राजनीति

घरदैलोमा पुगेर मतदाता शिक्षा

म्याग्दीमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुँदा मत बदरको जोखिम उच्च हुने भएकाले टोल–टोलमा दलका उम्मेदवार मतदातालाई शिक्षा दिन व्यस्त छन्। नेपाली कांग्रेस र नेकपा माओवादीको गठबन्धन भएका पालिकामा झनै मत बदरको जोखिम तथा निरक्षर मतदाता अलमलमा पर्ने भएकाले उम्मेदवार तथा दलका कार्यकर्ता नै मतदाता शिक्षा कार्यक्रममा सक्रिय हुन थालेका हुन्।  

निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम नगर्दा अन्योलमा रहेका मतदातालाई मतदान गर्ने तरिका सिकाउन उम्मेदवारहरू आफैं कस्सिएको दलका कार्यकर्ताको भनाइ छ। स्थानीय तहमा प्रमुखका उम्मेदवार नै मतदातालाई कसरी मत हाल्ने भन्दै सिकाउनुपर्ने बाध्यतामा रहेका छन् भने कार्यकर्तालाई समेत परिचालन गरेका छन्।

घरदैलो अभियान सकेका उम्मेदवार मतदातालाई प्रत्यक्ष भेटेर मतदान गर्ने तरिका सिकाउनै व्यस्त बनेको नेकपा माओवादी केन्द्र बेनी नगरपालिकाकी उपमेयर उम्मेदवार ज्योती लामिछानेले बताइन्। वडाका उम्मेदवारहरूले समेत चुनाव चिह्नमा स्वस्तिक छाप लगाउन र मतपत्र पट्याउन सिकाइरहेका छन्। नमुना मतपत्रमा स्वस्तिक छाप लगाएरै उम्मेदवारले आफ्ना मतदातालाई मतदान गर्न सिकाइरहेको भए पनि समय अभावका कारण निकै दौडधुप भएको उनीहरूले बताएका छन्।  

बेनी नगरपालिका–५ वडाध्यक्षका उम्मेदवार यामबहादुर बानियाँले मत हाल्ने र मतपत्र पट्याउने तरिका सिकाइरहेको बताए। भोट कसरी हाल्ने, मतपत्र कसरी पट्याउने, सदर र बदर कस्तो अवस्थामा हुन्छ भन्ने विषयमा मतदातालाई शिक्षा दिन गठबन्धनका उम्मेदवारलाई अझै चुनौती बनेको छ। यसपटक उम्मेदवारले मतदाता शिक्षालाई धेरै चासो दिइरहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। जिल्लाका सबै स्थानीय तहमा नमुना मतदान गर्ने कार्य भए पनि समुदायमा पुगेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने अवस्था नभएको निर्वाचन अधिकृत भीमप्रसाद घिमिरेले बताए। 

प्रकाशित: २८ वैशाख २०७९ ०२:०६ बुधबार