राजनीति

एमालेले गुमायो ७ सिट गठबन्धनका १८ विजयी

राष्ट्रियसभाका १९ सदस्यका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनका एक उम्मेदवार चुकेका छन्। सातै प्रदेशको बुधबार साँझ आएको परिणाममा प्रदेश नम्बर १ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका हेमराज राई पराजित भएका हुन्।

जनता समाजवादी पार्टीबाट अल्पसंख्यक कोटामा उम्मेदवार बनेका राईलाई प्रमुख प्रतिपक्षी एमालेबाट उम्मेदवार बनेका सोनाम ग्याल्जेन शेर्पाले पराजित गरेका छन्। शेर्पाले प्रदेशसभाका ४२ जना र स्थानीय तहका १ सय ५२ जना जनप्रतिनिधिको मतसहित ४ हजार ७ सय ५२ मतभार प्राप्त गर्दा गठबन्धनका राई प्रदेशसभाका ४९ र स्थानीय तहका १ सय १३ जनाको मतसहित कुल मतभार ४ हजार ३ सय ८६ मा समेटिए।

अन्य १८ पदमा भने गठबन्धनतर्फका उम्मेदवार निर्वाचित भएका छन्। यससँगै प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्रियसभाको सात सिट गुमाएको छ। फागुन २० गतेबाट रिक्त हुन लागेका १९ सिटका लागि बुधबार निर्वाचन भएको हो।

२०७४ मा भएको निर्वाचनपछि गोलाप्रथाबाट राष्ट्रियसभाका एकतिहाइ सदस्यको कार्यकाल २, एक तिहाइको ४ र बाँकी एकतिहाइको ६ वर्ष कायम गरिएको थियो। सोही अनुसार एमालेबाट ८, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट ४/४, नेपाली कांग्रेसबाट ३ र मनोनीत एकजना सदस्यको कार्यकाल फागुन २० मा सकिँदैछ।

बुधबार साँझ आएको परिणामअनुसार प्रदेश नम्बर १ मा खुलातर्फ एक पदका लागि भएको निर्वाचनमा सत्ता गठबन्धन र एमाले उम्मेदवारको बराबरी मत परेको थियो। गोलाप्रथाबाट भएको अन्तिम निर्णयमा गठबन्धनका उम्मेदवार गोपाल बस्नेत निर्वाचित भएका छन्।

एमालेका गुरु बराल पराजित भए। बस्नेत र बराल दुवैले ४ हजार ४ सय ८८ मत पाएका थिए। प्रदेश १ बाट गठबन्धनकी उम्मेदवार जयन्ती राई निर्वाचित भएकी छन्। उनी नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बनेकी थिइन्।

त्यस्तै मधेश प्रदेशमा सत्ता गठबन्धनका मोहम्मद खलिद सिद्दिकी र उर्मिला अर्याल निर्वाचित भएका छन्। जनता समाजवादी पार्टीबाट उम्मेदवार बनेका सिद्दिकी ६ हजार ६ सय ७८ र माओवादी केन्द्रकी अर्याल ६ हजार १ सय ५६ मतभारसहित निर्वाचित भएका छन्।

वाग्मतीबाट नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेल र नेकपा एकीकृत समाजवादीकी गोमादेवी तिमल्सिना विजयी भएका छन्। पौडेलले ४ हजार ७ सय ९४ मतभार र तिमल्सिनाले ४ हजार ८ सय २४ मतभार प्राप्त गरे।

 बस्नेत र पौडेललाई २०७४ को निर्वाचनपछि तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले राष्ट्रियसभा सदस्यमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। राष्ट्रपतिले त्यसलाई रोक्दै एमाले नेतृत्वमा नयाँ सरकार गठनपछि गरेको सिफारिस कार्यान्वयन गर्दा उनीहरू राष्ट्रियसभामा जानबाट रोकिएका थिए।

गण्डकीबाट पनि गठबन्धनका तीनैजना उम्मेदवार विजयी भएका छन्। विजयी हुनेहरूमा कांग्रेसका कमला पन्त, माओवादी केन्द्रका सुरेश आले मगर र भुवन सुनार छन्। पन्तले ३ हजार ८४, आले मगरले ३ हजार ९६ र सुनारले ३ हजार ४८ मतभार पाए।

लुम्बिनी प्रदेशमा तीन पदका लागि भएको निर्वाचनमा नेकपा एकीकृत समाजवादीबाट उम्मेदवार बनेकी राजेन्द्रलक्ष्मी गैरे, राष्ट्रिय जनमोर्चाबाट उम्मेदवार बनेका तुलप्रसाद विश्वकर्मा र कांग्रेसबाट उम्मेदवार बनेका युवराज शर्मा निर्वाचित भएका छन्। उनीहरूले प्रत्येकले ४ हजार ३ सय ७४ मतभार पाएका छन्। योसँगै राष्ट्रियसभामा राष्ट्रिय जनमोर्चाको पनि उपस्थिति भएको छ।

कर्णाली प्रदेशमा सत्तारूढ गठबन्धनका उम्मेदवारहरू दुर्गा गुरूङ, नरबहादुर बिष्ट र उदय बोहरा निर्वाचित भएका छन्।

२ हजार ९ सय ७० मतभार ल्याएका गुरुङ कांग्रेसबाट, ३ हजार ६ मत पाएका बिष्ट माओवादी केन्द्रबाट र ३ हजार ६ मतभार पाएका बोहरा एकीकृत समाजवादीबाट उम्मेदवार बनेका हुन्। सुदूरपश्चिम प्रदेशमा कांग्रेसका नारायणदत्त मिश्र, एकीकृत समाजवादीकी मदनकुमारी शाह (गरिमा) र माओवादी केन्द्रका जगत पार्की विजयी भएका छन्।

रिक्त सदस्य पदका लागि सातै प्रदेशको प्रतिनिधित्व हुनेगरी महिला, दलित, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य गरी जम्मा १९ पदका लागि चुनाव भएको हो। त्यसमध्ये महिला ७ जना, दलित ३ जना, अपांगता भएका व्यक्तिबाट २ जना र अन्य ७ जना निर्वाचित भएका छन्।

राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभाका ५ सय ३२ जना सदस्य र पालिकाका प्रमुख, उपप्रमुख गरी १४ सय ९३ जना मतदाता रहेका थिए। प्रदेशसभाका सदस्यको मतभार ४८ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको मतभार १८ राखिएको छ। १९ पदका लागि ४३ नेता प्रतिस्पर्धामा थिए। मतदानमा १८ जनप्रतिनिधि अनुपस्थित रहेको निर्वाचन आयोगले जनाएको छ। निर्वाचित सबैको कार्यकाल ६ वर्षको हुनेछ।

प्रकाशित: १३ माघ २०७८ ०१:५५ बिहीबार

राष्ट्रियसभाका १९ सदस्य निर्वाचन जनता समाजवादी पार्टी