राजनीति

एकल दलित अध्यक्षकी प्रत्यासीलाई मतदाताले नै खुट्टा ढोगे

गाउँकी दलित महिला गाउँपालिका अध्यक्षको प्रत्यासी भएपछि मतदाताको खुट्टा ढोगेर बधाई दिदैं।

स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरू मतदाताको घर–घरमा पुगेर विभिन्न शैलीमा भोट मागिरहेका छन्। दलबलसहित मतदाताको घरदैलोमा पुगेका उम्मेदवारहरुको भोट माग्ने शैली पनि फरक–फरक छ। 

उम्मेदवारहरू ढोग गर्दै आर्शिवादसहित भोट माग्ने, मतदाताको खुट्टा ढोगेर दाम चढाउने,खेतबारीमा पुगेर मतदातालाई आर्कषित गर्ने, विभिन्न सामाजिक कार्यमा सघाउने तरिकाले भोट मागिरहेको दृष्य देख्न सकिन्छ। तर,म्याग्दीमा एक गाउँपालिका प्रमुखकी उम्मेदवारलाई मतदाताले नै उत्साहित भएर खुट्टा ढोगेका छन्। म्याग्दीको रघुगंगा गाउँपालिका–६,पाखापानीको फुलडाँडामा गाउँपालिका अध्यक्षका उम्मेदवार मिना विश्वकर्मालाई स्थानीयबासीले खुट्टा ढोगेर बिजयीको शुभकामना दिएका हुन्।

मतदाताको घरदैलोमा पुग्दा खुट्टा समातेर ढोगेपछि नेकपा माओवादी केन्द्रकोतर्फबाट गाउँपालिका अध्यक्ष पदमा उम्मेदवार विश्वकर्माको आँखा रसाएपछि भावुक भएकी थिईन्। सामान्य परिवारकी सदस्य गाउँपालिकाको अध्यक्षको उम्मेदवार भई मैदानमा उत्रिएपछि पिछडिएका वर्ग, दलित तथा उत्पिडित समुदायको हकहित हुने भन्दै दलित समुदाय नै उत्साहित  भएर ढोगेरै बधाई दिएका छन्। स्थानीय मतदाता र नाताले मामा पर्ने गौबहादुर विश्वकर्माले उम्मेदवारलाई हर्षित भएर खुट्टा नै ढोगेर बधाई दिएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ। विश्वकर्मा रघुगंगामा गाउँपालिका अध्यक्षमा दाबी गर्ने एक्ली महिला समेत हुन्।

मतदातालाई प्रभावमा पार्न उम्मेदवारहरुले अनौठा सपना देखाउने र क्षणिक मानमर्दन गर्ने संस्कार बढीरहेको समयमा मतदाताले उम्मेदवारलाई बधाई दिँदै खुट्टा ढोगेपछि मिनाको आँखाबाट समेत आँसु खसेको एनेकपा माओवादी केन्द्रका नेता हरि भण्डारीले बताए। ‘दलित समुदायमा उत्साह छाएको छ,‘यसपटक महिलालाई पालिकाको जिम्मा दिनुपर्छ भन्ने आवाज छ’ भण्डारीले भने। यता अध्यक्षकी प्रत्यासी विश्वकर्माले मतदाताको मायाँ र साथले जिम्मेवारी थपिएको बताईन्। ‘गरिबीको घेराबाट पालिकामा पुग्दा धेरै गरिबहरूको सेवा गर्न पाइन्छ, ‘हामी दलित समुदायको लागि यो मिठो अवसरसँगै चुनौति पनि हो’ विश्वर्माले भनिन्।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दलितको घरदैलोमा पुग्दा विश्वकर्माको भावुक भाषण गर्दा मतदाताको समेत आँसु थामिएको छैन। बेनी नगरपालिका–१० पात्लेखेत माइती भएकी मिनाको कक्षा १० पढ्दै गर्दा १७ वर्षको उमेरमा मागी विवाह भएको थियो। 

अनेरास्ववीयु क्रान्तिकारी र वाइसीएलमा आवद्ध मिना विवाहपछि राजनीतिमा निष्क्रिय थिइन्। उनका जेठा छोरा दश वर्षका छन्। तीन वर्षका छोरालाई बोकेर भोट माग्न बस्ती–बस्तीमा पुगेकी छन्। विश्वकर्मालाई श्रीमानले समेत सँगै प्रचारप्रसारमा हिँडेर साथ दिएका छन्। 

उत्पीडनको आवाज बोकेर चुनावी मैदानमा उत्रिएकी विश्वकर्मासँग नेपाली कांग्रेसका भवबहादुर एमालेका प्रेमबहादुर कार्की र स्वतन्त्र उम्मेदवार सागर भण्डारी छन्। गाउँपालिका उपाध्यक्षमा एमालेले यामकुमारी गर्बुजा, कांग्रेसले प्रेमकुमारी पुन र माओवादीले रिमबहादुर कटुवाललाई उम्मेदवार बनाएका छन्। रघुगंगामा निर्वाचित हुने ४२ पदका लागि १३५ जना चुनावी मैदानमा रहेका छन्। म्याग्दीमा तीनजना महिला उम्मेदवार छन्। धवलागिरी गाउँपालिकाको अध्यक्षमा एमालेकी थमसरा पुन र बेनी नगरपालिकाको प्रमुखमा राप्रपाकी मिनाकुमारी शर्मा उम्मेदवार बनेका छन्। वडा अध्यक्ष पदमा मंगला गाउँपालिकाको वडा नम्बर ४ मा नेकपा एमालेले लक्ष्मी बुढाथोकी र माओवादी केन्द्रले मनमाया चोचाङ्गीलाई उम्मेदवार बनाएका छन्। 

दलित समुदायबाट वडा अध्यक्षमा धवलागिरी गाउँपालिका–२ लुलाङमा एमालेका अकप्रसाद विक र मालिका गाउँपालिका–२ रुममा माओवादीका हर्कलाल दर्जी वडा अध्यक्षको उम्मेदवार बनेका छन्। ६ वटा स्थानीय तह, ४५ वटा वडा रहेको म्याग्दीमा निर्वाचित हुने २३७ पदका लागि ७१८ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्। माओवादी केन्द्रले मंगला गाउँपालिकाको अध्यक्षमा टेकबहादुर विश्वकर्मालाई उम्मेदवार बनाएको छ।  

दलित समुदायबाट प्रमुख पदमा टेकबहादुर र मिना दुई जना मात्र उम्मेदवार हुन्। धवलागिरी गाउँपालिकाको वडा नम्बर १ गुर्जामा अध्यक्षसहित तीन सदस्यमा माओवादी केन्द्र र एक सदस्यमा स्वतन्त्र उम्मेदवार निर्बिरोध भएका छन्। एमाले सबै स्थानीय तहमा एकल प्रतिस्पर्धामा उत्रिएको छ। नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले बेनी नगरपालिका, धवलागिरी र अन्नपूर्ण गाउँपालिकामा तालमेल गरेका छन्। चारजना गाउँपालिकाका अध्यक्ष र १७ जना वडा अध्यक्ष एकै पदमा दोहोरिएर उम्मेदवार बनेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रकाशित: २० वैशाख २०७९ ११:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App