राजनीति

आचारसंहिता विपरीत चुनावी प्रचारमा एमालेकी जुली महतो

प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार जुली कुमारी महतो निर्वाचन आयोगले जारी गरेको आचारसंहिता विपरीत गर्दै आएको प्रचारप्रसार अझैं रोकिएको छैन।  

धनुषा निर्वाचन क्षेत्र–३ मा एमालेबाट उम्मेदवारी दिएकी जुली महतोले आचारसंहिता उल्लघंन गरी रिक्साको पछाडि फोटोसहितको प्रचारप्रसार सामग्री राखेको भन्दै शनिबार आयोगले उनलाई स्पष्टीकरण सोधेको थियो।

आयोगले त्यस्ता प्रचारप्रसार रोक्न र आचारसंहिता विपरीत गरेको प्रचारप्रसार बारे सोधेको स्पष्टीकरणको तीन दिन बितिसक्दा पनि उनको प्रचारप्रसारको शैली रोकिएको छैन। जनकपुरका अटो तथा इ–रिक्साको पछाडि महतो र एमालेकै तर्फबाट निर्वाचन क्षेत्र ३ को ‘ख’ बाट प्रदेशसभा सदस्यको उम्मेदवार दिपेन्द्र कुमार ठाकुरको फोटोसहित ब्यानर राखिएको छ। सोही सामग्री राखेर निर्वाचन आचारसंहिता जानीजानी उल्लंघन गरेको अयोगले सोधेको स्पष्टीकरणमा उल्लेख गरिएको थियो। आयोगले उनलाई स्पष्टीकरण बुझाउन २४ घण्टा समय दिएको थियो।

निर्वाचन आचारसंहिता,२०७९ को दफा १३ को खण्ड (ड) मा रानीतिक दल,उम्मेदवार वा दलको भातृसंगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरण अन्र्तगत उपदफा (१) को खण्ड (ड) मा उम्मेदवार वा दलले आफ्नो कार्यालय बाहेकका स्थानमा दलको झण्डा, दल वा उम्मेदवारको चुनाव चिन्ह,ग्लुसाइन बोर्ड राख्न तथा श्रव सामग्री बजाउन र श्रव्यदृश्य प्रदर्शन गर्न नहुने व्यवस्था छ।

त्यस्तै दफाको खण्ड (द) मा कुनै किसिमको भित्तेलेख गर्न वा गराउन, चारपांग्रे गाडी,मोटरसाइकल बयलगाडा,रिक्सा टाँगा,ठेलागाडा लगायत सबै प्रकारका सवारी साधन प्रयोग गरी ¥याली आयोजना गर्न वा प्रचारप्रसार गराउन नहुने व्यवस्था रहेकोमा तपाईले आफ्नो तस्बिरसहितको फ्लेक्स अटो रिक्साको पछाडि राखी निर्वाचन प्रचारप्रसार गरेको कार्य निर्वाचान आचारसंहिताको उल्लेखित दफा १३ को उपदफा (१) को खण्ड (ड) कोे प्रतिकुल रहेको आयोगको निष्कर्ष थियो।

प्रकाशित: १५ कार्तिक २०७९ ०६:३७ मंगलबार

जुली कुमारी महतो