राजनीति

मधेसमा कार्यकर्ता तान्न होडबाजी

स्थानीय तहको निर्वाचन नजिकएसँगै मधेस प्रदेशमा राजनीतिक दलले चुनावी गतिविधि तीव्र पारेका छन्। 

विभिन्न दलका शीर्ष नेताहरूले निर्वाचनमा आ–आफ्नो जित सुनिश्ति भएको दाबी गरिरहेका छन्। चैतको सुरूआतसँगै मधेसमा पार्टी प्रवेशको लहर चलेको छ। चुनावमा उम्मेदवार बनाएर जिताउनेसम्मका आश्वासन दिएर अर्को पार्टीका नेता–कार्यकर्ता तान्न शीर्ष नेता नै सक्रिय बनेका छन्। एमाले, कांग्रेस, माओवादी केन्द्र, जसपा, लोसपा, नेकपा एकीकृत समाजवादी, राप्रपाबीच कार्यकर्ता तान्ने होडबाजी चलेको छ। पार्टी प्रवेशको लहरलाई निर्वाचनसँग जोडेर हेरिएको छ।

नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका दलले मधेसमा बढी ध्यान दिएका छन्। अहिले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मधेस दौडाहामा छन्।

उनी पार्टी प्रवेश गरनउजे कार्यक्रममा केन्द्रित देखिन्छन्। यादवले बुधाबार सप्तरीको राजविराजमा नेकपा एमालेकी नेत्री रञ्जु ठाकुरलाई जसपामा भित्र्याए। एमालेको समानुपातिक कोटाबाट संविधानसभा सदस्य भएकी ठाकुर महिला, बालबालिका, ज्येष्ठ नागरिक समितिको सभापतिसमेत भएकी थिइन्। ठाकुरसँगै सप्तरी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अरुण प्रधान पनि जसपामा प्रवेश गरेका छन्।

फागुन २८ गते वीरगन्ज महानगरपालिका प्रमुख विजय सराबगीलाई एमाले अध्यक्ष ओलीले आफ्नो पार्टीमा भिœयाएका थिए। सराबगी जसपा छाडेर एमालेमा गएका हुन्। सराबगी एमालेमा गएपछि जसपाले लोसपाका नेता राजेशमान सिंहलाई आफ्नो पार्टीमा भित्र्याएको छ। जसपाले सिंहलाई वीरगन्ज महानगरपालिकाको मेयर उम्मेदबार बनाएर जिताउनेसम्मको आश्वासन दिएर भित्राएको बताइन्छ।

राजनीतिकर्मी खुशीलाल मण्डल चुनावको बेला दलबदल हुनु नौलो कुरा नभएको बताउँछन्। राजनीतिक दलका शीर्ष नेताहरूले नैतिकता देखाउन छोडेका बेला सत्ताको लोभले नेत–कार्यकर्ता पार्टी छोड्नु, नयाँमा प्रवेश गर्नु नौलो कुरा नभएको उनी बताउँछन्।

दलका नेता–कार्यकर्ताले सिद्धान्त र नीतिभन्दा व्यक्तिगत स्वार्थ हेर्न थालेको उनी बताउँछन्। ‘जब राजनीतिक मूल्यमान्यता सकिँदै जान्छ, नेताहरूले आफ्नो स्वार्थ मात्रै हेर्छन्,’ राजनीतिकर्मी मण्डल भन्छन्, ‘उनीहरूलाई पार्टीको विचार, सिद्धान्तले केही फरक पार्दैन।’ आफ्नो छवि बिग्रँदै गएपछि र जनताले रुचाउन छोडेपछि चुनावको मुखमा पार्टी फेर्नुले जय पराजयमा खासै अर्थ नराख्ने उनको विश्लेषण छ।

यसैबीच जनकपुरधामको तिरहुतिया गाछीमा मंगलबार मधेस प्रदेशका अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले माओवादीले हारे देश, सहिदका सपना र र संघीय लोकतान्त्रिक गणतन्त्रले हार्ने जिकिर गरेका थिए। ‘माओवादीले लडेर नै संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल सम्भव भएको हो,’ दाहालले भने, ‘समानुपातिक, समावेशितालगायतका उपलब्धि प्रतिक्रन्तिकारी शक्ति र विदेशी शक्तिहरू एकजुट भएर उल्टाउन खोज्दैछन्। माओवादीलाई जसरी पनि सिध्याउने रणनीति छ। प्राप्त उपलब्धिहरूको रक्षा गर्न माओवादीले जित्नैपर्छ।’

दाहालले अरुका लागि निर्वाचन भए पनि आफ्ना निम्ति एक प्रकारको ‘ब्याटल’ भएको बताए। उनले स्थानीय तहको निर्वाचनलाई चुनावी युद्धको रुपमा लिन कार्यकर्तालाई अपिल गरे। उनले भने, ‘आगामी स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा युद्धस्तरमा लाग्नुहोस्।’

स्थानीय तह निर्वाचनमा सत्ताधारी गठबन्धन दल तालमेल गरेर जाने निश्चित नभएकाले एक्लै पनि कसरी जित हासिल गर्न सकिन्छ भन्नेतर्फ लाग्न पनि उनले कार्यकर्तालाई निर्देशन दिए। ‘एक्लै लडाइँका लागि आफूलाई तयार पार्नुस्,’ दाहालले भने, ‘गठबन्धन हुन्छ र चुनाव जितौंला भन्ने मानसिकता बदल्नुस्। एक्लै कसरी चुनाव जित्ने हो त्यातातिर पूरै शक्ति लगाउनुस्,’ उनले भने। तर उनले आफू तालमेलको विरोधी नभएको बताए।

दाहालले मधेसमा संघीयता र समानुपातिक समावेशीको पक्षमा जबर्जस्त जनमत रहेको दाबी गरे। उनले भने, ‘तर मधेसमा कसरी संघीयता, गणतन्त्र, समावेशीविरोधी शक्तिलाई बलियो बनाउने भनेर देशभित्रका प्रतिक्रान्तिकारी र देश बाहिरका प्रतिक्रियावादीबीच निकै ठुलो साँठगाँठ देखिएको छ। यो साँठगाँठ चिर्नुपर्छ।’  

दाहालले प्रतिगमनकारी शक्तिविरुद्ध गाउँ–गाउँ गएर जनतालाई खबरदारी गर्न नेता–कार्यकर्तालाई निर्देशन दिए। उनले नेकपा एमालेतिर संकेत गर्दै भने, ‘प्रतिगमनकारी, विघटनकारीले जित्ने कि क्रान्तिकारीले जित्ने भन्ने ब्याटल हो स्थानीय तहको निर्वाचन। गत वर्ष हामीले लडेर प्रतिगमन हुनबाट देशलाई बचाएकै हो। प्रतिक्रान्तिकारीहरू पूरै पराजित भइनसकेकाले अब जनताको बलमा परास्त गर्नुपर्नेछ।’

मधेस र मधेसी जनताप्रति अनुग्रहित हुँदै दहालले भने, ‘संघीयताको जननी र संरक्षक मधेसी जनता नै हो। देशमा भएको ठुल्ठुलो परिवर्तनमा मधेसी जनताको महत्वपूर्ण योगदान स्मरणीय छ।’

प्रकाशित: १० चैत्र २०७८ ००:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App