राजनीति

विवेकशील साझा पार्टीलाई स्थापनाको मर्म अनुरूप पुनर्गठन गर्छौं: मिलन पाण्डे

फाइल तस्बिर

विवेकशील साझा पार्टीका नेता मिलन पाण्डेले विवेकशील साझा पार्टीलाई स्थापनाको मर्म अनुरूप राष्ट्रिय भेला मार्फत पुनर्गठन गर्ने बताएका छन्।

पाण्डेले प्रेस विज्ञप्ति जारी गर्दै पार्टी स्थापनाको मर्मविपरित ल्याइएको दस्ताबेजले आम नागरिकको वैकल्पिक राजनीतिप्रतिको आशामाथि बेइमानी भएको र अब पार्टी पुनर्गठन गरेर सच्याउँदै अघि बढ्ने बताएका हुन्।

'विवेकशील साझा पार्टीमा विचार भन्दा माथि देश दस्ताबेज आए लगत्तै उक्त दस्ताबेज संविधान विरोधी, वैकल्पिक राजनीतिको मर्म विरोधी, युवा तथा परिवर्तन विरोधी र समग्रमा राष्ट्र विरोधी संकथन हो भनेर हामीले भनेकै हो। पार्टी स्थापनाको मर्मविपरित ल्याइएको उक्त दस्ताबेजले आम नागरिकको वैकल्पिक राजनीतिप्रतिको आशामाथि बेइमानी थियो।' विज्ञप्तिमा भनिएको छ।  

त्यस्तै उनले पार्टीको स्थापना 'राजतन्त्र' ब्युँताउन नभएको थियो र पार्टी स्थापनाको एक दशकसम्मको सदस्यहरूको मिहेनत राजतन्त्रको पक्षपोषणका लागि नभएको जनाउँदै वैकल्पिक राजनीति माथिको यो घातलाई अब पार्टी पुनर्गठन गरेर सच्याउँदै अघि बढ्नुको विकल्प नरहेको बताएका छन्।

प्रकाशित: २९ श्रावण २०७९ ०६:३१ आइतबार

विवेकशील साझा पार्टी मिलन पाण्डे