राजनीति

सुर्खेतमा ८६ वटा मतदान स्थल संवेदनशिल

प्रतिनिधिसभा निर्वाचन क्षेत्र न. १ को निर्वाचन अधिकृतको कार्यालय गुर्भाकोट सुर्खेतमा सुरक्षा समितिका सदस्यहरुसंग जनप्रतिनिधिहरु। तस्विर/ नागरिक

निर्वाचन नजिकिदै गर्दा सुर्खेतमा ८६ वटा मतदान स्थललाई संवेदनशिल मतदान स्थलका रुपमा जिल्ला सुरक्षा समितिले राखेको छ। १ सय ३९ मतदान स्थलमा २ सय ९३ वटा मतदान केन्द्रमा २० वटा अति संवेदनशिल मतदान स्थलका रुपमा लिइएको हो।

 निर्वाचनमा सुरक्षाका हिसावले सुर्खेतमा १ सय ३९ मतदान स्थलमध्ये ३३ वटा कम संवेदनशिलका रुपमा राखिएको छ। दुई क्षेत्र प्रतिनिधिसभा र चार क्षेत्र प्रदेशसभा संसद छनौट हुने क्षेत्र रहेको सुर्खेतमा सुरक्षा चुनौती न्यूनिकरणका लागि जिल्ला सुरक्षा समिति मार्फत कात्तिक पहिलो हप्तादेखि मतदान स्थलको सुरक्षाका लागि आवश्यक कामहरु भइसकेको जनाइएको छ।  

 सुर्खेतको पूर्वी सिम्तादेखी पश्चिम चौकुलेसम्म सुरक्षा संवेदनशिलता मानिएका मतदानस्थलहरुमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीहरु ब्यापक रुपमा नजिकबाट तयारी अवस्थामा राखिने जनाइएको छ। संवेदनशिल मतदान स्थलहरुमा तत्काल थप सुरक्षाकर्मी पुग्ने गरि रणनीति बनाइएको सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए।

संवेदनशिल रुपमा लिइएका मतदान स्थलहरु प्रहरीले घेरामा राख्ने र दुई निर्वाचन क्षेत्रमा डिएसपीको कमाण्डमा सशस्त्र प्रहरीहरु परिचालन भइसकेको सशस्त्र प्रहरीको रक्तकाली गण सुर्खेतका गणपती विमल डाँगीले बताए।  

प्रकाशित: १६ कार्तिक २०७९ ११:१८ बुधबार

मतदान स्थल