राजनीति

गुणस्तरीय स्वास्थ्य सेवा विकासको पहिलो सर्त हो: प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य विज्ञानको क्षेत्रमा अन्तर्राष्ट्रियस्तरको अध्ययन अनुसन्धानलाई प्रवर्द्धन गरी मुलुकका लागि आवश्यक दक्ष स्वास्थ्य जनशक्ति उत्पादनमा जोड दिन आवश्यक रहेको बताएका छन्।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पाँचौँ सभामा उनले प्रतिष्ठानले गण्डकी प्रदेशका नागरिकका लागि गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनुका साथै सहज र सुलभरूपमा चिकित्सा शिक्षाको अध्ययन अध्यापनको अवसरसमेत प्रदान गर्दै आएको उल्लेख गरे।

विसं २०१३ सालमा स्थानीय तहमा सोल्जर बोर्ड अस्पतालका रूपमा स्थापना भएको उक्त अस्पताल ५०० शय्यामा स्तरोन्नति भएको छ। प्रधानमन्त्री देउवाले भने, 'प्रतिष्ठानले चिकित्सा शास्त्रमा दक्ष जनशक्ति उत्पादन गर्ने प्रतिष्ठानका रूपमा समेत आफूलाई उभ्याउन सकेकोमा मलाई खुसी लागेको छ।'

गुणस्तरीय स्वास्थ्य सेवा विकासको पहिलो सर्त भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले स्वस्थ र निरोगी नागरिकबाट नै मुलुकको आर्थिक सामाजिक रूपान्तरण सम्भव रहेको बताए।

प्रतिष्ठानले आम जनसमुदायलाई पुर्‍याउँदै आएको स्वास्थ्य सेवालाई आगामी दिनमा थप स्तरीय र चुस्त बनाई अस्पतालको सेवामा बढीभन्दा बढी जनताको पहुँच विस्तार गर्न आवश्यक रहेको बताउँदै प्रधानमन्त्री देउवाले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ बाट सङ्क्रमितहरूको परीक्षण र उपचारका लागि यस प्रतिष्ठानले पुर्‍याएको सेवा प्रशंसनीय रहेको उल्लेख गरे।

प्रतिष्ठानलाई आवश्यक पर्ने सहयोग निरन्तररूपमा उपलब्ध गराउन सरकार सकारात्मक रहेको बताउँदै उनले पूर्वाधारहरूको विकास गरी अस्पतालको सेवालाई अझ गुणस्तरीय र प्रभावकारी बनाउन सुझाव दिए। रासस

प्रकाशित: २४ चैत्र २०७८ ००:३२ बिहीबार

प्रधानमन्त्री शेरबहादुर देउवा