राजनीति

इलाममा १ मा ‘हेभिवेट’ खनालका चुनावी तगारा

इलाम क्षेत्र १ का गठबन्धन उम्मेदवार झलनाथ खनाल र एमाले उम्मेदवार महेश बस्नेत।

नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल इलामबाट संसदीय चुनावमा सातौंपटक प्रतिस्पर्धा गर्दैछन्। इलाम क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका खनाल अहिलेसम्मका निर्वाचनमा एक पटकबाहेक सबैमा विजयी पनि भएका छन्। तर, आउँदो मंसिर ४ मा हुने निर्वाचन चाहिँ खनालका लागि अहिलेसम्मकै फरक अभ्यासको हुने देखिएको छ।

यो निर्वाचनमा ‘हेभिवेट’ खनाललाई अहिलेसम्मका चुनावको निकटतम् प्रतिद्वन्द्वी (नेपाली कांग्रेस) समेतको साथ छ। तर, आफैंलाई छ पटकसम्म चुनाव जिताएर सांसद, पटक–पटक मन्त्री र प्रधानमन्त्री (देशको कार्यकारी प्रमुख) समेत बनाउने दल नेकपा (एमाले)सँग चाहिँ अहिले मुख्य प्रतिस्पर्धीका रूपमा छन् उनी। र, त्यही क्षेत्रका मतदाताले खनाललाई अब सूर्य चिह्नमा होइन, कलममा भोट हाल्नुपर्ने छ। 

३१ वर्षयता निरन्तर सूर्य चिह्नमा भोट मागेर जितेका खनाललाई अबको चुनावमा भने हिजोसम्म रुखमा र गोलाकारभित्र हसिँया हतौंडामा भोट हाल्नेहरूको भोटसमेत आफूतिरै तान्नुपर्ने बाध्यता छ।  

इलामका गाउँ–गाउँ चहारेर भूमिगत राजनीति गर्दादेखि २०४६ सालको राजनीतिक परिवर्तनमा समेत खनाल इलामेको आशाको केन्द्र बनिरहे। र, कम्युनिस्ट योद्धाको ‘ब्रान्ड’ बन्दै ३३ वर्षकै उमेरमा पहिलोपटक उनले पार्टी (नेकपा माले)को सर्वाेच्च नेतृत्व हाँक्ने अवसर समेत पाए। ०४६ सालको परिवर्तनपछि २०४८ र २०५१ सालका संसदीय निर्वाचनमा खनाललाई नै विजयी गराएर इलामे मतदाताले आफ्नो ‘वास्ताविक प्रतिनिधि’ भएको पुष्टि समेत गरिदिए। ०५६ सालको निर्वाचनमा पराजित बनेपनि ०६४ र ०७० सालको संविधानसभा निर्वाचन तथा ०७४ सालको प्रतिनिधिसभा सदस्य निर्वाचनमा खनाल इलाम १ बाट पुनः विजयी बने।    

इलामकै साखेजुङमा २००६ साल चैत ६ मा जन्मेका खनालले राजनीतिशास्त्र र इतिहासमा स्नातक अध्ययन गरेका छन्। उनले केही समय विज्ञान विषयको शिक्षक भएरसमेत काम गरे। राजनीतिमा क्रियाशील जागिरबाट अलग भएर उनी कम्युनिस्टको पूर्णकालीन कार्यकर्ता बनेका हुन्। 

जन्मगाउँ साखेजुङ इलामको क्षेत्र नम्बर २ मा पर्ने भएपनि खनाललाई क्षेत्र नम्बर १ का मतदाताले सांसदका रूपमा पटक–पटक विजयी बनाएर सिंहदरबार (प्रतिनिधिसभा) छिराए। २०६७ माघ २० मा उनी देशको प्रधानमन्त्री समेत निर्वाचित भए।  

सैद्धान्तिक रूपमा आफ्नो दृष्टिकोण स्पष्ट राख्ने भएपनि आफूनिकट नेता–कार्यकर्ता ‘व्यवस्थापन’ गर्न नसकेको आरोप खेपिरहेका खनालका लागि यो निर्वाचन चुनौती र अवसर दुवैका रूपमा अगाडि छ। तर, उनलाई आफ्नो दल नेकपा (एस)को मात्रै मत जितका लागि पर्याप्त भने देखिँदैन। सत्ता गठबन्धनको भागवन्डामा खनाल निर्वाचनपछि देशको राष्ट्रपति बन्ने चर्चा इलामस्थित गठबन्धन दलका नेताबीच हुने गरेको छ। र, सत्ताको मुख्य साझेदार कांग्रेस खनाल राष्ट्रपति भए रिक्त हुने उनको निर्वाचन क्षेत्र (इलाम १) मा आफ्नो दलका उम्मेदवार उठाएर विजयी बनाउने ‘दाउ’ हेर्दैछ।  

उनको निर्वाचन क्षेत्रमा पर्ने मुख्य पालिका सूर्याेदय नगरपालिकामा गत वैशाख ३० को स्थानीय तह निर्वाचनमा नेकपा (एस)का उम्मेदवारले ल्याएको एकल मत हिसाब गर्दा ९ हजार हाराहारी देखिन्छ। तर, यो निर्वाचन क्षेत्रमा ५४ हजार २ सय ८८ मतदाता छन्। यही क्षेत्रका अन्य पालिकामा उनकै दलको मत चाहिँ ‘थपथाप’मात्रै हुने देखिन्छ। र, जितका लागि कांग्रेस र नेकपा (माओवादी)को पनि सबैजसो मत उनलाई आवश्यक देखिन्छ।

कांग्रेस जिल्ला सभापति डम्बर खड्काले केही साताअघि पत्रकारहरूसँगको कुराकानीमा भनेका थिए, ‘अहिले गठबन्धनबाट खनाललाई जिताएर पठाउँदा भोलि त्यही क्षेत्रमा हुने उपनिर्वाचनबाट कांग्रेसका उम्मेदवार विजयी गराउने बाटो खुल्ने छ।’ तर, कांग्रेसको यो बुझाइमा खनालको दल नेकपा (एस)को जिल्लास्थित उच्च नेतृत्व चाहिँ अहिलेसम्म प्रतिक्रियाविहीन छ। नेकपा (एस)को जिल्ला तहका एक नेताले नागरिकलाई ठट्यौलीमा प्रतिक्रिया दिए्, ‘अहिले उहाँहरूलाई त्यसै (कांग्रेस जिल्ला सभापति खड्काको भनाइ) भन्न छाडिदिउँ न।’

पछिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचनमा यही क्षेत्रबाट खनाल नेकपा (माओवादी केन्द्र)सहितको साझा उम्मेदवारका रूपमा निकटतम् उम्मेदवारभन्दा १७ हजार २ सय ६७ मतान्तरले विजयी बनेका थिए। खनालले ३६ हजार ८ सय ५ मत ल्याएका थिए भने उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका भूपेन्द्र कट्टेलको १९ हजार ६ सय ३८ मत आएको थियो।  

सूर्याेदय नगरपालिका, माइजोगमाई, सन्दकपुर र रोङ गाउँपालिका, माई नगरपालिकाको वडा १, २, ३, ४, ५, ६ र १० तथा इलाम नगरको वडा १० उनको निर्वाचन क्षेत्रमा पर्छन्। खनालका लागि अहिले सबैभन्दा ‘मलिलो’ चाहिँ सूर्योदय नै मानिएको छ। वैशाख ३० को स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेकपा (एस)कै रणबहादुर राई सूर्याेदयको मेयर निर्वाचित भएका थिए। राई गठबन्धनबाट मेयरमा विजयी हुने १ नम्बर प्रदेशकै एकमात्र पालिमा प्रमुख समेत बने। उनकै अगुवाईमा नगरमा निकै ‘मेहनत’ गरेर पार्टी संगठन विस्तार गरिएको चर्चा भइरहेका बेला सम्पन्न निर्वाचनमा नेकपा (एस)ले एकल प्रतिस्पर्धा गरेर सूर्याेदयका ५ वटा वडा ( वडा ४, ६, ९, १० र १२) को अध्यक्षसमेत जित्यो। सूर्याेदयको मेयरमा राई १२ हजार ४ सय ३१ मत ल्याएर विजयी हुँदा एमालेका काजीमान कागतेले १० हजार ५ सय ७९ मत ल्याएका थिए। कागते १ नम्बर प्रदेशको सांसदबाट राजीनामा दिएर मेयरको प्रतिस्पर्धामा थिए। कांग्रेसले सूर्याेदयका वडा १, ३, ५, ७, ११ र १४ तथा एमालेले वडा २ र १३ जितेका छन्।  

स्थानीय निर्वाचनमा माइजोगमाई गाउँपालिकाको अध्यक्ष पनि सत्ता गठबन्धनबाट नेकपा (एस)कै भागमा परेको थियो। तर, गाउँपालिकाका तत्कालीन अध्यक्षसमेत रहेका गठबन्धन उम्मेदवार जितबहादुर राईलाई पराजित गर्दै एमालेका कुशबहादुर थेबे अध्यक्ष निर्वाचित भए। 

माई नगरको मेयरमा पनि गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै एमालेका दीपक थेबे मेयर बनेका छन्। रोङ र सन्दकपुर गाउँपालिकाको अध्यक्षमा गठबन्धनका कांग्रेस उम्मेदवार विजयी बनेका छन्।

आफ्नै अभिव्यक्ति पर्गेल्न हम्मे

प्रधानमन्त्रीसम्म भएर पनि इलामका लागि ‘केही गर्न नसकेको’ आरोप खेपिरहेका खनाललाई आउँदो चुनाव जित्न चाहिँ आफैंले दिएको अभिव्यक्ति मुख्य ‘चुनौती’ बनिरहेको छ। गत वैशाख ३० को स्थानीय तह निर्वाचनमा सूर्याेदय र माइजोगमाई दुवै पालिकाको प्रमुख पद गठबन्धनबाट नेकपा (एस)को भागमै परेपछि कांग्रेसजन त्यतिबेलै असन्तुष्ट थिए।  

त्यो चुनावमा माइजोगमाई गाउँपालिकाको अध्यक्षमा गठबन्धनका उम्मेदवार पराजित भए भने सूर्याेदयका उम्मेदवार मेयरमा विजयी बने। माइजोगमाईको अध्यक्षमा गठबन्धन पराजित हुँदा आक्रोशित खनालले एक टेलिभिजनलाई अन्तरवार्ता दिँदै ‘कांग्रेसले आफ्ना उम्मेदवारलाई धोका दिएको’ सार्वजनिक अभिव्यक्ति दिए। 

उनले ‘कांग्रेसका मतदाताले गठबन्धनका उम्मेदवारलाई भोट नदिइ एमालेका उम्मेदवारलाई जिताएको’ गम्भीर आरोपसमेत लगाएका थिए। उनको अभिव्यक्तिपछि कांग्रेसका जिल्ला तहकै कतिपय नेता र कार्यकर्ताले सार्वजनिक रूपमै खनालको चर्काे विरोध जनाए। उनीहरूले आइन्दा खनाललाई कुनै पनि अवस्थामा समर्थन नगर्नेसमेत सामाजिक सञ्जालमै लेखेका थिए। उनकै दलका कतिपय नेता–कार्यकर्तासमेतले यो अभिव्यक्तिले खनालले संसदीय चुनावका लागि आफैं ‘वातावरण बिगारेको’ गुनासोसमेत गरे। र, गरिरहेका छन्।  

त्यतिमात्र होइन, खनालको दल नेकपा (एस)ले जिल्ला समन्वय समिति (जिसस) र सूर्याेदय नगरपालिकाको कार्यपालिका गठनक्रममा तत्कालीन सत्ता गठबन्धन नै भत्कायो। गठबन्धनबाट अलग भएर नेकपा (एस)ले जिसस र सूर्याेदयको कार्यपालिका गठनमा एमालेसँग तालमेल ग¥यो। यो गठबन्धनका सबै उम्मेदवार विजयी पनि भए। त्यसपछि कांग्रेसभित्र खनालप्रतिको असन्तुष्टि अझ चुलिएको छ। अहिले पनि उनको निर्वाचन क्षेत्रमा कांग्रेसको एउटा समूह असन्तुष्ट छ। र, जिल्ला तहका नेतासमेतले आफ्नो असन्तुष्टि सामाजिक सञ्जालतिरै पोखिरहेका छन्।

गत वैशाख ३० को स्थानीय तह निर्वाचनमा जिल्लामा गठबन्धन दलबीच पद भागवन्डा गर्न गठित समितिका संयोजक कांग्रेस नेता बेनुपराज प्रसाईंले गठबन्धनबाट खनाललाई क्षेत्र १ को उम्मेदवार बनाएकामा सार्वजनिक रूपमै विरोध गरिरहेका छन्। उनले सामाजिक सञ्जालमार्फत् खनाललाई विभिन्न आरोप लगाउँदै विरोध जनाएका हुन्।  

२०५६ सालको निर्वाचनमा यही क्षेत्रबाट उनै खनाललाई पराजित गरेका प्रसाईंले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म नेपाली कांग्रेसको प्रतिबद्ध कार्यकर्ता हँु। गठबन्धन चुनावी रणनीति हो। गठबन्धन दलमा मेरो सदस्यता छैन। माओवादी र नेकपा (एस)का कुनै नयाँ उम्मेदवार आएको भए मेरो पूर्ण समर्थन हुने थियो होला। तर, जबसम्म जेएन (झलनाथ खनाल)ले कांग्रेसलाई आजसम्म गरेको गाली, जिल्ला समन्वय समितिमा कांग्रेसको विरोधमा गरेको अपराधप्रति माफी माग्ने काम, लक्ष्मीपुरमा समाल परिवारलाई गर्नुभएको अपराधमा माफी माग्ने काम गर्नुहुन्न, मेरो समर्थन हुँदैन। कांग्रेसमा दासत्व स्वीकार नगर्ने कुनै पनि स्वाभिमानी कार्यकर्ताको समर्थन हुँदैन।’

त्यतिमात्र होइन, तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गर्दै २०७७ पुसमा काठमाडौंमा आयोजित सभामा पनि खनालले ओलीको कडा आलोचना गरेका थिए। त्यसक्रममा खनालले ‘धरहरा र रानीपोखरी ओलीले नभइ सिकर्मी–डकर्मीले बनाएको’ अभिव्यक्ति दिएका थिए। यो अभिव्यक्ति  पनि सामाजिक सञ्जालमा खनालको ‘हलुका भाषण’, र ‘अपरिपक्वताको नमुना’का रूपमा अथ्र्याइएर चर्चित बनेको थियो।    

सर्प पालन परियोजनाको आलोचना

पूर्वप्रधानमन्त्री खनालकै नाममा २०७२ सालमा सर्लाहीमा ‘झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान’ खुल्यो। 

लालबन्दी नगरपालिका १ मा स्थापित प्रतिष्ठानलाई सर्प पालेर एन्टी स्नेक भेनम उत्पादन गर्न सरकारसँग २०७७ सालमा ७२ करोड रुपैयाँको सम्झौता भएको थियो। प्रतिष्ठानमा तीनै तहका सरकारको लगानी छ।  

सर्प पालेर २ वर्षभित्र एन्टी स्नेक भेनम उत्पादन गरी भारत पठाउने र केही समयपछि नेपालमै प्रयोगशाला स्थापना गर्नेगरी यो परियोजना सुरु भएको थियो। साढे ९ बिघामा अहिले परियोजना चलिरहेको छ। सर्पले डसेका बिरामी निको बनाउन सर्पकै विष चाहिने भएकाले यहाँ एन्टी स्नेक भेनम उत्पादन परियोजना खनालको नामको प्रतिष्ठानले सञ्चालन गरेको थियो।  

खनाल २०७० सालको संविधानसभा निर्वाचनमा इलाम–१ र सर्लाही १ बाट चुनाव लडेका थिए। उनी इलामबाट विजयी बने भने सर्लाहीमा माओवादी उम्मेदवार शम्भुलाल श्रेष्ठसँग पराजित भए। 

सर्लाहीमा चुनाव प्रचारक्रममा उनले सर्पले डसेर उपचार नपाउँदा एक जनाको मृत्यु भएको खबर पाएका थिए। त्यही खबरले प्रभावित भएर यहाँ खनालका नाममा २०७१ सालमा प्रतिष्ठान खुलेको थियो।

जब इलामबासी र विशेषगरी उनलाई अढाई दशक चुनाव जिताएका क्षेत्र १ का मतदाताले यो खबर थाहा पाए, उनीहरू खनालप्रति आक्रोशित टिप्पणी गर्न थाले। उनीहरूले सार्वजनिक रूपमै खनालको विरोध जनाए र अहिले पनि जनाइरहेकै छन्– ‘३ दशक इलामबाट चुनाव जिताउने मतदाता आफ्नो ठाउँको विकास पर्खिरहेका छन्। सडक छैन, पुल छैन, राम्रो कलेज छैन। राम्रो अस्पताल नहुँदा कि घरमै सास जान्छ, कि उपचार गराउन भारत पुग्नुपर्छ। इलामको चिया, अलैंची, अदुवा, अम्लिसोको बजार भारतको मनोमानीमा चलेका बेला प्रधानमन्त्रीजस्तो पदमा पुगेर पनि किसानका लागि चुइँक्क नबोल्ने खनाललाई जीवनमा एक पटक चुनावमा उठेर पनि हारेको ठाउँमा ७२ करोडको परियोजना एकैपटक दिन कसरी मन मान्यो होला ? जबकि, उनले चुनाव जितेको ३ दशक अवधिमा उनकै पहलमा चाहिँ सबै जोड्दा ७२ करोडको बजेट आएको छैन होला।’ खनालप्रति यहाँका मतदाताको चासो अहिले पनि उस्तै छ, ‘त्यो ७२ करोडको परियोजना इलामकै दानाबारी वा चुलाचुलीतिर ल्याएको भए हुने थिएन ? यो इलामबासीका लागि खनालको उपेक्षा हो।’  

मतदाताबाट चौतर्फी आलोचना भएपछि प्रतिष्ठानको नाम परिवर्तन गरी एन्टिभेनम उत्पादन तथा अनुसन्धान केन्द्र, नेपाल बनाइएको छ। र, अहिलेसम्म सम्झौताको ७२ करोडमध्ये १८ करोड हाराहारी रकममात्र आएको प्रतिष्ठान बताउँछ।  

बागीको बाधा

सत्ता गठबन्धनबाट खनाल क्षेत्र १ को उम्मेदवार बनेपछि गठबन्धनमै रहेको कांग्रेसका एक नेताले यही क्षेत्रमा बागी उम्मेदवारी दिएका छन्। कांग्रेस नेता विक्रम पाण्डेको उम्मेदवारीले क्षेत्र नम्बर १ को सत्ता गठबन्धनभित्र अहिले तरंग ल्याइरहेको छ।

पाण्डे कांग्रेसको पकड भएको क्षेत्र बागबिरेका पुराना नेता हुन्। अहिले पार्टीको क्षेत्रीय प्रतिनिधि रहेका पाण्डेले यसअघि पार्टीभित्र तल्लो तहदेखि क्षेत्रीय र जिल्ला समितिमा समेत जिम्मेवारी पूरा गरिसकेका छन्। उनी पटक–पटक कांग्रेसको महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यसमेत भइसकेका छन्। पाण्डेले इलाममा दुग्ध वितरण आयोजनाको दूध संकलन केन्द्र स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। किसानलाई आयोजनाले दूधको मूल्य ज्यादै कम दिएका बेला मूल्य बढाउन किसान आन्दोलनको नेतृत्व गरी सफल भएको स्मरण एक स्थानीयले गरे।

पाण्डेले गठबन्धनभित्र इलाम क्षेत्र १ नेकपा (एस)को भागमा पर्नेबित्तिकैदेखि आफू उम्मेदवार बन्नेगरी चुनावी तयारी गरेका थिए। ‘यो अप्राकृतिक गठबन्धनको कुनै अर्थ नभएकाले मैले पहिल्यैदेखि यसको विरोध गरेको थिएँ, चुनावको तयारी पनि गरेको थिएँ,’ उनले भने, ‘अहिले आएर कांग्रेस पार्टीको झन्डा र चुनाव चिह्नकै बेइज्जत हुनेगरी उम्मेदवारी भागवन्डा गरिएकाले मैले बाध्य भएर कांग्रेस बचाउने बाटो तय गरेको हुँ।’ उनले अहिलेको गठबन्धन देश बनाउन नभइ नेताहरूको पदीय स्वार्थका लागिमात्र भएको प्रतिक्रिया दिए।  

पाण्डेले देशको प्रधानमन्त्रीसमेत भइसकेका खनालले करिब तीन दशकसम्म यहाँको नेतृत्व गर्दा नागरिकको अवस्था सुधार हुन नसकेको बताए। ‘खनालको काम हामीले तीन दशकदेखि हेरेका छौं, हिजोसम्म उनको काम चित्त नबुुझाएर विरोध जनाउँदै जनता सचेत गर्न हिँडेको त्यही कांग्रेस आज उनै खनाललाई पुनः भोट जिताऔं भन्दै काँधमा बोकेर हिँड्नुपरेको छ, मैले त्यसो गर्न सकिनँ,’ पाण्डेले भने, ‘कांग्रेसको इतिहास, वर्तमान र भविष्य बचाउनुपर्छ भन्ने कांग्रेस साथीहरू अहिले पनि मसँगै हुनुहुुन्छ। हिजो कांग्रेसकै मुख्य विरोधी र प्रतिस्पर्धी रहेका खनाललाई कांग्रेसका इमान्दार मतदाताले चाहिँ भोट हाल्छन् भन्ने मलाई लाग्दैन।’  

पाण्डे अहिले ‘मतदातासँग भेटघाट र परिचय’का लागि गाउँ–गाउँ घुमिरहेका छन्। उनी विशेषगरी हाटबजार र मानिस बढी जमघट हुने ठाउँमा पुगेर परिचय गरिरहेको सूर्याेदय कांग्रसकै एक नेताले बताए। अस्वस्थताका कारण मनोनयन दर्ता गर्नसमेत आफ्नो क्षेत्रको निर्वाचन अधिकृत कार्यालय आउन नसकेका खनाल चुनावी अभियानका लागि बिहीबार इलाम आउँदैछन्।

मुख्य प्रतिस्पर्धी उम्मेदवारको ‘धक्का’

खनाल उम्मेदवार रहेको इलाम क्षेत्र १ मा नेकपा (एमाले) जिल्ला अध्यक्ष महेश बस्नेत उनका प्रतिस्पर्धी उम्मेदवारका रूपमा छन्। बस्नेत एमालेभित्र प्रभावशाली नेता र ‘चुनावी खेलाडी’ नेताका रूपमा चिनिएका नेता भएकाले खनाललाई ‘धक्का’ दिने केही मतदाताको विश्लेषण छ।

२०७४ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसका जिल्ला सभापति हिमालय कर्मचार्यलाई पराजित गरी बस्नेत इलाम नगरपालिकाको मेयर बनेका थिए। २०५४ सालको निर्वाचनमा पनि बस्नेतले इलामकै मेयरमा उनै कर्माचार्यलाई पराजित गरेका थिए। एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङनिकट मानिने अध्यक्ष बस्नेत इलाम नगरको भौतिक पूर्वाधार विकासमा गरेको कामले जिल्लामा परिचित छन्।  

उनी पछिल्लो पटक मेयर भएका बेला नेपाल नगरपालिका संघ १ नम्बर प्रदेशको संयोजकसमेत बनेका थिए। एमाले इलामका उपसचिव रवीन्द्र सुवेदी भन्छन्, ‘इलाम क्षेत्र नम्बर १ ले विकासप्र्रेमी उम्मेदवार खोजेको छ, खनालबाट इलामको विकास सम्भव छैन भन्ने बुझिसकेका यो क्षेत्रका मतदाताले एमाले उम्मेदवारलाई जिताउँछन् भन्नेमा हामी ढुक्क छौं।’ बस्नेत क्षेत्र २ मा पर्ने इलाम नगरको बासिन्दा भएकाले क्षेत्र १ मा जित्न उनलाई सहज नभएको विश्लेषण भइरहेपनि पटक–पटक यही क्षेत्रमा चुनाव जितेका खनाल र कांग्रेस नेता बेनुपराज प्रसाईं पनि इलाम क्षेत्र २ कै बासिन्दा भएकाले यो तर्कले महत्व नराख्ने एमालेजनको बुझाइ छ। बस्नेत केही महिनादेखि नै मतदाता भेट्दै आफ्नो निर्वाचन क्षेत्रका टोल–टोल पुगिरहेका छन्।  

तर, नेकपा (एस)का जिल्ला अध्यक्ष भक्त केसी खनाल नै पुनः यो क्षेत्रमा विजयी हुने दाबी गर्छन्। खनालमा देशप्रेमी भावना भएको र कुनै पनि बहानामा देशलाई घात गर्ने योजनाविरुद्ध खनालको धारणा सधैं स्पष्ट रहेको केसी बताउँछन्। 

‘एमसिसी (मिलेनियम च्यालेन्ज कर्पाेरेसन), नागरिकता विधेयकलगायत विषयमा खनालको धारणा देशको हितमै रहेको सबैलाई थाहा छ,’ केसी भन्छन्, ‘अहिलेकै संविधानमार्फत् देशमा शान्ति, समृद्धि हुँदै वैज्ञानिक समाजवादतर्फ जानुुपर्छ भन्ने धारणाले उहाँप्रति जनताको विश्वास अझ बढेको छ।’  

त्यतिमात्र नभइ खनालकै पहलमा इलाममा ठूलो बजेटका परियोजनासमेत आएको, साखेजुङमा खनालले आफैं  ५५ रोपनी जमिन दिएर प्राविधिक शिक्षालय खुलेको, उनकै प्रयासमा इलाम विमानस्थल निर्माण भएको पनि केसीले दाबी गरे। ३१ घर परिवारलाई मुआब्जा दिएर स्थानीयस्तरबाट करिब ४ करोड रुपैयाँसहित २८ करोड रुपैयाँहाराहारी खर्च भएको फाल्गुनन्द सुकिलुम्बा विमानस्थल तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले २०६७ चैत १३ मा शिलान्यास गरेका थिए। करिब १२ वर्षमा निर्माण पूरा भएको विमानस्थलको उद्घाटन पनि खनालले गत चैत १ मा गरेका थिए। यो विमानस्थलमा बस्नेत मेयर भएका बेला इलाम नगरपालिकाले समन्वय गरी इलाम–काठमाडौं १२ उडान सञ्चालन गराएको थियो। त्यसयता विमानस्थल बन्दझैं छ। विमानस्थल चालु गर्न पहलै नगरेको आरोप पनि खनालमाथि लागिरहेको छ। ‘जहाँसम्म सर्लाहीमा सर्प पालनको कुरा छ, जहाँ माग भयो, जहाँ भौतिक पूर्वाधार थियो, त्यहाँ परियोजना चलेको होला,’ केसीले भने, ‘यहाँ (इलाममा) त्यस्तो माग नै भएन।’  

इलाम क्षेत्र १ बाट जनता समाजवादीका कमलकुमार राई, नेपाली कांग्रेस (बिपी)का गणेशप्रसाद पौडेल, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जितकुमार मुखिया, राष्ट्रिय प्रजातन्त्र पार्टीका तोयानाथ शर्मा सापकोटा, मंगोल नेसनल अर्गनाइजेसनका बुद्धलाल मेचे, राष्ट्रिय जनमुक्ति पार्टीका पदमबहादुर लिम्बू तथा स्वतन्त्र उम्मेदवारद्वय निमातेञ्जिङ शेर्पा र नेत्रप्रसाद रेग्मीको पनि उम्मेदवारी छ।

प्रकाशित: २ कार्तिक २०७९ १०:५९ बुधबार

झलनाथ खनाल