राजनीति

एमसिसीविरुद्ध ताप्लेजुङमा मसाल जुलुस

अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) विरुद्ध हिमाली जिल्ला ताप्लेजुङमा मसाल जुलुस प्रदर्शन गरिएको छ।

संयुक्त मोर्चाले नेपाल कम्युनिन्ट पार्टीको जिमीपोखरीस्थित पार्टी कार्यालयबाट बुधबार साँझ मसाल जुलुस निकालेको हो।

जुलुसका सहभागीले बोकेको मसाललाई प्रहरीले वीरेन्द्र चोकआसपासमा नियन्त्रणमा लिए पनि जुलुस भने अघि बढेको थियो । एमसिसी चाहिँदैन, राष्ट्रघाती काम गर्न पाइँदैन, गो ब्याक अमेरिका, गो ब्याक’ नारा लगाउँदै संयुक्त मोर्चाले र्‍याली निकालेको आयोजकले बताएका छन्।

नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी असल पन्दाकले एमसिसी राष्ट्रघाती कदम भएको र सरकार त्यसलाई अनुमोदन गरी कार्यान्वयनमा लैजाने गलत योजनामा रहेकाले खबरदारी स्वरूप मसाल जुलुस निकालिएको बताए।

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका सुरज ओझाले एमसिसी जनहितविपरीत र राष्ट्रघाती भएकाले यसविरुद्ध आम नेपाली एकजुट हुनुपर्ने बताए। एमसिसीले अफ्रिका, ल्याटिन अमेरिका र एसिया महादेशमा गरी २४ देशमा सहकार्य गरिरहेको छ।

प्रकाशित: २७ माघ २०७८ ०१:१२ बिहीबार

एमसिसी