राजनीति

चुनाव जित्न सबै विकल्प खुला, भदौमा तीनै तहको बैठक

सरकारले मंसिर ४ गतेका लागि प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको घोषणा गरेसँगै गठबन्धनको दबाबमा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निर्वाचनको तयारीमा जुटेको छ। त्यसका लागि एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा निर्वाचन परिचालन कमिटी बनाएको छ।

सरकारमा रहेका पाँच दलले एमालेविरुद्ध मोर्चाबन्दी गरेपछि दबाबमा परेको एमालेले बिहीबारको सचिवालय बैठकमा निर्वाचन परिचालन कमिटी बनाएको हो। उक्त कमिटी बनाइरहँदा अध्यक्ष ओलीले निर्वाचन जित्न सबै विकल्प खुला राखेर जानुपर्नेमा जोड दिए। उनले गठबन्धन बनाउने र भत्काउने कुरा झ्याली पिटेर वा हल्ला गरेर हुने विषय नभएको स्पष्ट पारे।

‘सहकार्य सिद्धान्तपरक, वस्तुनिष्ठ र उद्देश्यमूलक हुनुपर्छ, जुनसुकै बेला जोसँग पनि गरेर जान सकिन्छ,’ अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै सचिवालयका एक सदस्यले भने। उनले जहाँ जसरी निर्वाचन जितिन्छ, त्यहाँ त्यसरी नै पार्टी परिचालन गर्नुपर्ने भनाइ ओलीको रहेको सचिवालयका ती सदस्यले बताए। उनका अनुसार ओलीले अहिलेको चुनाव चुनौतीपूर्ण रहेकाले त्यसको सामनाका लागि तयार हुनुपर्ने आवश्यकता औंल्याएका थिए।

सरकार र सम्बद्ध दलहरूले विगतमा एमालेले जितेको क्षेत्रलाई आधार मानेर सिट विभाजन गर्ने र एमालेलाई कुनै हालतमा पराजित गर्नेतिर केन्द्रित भएपछि एमाले दबाबमा परेको हो। तर दबाबबीच पनि आवश्यकताका आधारमा सहकार्य गरेर अघि बढ्ने तयारीमा एमाले लागेको हो। बिहीबारको सचिवालय बैठकमा पार्टी अध्यक्ष ओलीले सहकार्यबारे खासै केही धारणा नराखे पनि जुनसुकै बेला आवश्यकताअनुसार गठबन्धन हुन सक्ने बताएका थिए।

‘गठबन्धनबारे खासै छलफल भएन तर आवश्यकताअनुसार कतैकतै गठबन्धन हुन पनि सक्ने कुरा आएको छ तर कोसँग भन्ने स्पष्ट भएको छैन। सहकार्य गर्न चाहनेका लागि एमालेले ढोका खुला राखेको छ,’ सचिवालय बैठकका एक सहभागीले भने। पार्टी अध्यक्ष ओलीले देशभर एमालेविरुद्ध गठबन्धन हुन सक्ने भएकाले त्यसतर्फ ध्यान दिन आग्रह गरे।

‘अबको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित हुनुपर्छ। बहुमत ल्याउने गरी आन्तरिक तयारी गरौं। पार्टीमा आउनेहरूलाई स्वागत गर्दै प्रवेश अभियानलाई तीव्रता दिऔं। एमालेको बहुमतबिना मुलुकको समृद्धि सम्भव छैन भन्ने कुरा जनतालाई बुझाऔं र त्यहीअनुसार अघि बढौं,’ बैठकमा ओलीले भनाइ उद्धृत् गर्दै सचिवालयका ती सदस्यले भने।

एमालेले तत्काललाई गठबन्धन गर्नेतिरभन्दा पनि विपरीत दलका नेताकार्यकर्तालाई पार्टीमा भित्र्याई जिम्मेवारी दिएर निर्वाचनमा खटाउने योजना बनाएको छ। पहिलो चरणमा गत भदौमा एमालेबाट बाहिरिएर माधवकुमार नेपालको नेतृत्वमा स्थापना गरेको नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) मा गएका नेताकार्यकर्तालाई पुरानै घर फर्काउने र आवश्यकताअनुसार जिम्मेवारी दिने नीति एमालेले लिएको छ।

‘गठबन्धनबारे खासै छलफल भएन तर आवश्यकताअनुसार कतैकतै गठबन्धन हुन पनि सक्ने कुरा आएको छ तर कोसँग भन्ने स्पष्ट भएको छैन। सहकार्य गर्न चाहनेका लागि एमालेले ढोका खुला राखेको छ,’ सचिवालय बैठकका एक सहभागीले भने।

‘नेकपा एसमा गएका नेतालाई भन्दा पनि कार्यकर्तालाई फर्काउने नीति एमालेको छ। साथै, माओवादीमा असन्तुष्ट कार्यकर्तालाई पनि एमालेमा ल्याउने नीति अख्तियार गरिएको छ,’ एमाले सचिवालयका अर्का एक सदस्यले भने। केही दिनअघि एमालेबाट बाहिरिएका कर्मचारी संगठनका नेता भोला पोखरेललाई पार्टीमा ल्याएको जानकारी दिँदै ओलीले कोहीकसैले बाटो बिराएको भए घर फर्कन आग्रह गरे।

यसैगरी एमालेले मधेस प्रदेशमा विशेष रूपमा लाग्नुपर्नेमा जोड दिएको छ। महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र अन्य मधेसवादी पार्टीहरूसँग पनि एमालेले अनौपचारिक कुराकानी गरिरहेको छ। एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतलगायत केही नेताले मधेसमा क्रियाशील दलहरूसँग कुराकानी अघि बढाइरहेका छन्।

त्यस्तै एमालेले गठबन्धनभित्र पनि असन्तुष्ट केही दललाई अलग बनाउने कोसिस जारी राखेको छ। एमालेका केही नेताले माओवादी केन्द्र र नेकपा एसका नेताहरूसँग पनि कुराकानी गरिरहेका छन्। ‘बिहीबारको एमाले सचिवालय बैठकमा सदस्यहरूले अध्यक्ष ओलीकै भनाइलाई समर्थन जनाउँदै गठबन्धन वा सहकार्यलाई खुला राखेर अघि बढ्नुपर्ने बताएका थिए,’ सचिवालयका ती सदस्यले भने। 

बिहीबारको सचिवालय बैठकपछि पार्टीको प्रचार विभाग प्रमुखसमेत रहेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले ओलीको नेतृत्वमा गठित निर्वाचन परिचालन कमिटीमा केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटीका पदाधिकारी, केन्द्रीय निकाय र आयोगका पदाधिकारी, जनसंगठनका अध्यक्ष/महासचिव र विभागका सचिव रहने जानकारी दिए।

बैठकले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा घोषणापत्र मस्यौदा कमिटी पनि गठन गरेको छ। सो कमिटीका सदस्यहरूमा सदस्यमा उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा र विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिवहरू प्रदीप ज्ञवाली र विष्णु रिमाल रहने जनाइएको छ।

सचिवालय बैठकले आगामी भदौ ७ मा स्थायी कमिटी र ९ मा पोलिटब्युरो बैठक बोलाउने निर्णय गरेको पनि प्रवक्ता गुरुङले बताए। उनका अनुसार पोलिटब्युरो बैठक सकिएलगत्तै भदौ ११ गते केन्द्रीय कमिटीको बैठक बस्नेछ। बिहीबारको बैठकमा एमालेले यसअघि चलाएको प्रशिक्षणबारे समीक्षा पनि गरिएको थियो।

प्रशिक्षण कार्यक्रम सम्पन्न गर्न प्रदेश १ मा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, मधेस प्रदेशमा उपाध्यक्ष सुरेन्द्र पाण्डे, वाग्मतीमा उपाध्यक्ष विष्णु पौडेल, गण्डकीमा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, लुम्बिनीमा उपाध्यक्ष सुवास नेम्वाड, कर्णालीमा उपाध्यक्ष रामबहादुर थापा र सुदूरपश्चिममा उपाध्यक्ष युवराज ज्ञवालीलाई खटाइएको थियो।

सातै प्रदेशमा निर्वाचन केन्द्रित प्रशिक्षण दिएको एमालेले देशभर पार्टीको अवस्था के–कस्तो रहेको र त्यसबाट आएको पृष्ठपोषणबारे पनि छलफल गरेको थियो। यसपछि एमालेले जिल्ला–जिल्लाबाटै पार्टी अवस्थाबारे जानकारी लिएर निर्वाचन रणनीति बनाउने भएको छ। केन्द्रीय सदस्यहरूलाई आफ्नो जिल्ला, क्षेत्रको विवरण केन्द्रमा पठाउन पनि एमाले सचिवालयले आग्रह गर्ने भएको छ। बिहीबारको बैठकमा सहकार्य, गठबन्धन र पार्टी प्रवेशबारे कुनै छलफल नभएको प्रवक्ता गुरुङले स्पष्ट पारे।

प्रकाशित: २७ श्रावण २०७९ ०२:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App