प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वविद्यालयहरुले विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताए।
बिहीबार काठमाडौँमा नेपाल प्राध्यापक संघले आयोजना गरेको ‘६० औँ वार्षिक दिवस/हीरक महोत्सव’ तथा ‘नेपालमा उच्च शिक्षा अवस्था र चुनौती विषयक गोष्ठी’ मा बोल्दै प्रधानमन्त्री देउवाले विश्वविद्यालयहरुले विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने शैक्षिक जनशक्ति उत्पादन गर्नुपर्ने बताएका हुन्।
उनले कुनै देशको विकास त्यस देशको शिक्षाको गुणस्तरले मापन गर्ने बताए। उनले विश्वविद्यालयहरुले अन्तर्राष्ट्रिय क्षेत्रमा विकास भइरहेको नयाँ ज्ञान र प्रविधिलाई आफ्नो पाठ्यक्रममा समावेश गरी दक्ष जनशक्ति बनाउन जोड दिनुपर्ने बताए।
उनले भने, ‘विश्वविद्यालयका समस्या, चुनौतीहरुलाई आपसी संवाद र समस्याको समाधान गर्ने कुरामा जोड दिन चाहन्छु। यसमा प्राध्यापक संघको पनि आवश्यक भूमिकाको अपेक्षा गर्दछु। कुनै पनि मुलकको विकास त्यस देशको शिक्षाको गुणस्तरले मापन गर्दछ। विश्वविद्यालयहरुले राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रमा विकास भइरहेको नयाँ ज्ञान र प्रविधिलाई आफ्नो पाठ्यक्रममा समावेश गरी विश्व बजारमा प्रतिस्पर्धा गर्नसक्ने शैक्षिक जनशक्ति उत्पादनमा जोड दिनुपर्दछ।’
उनले विश्वविद्यालयहरुको शैक्षिक गुणस्तरलाई प्रतिस्पर्धी बनाउन प्राध्यापकहरु प्रयत्नशील हुनु आवश्यक रहेको उल्लेख गरे। प्रधानमन्त्री देउवाले उच्च शिक्षालाई अनुसन्धानमुलक, जीवनोपयोगी, रोजगारमुलक बनाउनुपर्नेमा जोड दिए।
उनले भने, ‘विश्वविद्यालयको पठन–पाठनलाई गुणस्तरीय, समसामयिक, प्रविधिमैत्री हुनेगरी अघि बढाउने मुल जिम्मेवारी पाएका प्राध्यापकहरुले उच्च शिक्षालाई अनुसन्धानमुलक, जीवनोपयोगि, रोजगारमुलक बनाउने, देश र जनताको हीतमा आफूलाई अझ समर्पित गर्दै लानुहुनेछ भन्ने अपेक्षा छ।’ उनले विश्वविद्यालयहरुका समस्याहरुलाई आपसी संवादमा समाधान गर्नुपर्ने बताए।
प्रकाशित: २६ श्रावण २०७९ ११:२९ बिहीबार