादाताहरूले समेत ठूला दललाई विश्वास गर्ने, साना दलहरूलाई वास्ता नगर्ने उनीहरूको गुनासो छ। साना दल चुनावपछि सरकारमा जाने सम्भावना कम भएकोले पनि व्यापारी व्यवासायीहरूले विश्वास नगरेको उनीहरूको भनाइ छ।  

यसपटक ११ दलले १जना मात्रै उम्मेदवारी दिएको छन्। राष्ट्रिय समाजवादी पार्टी, ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपाल, किरात खुम्बुवान साझा पार्टी, खुम्बुवान राष्ट्रिय मोर्चा नेपाल, तामसालिङ लोकतान्त्रिक पार्टी, नेपाल नौलो जनवादी पार्टी, मितेरी पार्टी नेपाल, राष्ट्रिय नागरिक पार्टी, राष्ट्रिय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट),साझा पार्टी नेपाल, सामाजिक एकता पार्टीलगायतका पार्टीले एक स्थानमा मात्र उम्मेदवारी दिएको छ। यसैगरी तराई मधेस लोकतान्त्रि पार्टी, जनजागरण पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी परिवर्तन लगायतका ८ दलले २ स्थानमा मात्र उम्मेदवारी दिएको छ।

यसैगरी, नेपाल कम्युनिस्ट पार्टी, नेपालवाद र पिछडावर्ग निषाद दलित जनजाति पार्टीले ३ स्थानमा मात्र उम्मेदवारी दिएका छन्। यसैगरी, गान्धीवादी पार्टी नेपालले ४ स्थानमा तथा नेपाली जनता दल र बहुजन एकता पार्टी नेपालले ६ स्थानमा उम्मेदवार दिएको छ। नेपाल सद्भावना पार्टी, बहुजन शक्ति पार्टी, विवेकशील साझा पार्टी लगायतका ४ वटा पार्टीले प्रत्यक्ष्यतर्फ ७ सिटमा उम्मेदवारी दिएको छ। नेपाल आमा पार्टी, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी पार्टीसहित ५ दलले ९ सिटमा उम्मेदवारी दिएका छन्। नेपाल लोकतान्त्रिक पार्टीले १२, एकीकृत शक्ति नेपालले १३, जनता प्रगतीशील पार्टी नेपालले १५, आमुल परिवर्तन मसिहा पार्टी नेपालले १६, नेपालकालगि नेपाल पार्टी तथा नेशनलिस्ट पिपल्स पार्टीले २० सिटमा उम्मेदवारी दिएका छन। यसैगरी नेकपा (एस)ले २१,मौलिक जरोकिलो पार्टीले २३, नेपाल कम्युनिस्ट पार्टी (माले)ले २४, नागरिक उन्मुक्ति पार्टीले ३०, जनसमाजवादी पार्टी नेपालले ३२, नेपाली कांग्रेस विपी ले ३९, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले ४० तथा नेकपा (माओवादी केन्द्र )ले ४६ सिटमा उम्मेदवारी दिएका छन्। यसैगरी जनमत पार्टीले ५४, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले ५८, राष्ट्रिय जनमुक्ति पार्टी नेपालले ५४, लोकतान्त्रिक समाजवादी पार्टी नेपालले ५१ सिटमा उम्मेदवारी दिएका छन्।  

तमलोपाका अध्यक्ष बिर्खेशचन्द्र लालले पार्टीसँग आर्थिक स्रोत नभएको भन्दै पार्टीलाई खर्च जुटाउन समस्या परेको बताए। ‘हामी जस्ता साना दललाई संकट परेको छ। आफ्नो खर्च आफैं जुटाएका छौं,’ उनले भने। प्रतिनिधि सभा तर्फ ५१ सिटमा उम्मेदवारी दिएको लोसपाले पार्टीका सबै उम्मेदवारहरूलाई १ लाख देखि ५ लाखसम्म खर्च दिएको छ। लोसपा स्रोतका अनुसार केन्द्रीय अध्यक्ष महन्थ ठाकुर आफैंले चुनाव जित्ने निश्चित भएका उम्मेदवाहरूलाई प्रतिव्यक्ति ५ लाख रूपैयाँसम्म उपलब्ध गराएका छन्।

प्रकाशित: ३० कार्तिक २०७९ ०२:२९ बुधबार

आम निर्वाचन २०७९