राजनीति

तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न सर्वोच्चको आदेश

ललितपुर-३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न सर्वोच्चले आदेश दिएको छ।

तोसिमाको उम्मेदवारी खारेजीको माग गर्दै निर्वाचन आयोगले दिएको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले उनको उम्मेदवारी कायम राख्न यसअघि दिएको अन्तरिम आदेशलाई निरन्तरता दिएको हो।

सोमबार न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यसअघि दिएको आदेशलाई निरन्तरता दिँदै उम्मेदवारी कायम गर्न आदेश दिएको छ।

निर्वाचन आयोगले तोसिमा कार्कीको उम्मेदवारी कायम राख्ने अन्तरिम आदेश खारेजीका लागि सर्वोच्च अदालतमा मुद्दा दायर गरेको थियो।

निर्वाचन आयोगले तोसिमा ‘लाभको पद’मा रहेको भन्दै उम्मेदावरी खारेज गरेको थियो। आयोगको उक्त निर्णयविरुद्ध तोसिमाले अदालतमा रिट दायर गरेकी थिइन्। 

प्रकाशित: २८ कार्तिक २०७९ ०९:१५ सोमबार

डा. तोसिमा कार्की