राजनीति

महिलाहरुलाई आर्थिक रुपले आत्मनिर्भर बनाउन जरुरी छः उमा रेग्मी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलाहरुलाई आर्थिक रुपले आत्मनिर्भर बनाउन जरुरी रहेको बताएकी छन्।

मंगलबार काठमाडौँको बुढानिलकण्ठमा निर्माण गरिएको समाज कल्याण परिषदको व्यवसायिक तालिम केन्द्र भवनको उद्घाटन गर्दै मन्त्री रेग्मीले सो भवन महिलाहरुलाई आधारभूत तालिम दिइ दक्ष बनाउन उपयोग हुने विश्वास समेत व्यक्त गरिन्।

मन्त्री रेग्मीले सो भवनलाई उद्देश्यमूलक ढंगले सञ्चालन गर्न समाज कल्याण परिषदका पदाधिकारीहरुलाई निर्देशन समेत दिइन्। उनले भनिन्, ‘महिलाहरुलाई आत्मनिर्भर बनाउन जरुरी छ। यो तालिम केन्द्र पनि भाडामा लाग्ने छैन। यसले महिलाहरुलाई तालिम दिएर उपलब्धिमूलक बनाउने छ। यसका लागि आवश्यक सहयोग गर्न मन्त्रालय तयार छ।’

मन्त्री रेग्मीले महिलाहरुको दक्षता अभिवृद्धि गरी उनीहरुलाई उद्यमी बनाउने काममा मन्त्रालयले पनि सो तालिम केन्द्रलाई आवश्यक सहयोग गर्ने आश्वासन समेत दिइन्। कतार च्यारिटीको सहयोगमा निर्माण गरिएको सो भवनमा ४ वटा तालिम कोठा, २ वटा अफिस कोठा, १ वटा सेमिनर हल र ८ वटा शौंचालय रहेका छन्।

त्यस अवसरमा महिलाहरुको सिलाई-कटाई तालिमको पनि शुभारम्भ गरिएको थियो। महिलाहरुलाई आयआर्जनको काममा लगाउने उद्देश्यले सो तालिमको शुभारम्भ गरिएको समाज कल्याण परिषदले जनाएको छ। 

प्रकाशित: २८ भाद्र २०७९ १०:३८ मंगलबार

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मी काठमाडौँको बुढानिलकण्ठ समाज कल्याण परिषद