राजनीति

कपिलवस्तुमा २० मतदानस्थल अति संवेदनशील

निर्वाचनमा ३७ सय बढी कर्मचारी र ४ हजार बढी सुरक्षाकर्मी खटाइने

कपिलवस्तुमा २० मतदानस्थल सुरक्षाको दृष्टिकाेणले अति संवेदनशील सूचीमा राखिएको छ। जिल्ला सुरक्षा समितिले मतदानको समय र त्यसअघि हुन सक्ने घटनालाई मध्यनजर गरी २० मतदानस्थललाई अति संवेदनशील सूचीमा राखेको हो।

प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्राले जिल्लामा रहेका २ सय ३५ मतदानस्थललाई सुरक्षाका दृष्टिकोणले तीन तहमा वर्गीकरण गरिएको बताए। जिल्ला सुरक्षा समितिले निर्वाचनस्थलको निरीक्षण अनुगमनपछि स्थलहरुलाई वर्गीकरण गरेको हो।

जिल्लामा विगतका निर्वाचनमा भएका गतिविधि, सुरक्षा संवेदनशीलता लगायतका विषयमा छलफल गरी मतदान स्थलको वर्गीकरण गरिएको बताए। ‘पहिला भएका निर्वाचनमा देखिएका गतिविधि र अब हुनसक्ने गतिविधिलाई आधार बनाई वर्गीकरण गरिएको हो,’ उनले भने।

समितिले ६२ लाई संवेदनशील, र १ सय ५३ मतदानस्थललाई सामान्यको सूचीमा राखेको छ। प्रजिअ मिश्राले निर्वाचनस्थलको निरीक्षणपछि मतदान स्थलको सूची निर्धारण गरिएको बताए। जिल्लाका १० पालिकामा ४ सय ६८ मतदान केन्द्र कायम गरिएका छन्।

केन्द्रमा निर्वाचनका लागि ३ हजार ७४१ कर्मचारीहरु परिचालन गरिने जिल्ला निर्वाचन अधिकारी ज्ञानुराज पन्थीले बताए। प्रत्येक केन्द्रमा तीन जना स्वयंसेवक कर्मचारी स्थानीयरूपमा नै नियुक्त गरिने छ। उनका अनुसार निर्वाचनका लागि कर्मचारी माग गरिएको कर्मचारीहरुको सूची समेत आइसकेको छ।

सो कर्मचारीहरुको सूची जिल्ला प्रमुख निर्वाचन अधिकारीलाई पठाइएको छ। यही चैत २९ गते निर्वाचन अधिकृत नियुक्ति गर्ने तथा आगामी वैशाख ३ र ४ गते अधिकृतहरूलाई तालिम दिइने छ। वैशाख ८ गते सात पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने छ। उता निर्वाचनमा सुरक्षालाई विशेष ध्यान दिइएको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए।

निर्वाचनलाई स्वच्छ र भय रहित बनाउन आफूहरुले भरपर्दो सुरक्षा व्यवस्था मिलाउने उनले बताए। निर्वाचनमा म्यादी, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी ४ हजार बढी सुरक्षाकर्मी परिचालन हुनेछन्। कपिलवस्तुमा २१ साना र ६ ठूला दल गरी कुल २७ दल मतदानमा सहभागी हुनेछन्।

कुन पालिकामा कति मतदाता?  

जिल्लाका १० वटा पालिका मध्ये सबैभन्दा बढी वाणगंगा नगरपालिकामा छन्। वाणगंगामा ६१ हजार १७७ मतदाता छन्। त्यहाँ ३० मतदानस्थल र ७३ मतदान केन्द्र छन्। दोश्रो ३१ मतदान स्थल र ५९ केन्द्र कायम गरिएको कपिलवस्तु नगरपालिकामा ४७ हजार ८० मतदाता छन्।

यस्तै ३० मतदानस्थल र ५७ केन्द्र रहेको बुद्धभूमि नगरपालिकामा ४५ हजार ३४१ मतदाता छन्। २५ मतदानस्थल र ५५ केन्द्र कायम गरिएको शिवराज नगरपालिकामा ४ हजार ४४८ मतदाता छन्। २४ मतदानस्थल र ४८ मतदान केन्द्र रहेको कृष्णगनर नगरपालिकामा ३६ हजार ८८३ मतदाता छन्। २३ मतदानस्थल र ४१ केन्द्र रहेको महाराजगंज नगरपालिकामा ३२ हजार २२१ मतदाता छन्।

२२ मतदानस्थल र ३९ केन्द्र रहेको मायादेवी गाउँपालिकामा ३१ हजार १६ मतदाता छन्। १७ मतदानस्थल र ३५ केन्द्र रहेको सुद्धोदन गाउँपालिकामा २७ हजार ७७५ मतदाता छन्। १८ मतदानस्थल र ३० केन्द्र रहेको विजयनगर गाउँपालिकामा २३ हजार ८०२ मतदाता छन्। यस्तै १५ मतदानस्थल र २९ केन्द्र रहेको यशोधरा गाउँपालिकामा २३ हजार २४७ मतदाता छन्।

विगतलाई फर्केर अघिल्लो निर्वाचनमा कुन पालिकामा कसको मत कति?

१. कपिलवस्तु नगरपालिका– कांग्रेस (९,२५४), स्वतन्त्र अहिले एमाले (५,६३१), संघीय समाजवादी (४,०५४)

२. कृष्णनगर नगरपालिका– स्वतन्त्र अहिले कांग्रेस (७,१७८), माओवादी (३,०८०), राप्रपा (२,४३०)

३. वाणगंगा नगरपालिका– कांग्रेस (१५,७३८), एमाले (१५,२७८), जनमोर्चा (४०४)

४. बुद्धभूमि नगरपालिका– कांग्रेस (१०,०६३), एमाले (९,९२६), संघीय समाजवादी (१,७८२), माओवादी (१,५६३)

५. महाराजगंज नगरपालिका– कांग्रेस (७,७२४), स्वतन्त्र अहिले कांग्रेस (६,७४५), राप्रपा (७४९)

६. मायादेवी गाउँपालिका– संघीय समाजवादी (४,७११), कांग्रेस (३,३५२), मधेसी जनअधिकार फोरम लाकतान्त्रिक (१,९५८)

७. यसोधरा गाउँपालिका– कांग्रेस (३,२७५), स्वतन्त्र अहिले कांग्रेस  (३,१५५), नयाँ शक्ति (२,२०३)

८. विजयनगर गाउँपालिका– एमाले (३,५१२), स्वतन्त्र अहिले कांग्रेस (३,२८४), स्वतन्त्र (१,६०५)

९. शिवराज नगरपालिका– एमाले (६,१५५), संघीय समाजवादी (४,७६२), राप्रपा (२,६७१)

१०. शुद्धोधन गाउँपालिका– स्वतन्त्र अहिले सघीय समाजवादी (१,८३७), स्वतन्त्र (१,७६३), मधेसी जनअधिकार लाकतान्त्रिक (१,७३८)

प्रकाशित: २६ चैत्र २०७८ ११:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App