राजनीति

निर्वाचन आयोगमा ५८१ वटा ल्यापटप प्रयोगविहीन

निर्वाचन आयोगले किनेका ५८१ वटा ल्यापटप प्रयोगविहीन अवस्थामा छन्। ६५९ वटा ल्यापटपको मूल्यसमेत खुलाइएको छैन। मूल्य नखुलाइएका ल्यापटपमध्ये ५८१ वटा प्रयोग नगरी थन्काइएका छन्।  

‘कोर आई थ्री’ नामका ल्यापटप प्रयोगविहीन बनाइएका हुन्। आयोगले किनेका उपकरण बेकामे अवस्थामा रहेकाले सम्बन्धित पदाधिकारीलाई कारबाही गर्न महालेखा परीक्षकको कार्यालयले सुझाव दिएको छ।  

निर्वाचन आयोगमा जथाभावी ल्यापटप, छपाइ मेसिन किनेर प्रयोगविहीन बनाउने सम्बन्धित पदाधिकारीलाई कारबाही गर्न सुझाव दिइएको हो। महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्षको प्रतिवेदनमा सामान किन्न अनुमति दिएर प्रयोग नगराउने निर्वाचन आयोगका पदाधिकारीलाई कारबाही गर्न सुझाएको हो। 

आयोगले २०७४ सालमा १० करोड ५५ लाख ४० हजार रूपैयाँको हाई स्पिड डिजिटल कलर प्रिन्टर किनेको थियो। साथै ११ करोड २८ लाख रूपैयाँ तिरिएका दुई थान स्प्रिङ डिजिटल मोनोक्रोमसमेत गरी २१ करोड ८३ लाख ४० हजारको अत्याधुनिक छपाइ मेसिन खरिद गरिएको थियो। ती सबै हाल प्रयोगविहीन अवस्थामा छन्। २०७४ सालमा मेसिन किन्दा प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव थिए।  

संसद्को सार्वजनिक लेखा समितिको २०७७ भदौ २२ मा खरिद गरिएका मेसिन प्रयोग गर्ने आयोगलाई निर्देशनसमेत दिएको थियो। समितिले दिएको निर्देशन कार्यान्वयन नभएको महालेखाको प्रतिवेदनले औंल्याएको छ। मेसिन प्रयोग गर्न सक्ने/नसक्ने सम्भाव्यता अध्ययनबेगर खरिद गर्ने सम्बन्धित पदाधिकारीलाई आवश्यक कारबाही हुनुपर्ने महालेखाको प्रतिवेदनमा भनिएको छ। ‘किनिएका उपकरण मर्मत गरी प्रयोगमा ल्याउने र मर्मत नहुने अवस्थामा प्राविधिक पुस्ट्याइँसहित लिलाम बिक्री गर्नेतर्फ कारबाही गरिनुपर्छ,’ प्रतिवेदनमा लेखिएको छ। निर्वाचन आयोगमा ७ लाख ४६ हजार रूपैयाँ बेरुजु देखिएको थियो। प्रारम्भिक प्रतिवेदन गराएपछि १ लाख ९७ हजार फछ्र्योट भई ५ लाख ४९ हजार रूपैयाँ बेरुजु बाँकी रहेको छ।

प्रकाशित: ३० असार २०७९ ०३:०० बिहीबार

निर्वाचन आयोग