नेकपा एमालेकी सांसद विन्दा पाण्डेले सार्वजनिक पद धारण गर्न न्यूनतम उमेरको प्रावधान राख्नेकुरा अवैज्ञानिक भएको बताएकी छन्।
प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद पाण्डेले युवाहरुलाई उमेर नपुगेकै कारण कुनै सार्वजनिक पद धारण गर्नबाट वञ्चित गर्नु नहुने बताएकी हुन्। उनले नयाँ पुस्ताले हरेक कुरामा सक्षमतापूर्वक नेतृत्व दिनसक्ने भन्दै युवाहरुलाई न्यूनतम उमेर भनेर राख्नुको तुक नरहेको जिकिर गरिन्।
उनले सार्वजनिक पदमा रहेर युवाहरुलाई काम गर्नका लागि न्यूनतम उमेर तोकिएकोप्रति आपत्ति जनाउँदै शैक्षिक योग्यता, अनुभव भएमा काम गर्नबाट वञ्चित गराउनु नहुने बताइन्। सांसद पाण्डेले सक्षम र योग्यता पुगेका युवाहरुलाई बुढ्यौली भएन भनेर रोक्नु उचित नभएको भन्दै कुनैपनि ठाउँमा अरु योग्यता र अनुभव पुग्छ भने न्यूनतम उमेर तोक्ने गरेर कुनैपनि नीति निर्माण गर्नु नहुने बताइन्।
सांसद पाण्डेले संविधानद्वारा नीति निर्माण गरेर खेलिएका कार्यालयहरुमा उमेर नपुगेकै कारण सक्षम नहुने भन्ने कुरामा पुनर्विचार गर्न आवश्यक रहेको बताइन्। उनले समावेशिताको कुरा एकपक्षीय रुपमा गर्न नमिल्ने भन्दै समावेशिताको कुरा हरेकपटक उठाउन नपर्ने ढंगबाट सरकारले आफ्ना दस्ताबेज अघि सार्नुपर्ने बताइन्।
प्रकाशित: १० श्रावण २०७९ १२:४१ मंगलबार