राजनीति

गोरखा–२ मा प्रचण्डको उम्मेदवारी

गोरखा–२ मा उम्मेदवारी दिन आएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)। तस्बिरः नरहरि सापकोटा/नागरिक

गोरखा–२ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले उम्मेदवारी दिएका छन्। दाहालका विरुद्ध गोरखा–२ मा अरु चारजनाको पनि उम्मेदवारी परेको छ। दाहालको उम्मेदवारीमा बाबुराम भट्टराई प्रस्तावक र नारायणकाजी श्रेष्ठ समर्थक छन्।

दाहालको प्रतिश्पर्धीको रुपमा नेकपा एमालेले अब्दुस सलाम मियालाई अघि सारेको छ। मियाले यसअघि नै उम्मेदवारी दिएका छन। त्यस्तै नेमकिपाबाट प्रल्हलाद लामिछाने, स्वतन्त्र पार्टीबाट कविन्द्र बुर्लाकोटी र स्वतन्त्रबाट बिनोदकुमार गुरुङले पनि उम्मेदवारी दिएका छन्।  

दाहालसँगै नेपाल समाजवादी पार्टीका बाबुराम भट्टराई र माओवादीकै अर्का नेता नारायणकाजी श्रेष्ठ पनि साथमा रहेका छन्। बाजागाजाका साथ दाहाल उम्मेदवारी दिन पुगेका थिए। अहिले दाहाल उम्मेदवार बन्न थालेको क्षेत्र गोरखा–२ मा कांग्रेससँगको गठबन्धनमा बाबुराम भट्टराईले यसअघि जित हात पारेका थिए। बाबुरामसँग माओवादीका नारायणकाजी श्रेष्ठ पराजित भएका थिए।

प्रचण्डका प्रतिश्पर्धी एमालेका मियाले दाहालको उम्मेदवारीलाई अस्वभाविक भएको बताए। ‘माओवादी अध्यक्ष दाहालको उम्मेदवारी अस्वभाविक हो। मेरो स्वभाविक हो,’ उनले भने।  दाहालसँग आफ्नो कडा प्रतिश्पर्धा हुने मियाले बताए। दाहाललाई निर्वाचन क्षेत्र चहार्दै हिड्ने गरेको उनले आरोप लगाए।

प्रकाशित: २३ आश्विन २०७९ ०९:३७ आइतबार

गोरखा–२ माओवादी केन्द्र पुष्पकमल दाहाल (प्रचण्ड)