नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको गन्तव्य नभएको बताएका छन्।
सोमबार ललितपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनको भविष्यबारे त्यसमा संलग्न दलका नेताहरुलाई केही थाहा नभएको बताए।
उनले भने, ‘शेरबहादुर देउवालाई सोध्नुस त! यो गठबन्धन के हो भनेर? उहाँ आफैले सोध्नुहुनेछ गठबन्धन भनेको के? उल्टै निहुँ खोज्या भन्नुहुन्छ। प्रचण्डलाई सोध्यो भने छोरीलाई भोट हाल्ने हो भन्छन्। माधव नेपालले अर्कै भन्लान। यिनीहरुको गन्तव्यनै केही छैन। भोली कता जाने हो? केही थाहा छैन यिनीहरुलाई।’
अध्यक्ष ओलीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीको पद मात्र चिनेको आरोप लगाए। पोखरा गएर भनिहाल्नु भयो नि गठबन्धन नभएको भए प्रधानमन्त्री हुन्नथे भनेर’, उनले भने।
ओलीले निर्वाचनपछि सत्तारुढ गठबन्धन समाप्त हुने दावी गरे। ‘अब ३० गतेपछि यो पाँच दलीय गठबन्धन बागमतीमा सलल। अब गठबन्धन चल्नेवाला छैन। यो गन्तव्य नभएको, हाटहुट, लाटलुटमा चलेको गठबन्धन हो। यसले हाम्रा पार्टीका कार्यकर्तालाई गुण्डागर्दीको शैलीमा हमला गर्छ। जनतालाई तर्साउने काम मात्रै गर्छ, निर्वाचनको बेलामा।’
प्रकाशित: २६ वैशाख २०७९ १३:२६ सोमबार