राजनीति

विद्रोह गरेर गएका नेता/कार्यकर्तालाई पार्टीमा फर्किन विप्लवको आव्हान

नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले पार्टीबाट विद्रोह गरेर गएका नेता कार्यकर्ताहरुलाई पार्टीमा फर्किन आव्हान गरेका छन्।

शुक्रबार केन्द्रीय समितिको १३ औँ पूर्ण बैठकका निर्णयहरु सार्वजनिक गर्न काठमाडौँमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै महासचिव विप्लवले पार्टीबाट विद्रोह गरी नयाँ पार्टी गठन गरेका पूर्वसचिवालय सदस्यहरु धर्मेन्द्र बास्तोला कञ्चन र हेमन्तप्रकाश वली सुदर्शनलाई पार्टीमा फर्किन आव्हान गरेका हुन्। गल्ती स्वीकार गरेर आत्मआलोचना गरी पार्टीमा फर्किन उनले आग्रह गरे।

उनले बास्तोला र कञ्चनले गठन गरेको पार्टीको डकुमेन्टमा कुनै नयाँ कुरा नभएको उल्लेख गर्दै उत्तेजना र कुण्ठाबाट क्रान्ति नहुने बताए। महासचिव विप्लवले नेपालको क्रान्तिकारी आन्दोलनलाई गोलबन्द गर्न सबैले ध्यान दिनुपर्ने बताए।

महासचिव विप्लवले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एकताको कुरा गरिराख्ने भन्दै प्रचण्डलाई पनि पुरानो ठाउँबाट फर्किन आग्रह गरे। उनले माओवादी जनतालाई मलमल र भुमरीमा नफसाई परिवर्तनतिर लैजाने गरी आएमा आफूहरु एकताका लागि तयार रहेको बताए। उनले लहैलहैमा लागेर पार्टी छाडेका कार्यकर्ताहरुलाई पनि पार्टीमा फर्किन अपील गरे।

नेपाल कम्युनिष्ट पार्टीले आगामी असोज १ गतेदेखि ८ गतेसम्म काठमाडौंमा नवौँ महाधिवेशन गर्ने भएको छ। महाधिवेशन अगाडी भदौ ५ गतेसम्म वडा र पालिका सम्मेलन तथा भदौ १५ गतेभित्र जिल्ला सम्मेलन सम्पन्न गरिने जनाइएको छ।

प्रकाशित: २० जेष्ठ २०७९ १०:१८ शुक्रबार