राजनीति

उम्मेदवार सिफारिसमा कांग्रेस केन्द्रित

नेपाली कांग्रेस आगामी वैशाख ३० हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोटमा जुटेको छ। कांग्रेसले आसन्न निर्वाचनमा केन्द्रित हुन गत फागुन २९ बाट थालिएको एकमहिने कार्यक्रम पनि स्थगन गरेको छ। पार्टी केन्द्रीय समितिले वैशाख १ गतेभित्र प्रदेश समितिबाट नाम सिफारिस गर्न निर्देशन गरेपछि कांग्रेसले ‘घरघर जाऔं कांग्रेस जिताऔं अभियानअन्तर्गतको एकमहिने कार्यक्रम स्थगन गरेको हो ।

सत्ता गठबन्धनमा रहेका राजनीतिक दलसँग स्थानीय तहको निर्वाचनमा स्थानीय आवश्यकताअनुसार तालमेल गर्ने निर्णयपछि तल्ला तहमा आकांक्षीको संख्या निकै बढेको छ। पार्टीले निर्वाचनमा उम्मेदवार बनाए निश्चित रूपमा निर्वाचित हुने बुझाइमा कारण एउटै वडामा पनि अध्यक्षका लागि डेढदेखि दुई दर्जन आकांक्षी छन्।

पार्टीको मंसिरमा सम्पन्न १४औं महाधिवेशनमा तल्लो तहबाटै भएको गुटगत प्रतिस्पर्धाको असर पनि स्थानीय तहको निर्वाचनमा पर्ने देखिएको छ। कांग्रेसको निर्देशनअनुसार वडा कार्यसमितिले चैत २१, पालिकाले चैत २३, प्रदेशसभा निर्वाचन क्षेत्रले चैत २५, प्रतिनिधिसभा निर्वाचन क्षेत्रले चैत २७, जिल्लाले चैत २९ र प्रदेशले वैशाख १ गतेसम्म उम्मेदवारको टुंगो लगाएर नामावली पठाउनुपर्ने स्थिति छ।

कांग्रेस विधानले प्रदेश संसदीय समितिलाई उपमहानगर र नगरपालिका प्रमुख–उपप्रमुख, जिल्ला संसदीय समितिलाई गाउँपालिका अध्यक्ष–उपाध्यक्ष र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय संसदीय समितिलाई गाउँ, नगर वडाध्यक्ष तथा सदस्यको उम्मेदवारी टुंगो लगाउने व्यवस्था गरेको छ। केन्द्रीय समितिले गठन गर्ने संसदीय समितिलाई स्थानीय तहको निर्वाचनमा महानगरका प्रमुख–उपप्रमुखको मात्रै टिकट वितरण गर्ने अधिकार विधानले दिएको छ।

कांग्रेसले सत्ता गठबन्धनमा रहेका दलहरूबीचको निर्णयअनुसार स्थानीय तह निर्वाचनमा जिल्लाको राजनीतिक वस्तुस्थितिबारे चैत २२ गते मंगलबारसम्म प्रतिवेदन पठाउन निर्देशन दिएको छ। गठबन्धनको बैठकले सबै तहमा सत्ता साझेदार राजनीतिक दलका नेता सम्मिलित संयन्त्र गठनको कार्यलाई पनि तीव्र बनाएको छ।

प्रकाशित: २२ चैत्र २०७८ ०१:०९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App