राजनीति

नेताहरुले जनतालाई बिगारे: अध्यक्ष विजुक्छें

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले पैसा नदिइ भोट नदिने गरी नेताहरुले जनतालाई बिगारेको आरोप लगाएका छन्। 

भक्तपुरको ख्व्प मावि, ख्वप कलेज, शारदा क्याम्पस मावि र ख्वप कलेज अफ लले शुभ दिपावली तथा नयाँं वर्ष नेपाल संम्वत ११४३ को अवसरमा आइतबार गरेको शुभकामना आदानप्रदान कार्यक्रममा अध्यक्ष विजुक्छेंले नेताले पैसा खर्च गरेर चुनाव जित्ने र पछि त्यो खर्च उठाउन भ्रष्टाचार गर्नुपर्ने अवस्था आउने गरेको बताए। त्यसकारण निर्वाचन पैसा बलमा नभई विचारको बलमा जित्नुपर्ने उनको धारणा थियो।  

विजुक्छेंले मन्त्री, सांसद पद अपराधीहरुलाई छुटाउने लाइसेन्स हुन थालेको पनि बताए। आफनो पार्टीले अपराध गरी जेल सजायँं भोगेकाहरुलाई छुटाउने काम नगरेकाले कम मत आउने गरेको बताए।  

कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवं ख्वप सर्कल सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापति, उपमेयर एवं कलेज सञ्चालक समितिका उपाध्यक्ष रजनी जोशी, ख्वप इन्जिनियरिंग कलेजका प्राचार्य सुजन माक, ख्वप कलेजका प्रिन्सिपल रुपक जोशी, ख्वप माविका प्रिन्सिपल प्रकाशकुमार श्रेष्ठ, ख्वप पोलिटेक्निक्सका प्रमुख डा रत्नसुन्दर लासिवालगायले विचारको आधारमा असल उम्मेदवारलाई मत दिनुपर्ने बताए।

प्रकाशित: ६ कार्तिक २०७९ १३:३३ आइतबार