राजनीति

सार्वजनिक लेखा समितिको प्रतिवेदन पारित

फाइल तस्बिर।

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले आफ्नो २१ औँ वार्षिक प्रतिवेदन २०७८ (मस्यौदा) पारित गरेको छ।

आज सिंहदरबारमा बसेको समितिको बैठकले २१ औँ वार्षिक प्रतिवेदन २०७८ (मस्यौदा) समितिबाट पारित गरेको हो। समितिको बैठकपछि बोल्दै समितिका सचिव डा. रोजनाथ पाण्डेले समितिले गरेका काम कारबाहीहरुको वार्षिक प्रतिवेदन सदनमा पेस गर्ने उद्देश्यले मस्यौदा प्रतिवेदन पारित गरिएको जानकारी दिए।

उनले प्रतिवेदनमा नौं वटा उपसमितिहरुले गरेका बेरुजु फर्छ्यौटका कामहरु समावेश गरिएको बताए। सचिव पाण्डेले प्रतिवेदनमा समितिले समसामयिक विषयहरुमा गरेका निर्णयहरु, गण्डकी प्रदेशको कालीगण्डकी करिडोरलगायत त्यस आसपासमा रहेका राष्ट्रिय गौरवका आयोजनाहरुको निरिक्षणलगायतका कुराहरु यसमा समावेश रहेको बताए।

सचिव पाण्डेले समितिको उक्त प्रतिवेदन अनुमोदनका लागि सदनमा पेश गर्नका लागि प्रस्ताव गर्ने पनि बताए। उनले फास्ट ट्रयाकसम्बन्धी प्रतिवेदन यसअघिकै प्रतिवेदनमा संलग्न भइसकेको र पछिल्लो समय नेपाली सेनाले पुनः विचारको लागि रक्षा मन्त्रालयमा अनुरोध गरेकोले अहिले उक्त प्रतिवेदन समितिमा विचारधीन अवस्थामा रहेको पनि बताए।

प्रकाशित: २० फाल्गुन २०७८ ०८:०६ शुक्रबार