राजनीति

वाग्मती प्रदेश: जित–हारमा स्वतन्त्र उम्मेदवार निर्णायक

वाग्मती प्रदेशमा मुलुकको राजधानी काठमाडौंसमेत पर्ने भएकाले देशैभरि यहाँका उम्मेदवारको चर्चा हुने गर्छ। सबैभन्दा धेरै मतदाता रहेको प्रदेश मात्र नभएर मत अदलबदल हुने भनेर पनि यो प्रदेश चिनिन्छ। यसअघिका निर्वाचनमा पनि मतदाताले उम्मेदवार हेरेर मात्र सांसद चुन्ने गरेको देखिएको छ।

यसपटकको चुनावमा काठमाडौंका उम्मेदवारहरू सबैभन्दा धेरै असुरक्षित महसुस गरिरहेका छन्। गत स्थानीय तहको चुनावमा पनि राजनीतिक दलहरूले नपत्याएका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले काठमाडौं महानगरपालिका प्रमुखमा जित निकालेपछि दलहरू तर्सिएका हुन्। यसकारण काठमाडौं उपत्यकाको चुनावी माहोल फरक छ। मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको परिणामको आकलन गर्ने मामिलामा दल र तिनका उम्मेदवारहरू अन्योलमा परेका छन्। चुनाव आउन अब एक साता मात्रै बाँकी रहँदा मतदाताको घरदैलोमा पुगिरहेका उम्मेदवारहरू सबैले जित्ने दाबी गरेका छन्।

वाग्मतीमा स्वतन्त्र उम्मेदवारको लर्कोले पनि उनीहरूले लिने मत नै आगामी चुनावमा जित–हारका लागि निर्णायक बन्ने आंकलन गर्न थालिएको छ। नयाँ राजनीतिक दलको आगमनले पनि पुराना दलहरूलाई झस्काइदिएको छ। सात प्रदेशको तथ्यांक हेर्दा वाग्मतीमा स्वतन्त्र उम्मेदवार बढी छन्। वाग्मतीमा प्रतिनिधिसभाका लागि ६३१ उम्मेदवार चुनावी मैदानमा छन्। तीमध्ये २२६ उम्मेदवार स्वतन्त्र हुन्। महिला उम्मेदवारको संख्या ७६ छ।

२०७९ को स्थानीय तहको चुनावको मत परिणाम हेर्दा वाग्मतीमा नेपाली कांग्रेस र नेकपा एमालेको बराबर मत परिणाम देखिएको छ। प्रदेशभरिकै मत हेर्दा ८ लाख १० हजार ९६९ मतका साथ कांग्रेस पहिलो स्थानमा छ। एमालेले ८ लाख १० हजार २४७ मत प्राप्त गरेको छ।

त्यसैगरी ३ लाख २७ हजार ७७३ मत माओवादी केन्द्रको छ। वैशाख ३० सम्पन्न स्थानीय तहको निर्वाचनमा वडाध्यक्षहरूले पाएको मतलाई आधार बनाउँदा कांग्रेस नेतृत्वमा रहेको माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी (नेकपा एस) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को गठबन्धन२८ क्षेत्रमा अघि देखिन्छ।

एमाले नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) ले पाएको मतलाई आधार बनाउँदा विपक्षी गठबन्धन वाग्मतीमा काठमाडौं ४, काठमाडौं ९, चितवन २ र भक्तपुर २ मा अघि छ।  

काठमाडौं ९ मा विपक्षी गठबन्धनबाट कृष्णगोपाल श्रेष्ठ र सत्ता गठबन्धनबाट कल्पना धमला प्रतिस्पर्धामा छन् भने चितवन २ मा एमालेबाट कृष्णभक्त पोखरेल, कांग्रेसबाट उमेश श्रेष्ठका साथै राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने प्रतिस्पर्धामा छन्। भक्तपुर १ मा सत्ता गठबन्धनभन्दा एमाले मत बढी छ। तर त्यहाँ नेपाल मजदुर किसान पार्टी (नेमकिपा) को अग्रता कायम छ।

काठमाडौं ४ मा १९ हजार २१ मत सत्ता गठबन्धनको छ भने विपक्षी गठबन्धनको १९ हजार ११७ छ। काठमाडौं ९ मा २१ हजार ७६ मत गठबन्धनको मत छ भने विपक्षी गठबन्धनको २१ हजार ६८३ छ। काठमाडौं ४ मा कांग्रेस महामन्त्री गगन थापा र एमाले नेता राजन भट्टराई प्रतिस्पर्धामा छन्। त्यस्तै भक्तपुर २ मा सत्ता गठबन्धनको २८ हजार ११ मत छ भने विपक्षी गठबन्धनको २८ हजार ४५८ मत छ। त्यहाँ दुर्लभ थापा र महेश बस्नेत प्रतिस्पर्धामा छन्। त्यसबाहेक अन्य क्षेत्रमा भने दुई गठबन्धनबीच हजारभन्दा बढीको मतान्तर देखिन्छ। यद्यपि विपक्षी गठबन्धनमा राखिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले वाग्मतीमा ३१ निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ। वाग्मतीमा राप्रपाबाट धादिङका दुई क्षेत्रमा मात्र प्रतिनिधिसभातर्फ उम्मेदवार छैन।  

२०७४ सालको समानुपातिक मत हेर्दा वाग्मती प्रदेशमा एमालेले सबैभन्दा धेरै मत हासिल गरेको थियो। एमाले ७ लाख १६ हजार ७२९ मतका साथ पहिलो नम्बरमा आएको थियो। कांग्रेसले ६ लाख ४ हजार १३५ मत लिएर दोस्रो र ३ लाख ६ हजार ८२२ मत लिएर नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा रहेको थियो। २०७४ सालको समानुपातिक मतमा कांग्रेस नेतृत्वको गठबन्धनमा माओवादी केन्द्र, राष्ट्रिय जनता पार्टी (राजपा) ले पाएको मत र एमाले नेतृत्वमा रहेको विपक्षी गठबन्धनमा राप्रपा, संघीय समाजवादी फोरमले पाएको मतलाई आधार बनाइएको छ। त्यसो गर्दा सत्ता गठबन्धन २० क्षेत्रमा अघि छ भने विपक्षी गठबन्धन १३ क्षेत्रमा अघि छ।  

काठमाडौं १० मा कांग्रेसका राजेन्द्रकुमार केसी र माओवादी केन्द्रबाट अन्जना विशंखे छुट्टाछुट्टै चुनावी प्रतिस्पर्धामा छन्। सिन्धुपाल्चोक २ मा कांग्रेसकै विद्रोही उम्मेदवारले अप्ठेरो बनाएको छ। काठमाडौं १ मा प्रकाशनमान सिंह, क्षेत्र नं. ३ सन्तोष चालिसे, क्षेत्र नं. ४ मा गगनकुमार थापा, क्षेत्र नं. ५ मा प्रदीप पौडेल, ६ बाट भीमसेनदास प्रधान उम्मेदवार छन्। माओवादी केन्द्रको चुनाव चिह्नबाट काठमाडौं २ मा ओनसरी घर्ती, क्षेत्र नं. ३ मा बद्रीप्रसाद बजगाईं, क्षेत्र नं. ७ मा अस्मिता सिंह (मानुषी), क्षेत्र नं. ९ बाट कल्पना धमला उम्मेदवार छन्। क्षेत्र नं. १० मा भने पाँचदलीय गठबन्धन छैन।

केही स्थानमा बाहेक एक्लै चुनावी मैदानमा उत्रिएको एमालेले क्षेत्र नम्बर १ मा किरण पौडेल, २ मणिराम फुयाँल, ३ कृष्णबहादुर राई, ४ मा राजन भट्टराई, ५ मा ईश्वर पोखरेल, ६ मा सर्वेन्द्र खनाल, ७ मा श्यामकुमार घिमिरे, ८ मा शिवसुन्दरराज वैद्य, ९ मा कृष्णगोपाल श्रेष्ठ र १० मा हिमेश केसीलाई चुनावमा उतारेको छ। स्वतन्त्रबाट उम्मेदवार बनेकाहरू पनि चर्चामा छन्। त्यसैगरी राप्रपाबाट काठमाडौं १ मा रवीन्द्र मिश्र चुनाव लड्दैछन्। २०७४ सालको चुनावमा नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग हारेका मिश्र दोस्रोपटक प्रतिस्पर्धामा छन्। क्षेत्र नं. १ मा मिश्र र सिंह मात्रै होइन, पूर्वडिआइजी रमेशप्रसाद खरेल, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम पनि चर्चामा छन्।  

ललितपुर १ मा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उदयशमशेर जबरा, एमालेबाट नवराज सिलवालबीच मुख्य प्रतिस्पर्धा छ। क्षेत्र नं. २ मा एमालेका प्रेमबहादुर महर्जन, नेकपा एसका कृष्णलाल महर्जनबीच मुख्य प्रतिस्पर्धा छ। क्षेत्र नं. ३ मा माओवादी केन्द्रबाट पम्फा भुसाल, एमालेबाट अमृत खड्कालाई उम्मेदवार बनाएको छ। त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्की पनि प्रतिस्पर्धामा छिन्।

चितवन क्षेत्र १ बाट कांग्रेसबाट विश्व पौडेल, एमालेबाट सुरेन्द्रप्रसाद पाण्डे, २ मा कांग्रेसबाट उमेश श्रेष्ठ, एमालेबाट कृष्णभक्त पोखरेल, राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने प्रतिस्पर्धामा छन्। ३ बाट गठबन्धन माओवादी केन्द्रबाट डा. भोजराज अधिकारी, राप्रपाका विक्रम पाण्डेलगायत प्रतिस्पर्धामा छन्। मकवानपुरमा एमालेका तर्फबाट कमल थापा, कांग्रेसबाट महालक्ष्मी उपाध्याय, राप्रपाबाट दीपकबहादुर सिंह चुनावी मैदानमा छन्। सिन्धुपाल्चोक १ मा माओवादीका माधव सापकोटा र एमालेका सरेश नेपाल भिड्दैछन्। क्षेत्र २ मा एमालेबाट यसअघि चुनाव जितेका शेरबहादुर तामाङ र कांग्रेसका मोहनबहादुर बस्नेतबीच प्रतिस्पर्धा हुँदैछ।

काभ्रेपलाञ्चोक १ मा एमालेका रेशमबहादुर लामा र माओवादी केन्द्रका सूर्यमान तामाङबीच प्रतिस्पर्धा हुँदैछ। २ मा कांग्रेसका शिवप्रसाद हुमागाईं र एमालेका गोकुलप्रसाद बाँस्कोटा मुख्य प्रतिस्पर्धी हुन्। नेमकिपाको गढ मानिने भक्तपुर १ मा प्रेम सुवाल, एमालेबाट नवराज गेलाल, माओवादी केन्द्रका सुनिल गोठेलगायत प्रतिस्पर्धामा छन्। क्षेत्र नं. २ बाट एमालेबाट महेश बस्नेत, कांग्रेसबाट दुर्लभ थापा, मजदुर किसान पार्टीबाट अनुराधा थापा मुख्य प्रतिस्पर्धी छन्।

दोलखामा एमालेका बालकृष्ण शिवाकोटी, माओवादीका केन्द्रका गंगा कार्कीबीच प्रतिस्पर्धा हुँदैछ। रामेछापमा एमालेका कैलाशप्रसाद ढुंगेल र कांग्रेसका पूर्णबहादुर तामाङ चुनाव लड्दैछन्। सिन्धुली १ मा एमालेका प्रदीपकुमार कटुवाल र कांग्रेसका श्यामकुमार घिमिरे प्रतिस्पर्धी छन्। क्षेत्र नं. २ मा एमालेका मनोजजंग थापा र माओवादी केन्द्रका लेखनाथ दाहाल उम्मेदवार छन्। रसुवामा एमालेका छेवाङ तेन्जिङ तामाङ र कांग्रेसका मोहन आचार्य लड्दैछन्।

धादिङ १ मा एमालेका भूमिप्रसाद त्रिपाठी, नेकपा एसका राजेन्द्रप्रसाद पाण्डे, स्वतन्त्रबाट उत्तमराज कँडेलबीच प्रतिस्पर्धा हुँदैछ। क्षेत्र नं. २ बाट कांग्रेसबाट रामनाथ अधिकारी र एमालेबाट खेमप्रसाद लोहनीबीच मुख्य प्रतिस्पर्धा हुँदैछ। नुवाकोट १ मा एमालेका बद्री मैनाली र माओवादी केन्द्रका हितबहादुर तामाङबीच मुख्य चुनावी भिडन्त हुँदैछ। क्षेत्र नं. २ मा कांग्रेसका अर्जुननरसिंह केसी र एमालेका नारायणप्रसाद खतिवडाको चुनावी प्रतिस्पर्धा रोचक हुँदैछ।

प्रकाशित: २६ कार्तिक २०७९ ००:५९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App