राजनीति

एमाले अधिवेशनमा सहमति प्रयास, चौधरी नेतृत्वमा अध्यक्ष मण्डल

शुक्रबार सुरु नेकपा (एमाले)को जिल्ला अधिवेशनले सर्वसम्मत नेतृत्व चयनका लागि प्रयास थालेको छ। सदरमुकाम गाईघाटमा सुरु अधिवेशनको खुल्ला सत्र सकिएलगत्तै नयाँ नेतृत्व चयनका लागि अध्यक्ष मण्डल गठन गरेर सर्वसम्मतको प्रयास थालिएको हो।

पार्टी पोलिटव्युरो सदस्य तथा जिल्ला इन्चार्ज मन्जुकुमारी चौधरीको नेतृत्वमा अध्यक्ष मण्डल घोषणा भएको छ। स्थानीय होटल टाउनहलको सभाकक्षमा सम्पन्न खुल्ला सत्रमा स्थायी समिति सदस्य राजेन्द्र गौतमदेखि पोलिटव्युरो सदस्य चौधरी, केन्द्रीय सदस्य अम्बिका थापा, प्रदेश सदस्यहरु, पूर्व अध्यक्षहरुलगायत सबैले सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने भनाइ राखेका थिए।

सबैको चाहना र भावना अनुसार नेतृत्व सर्वसम्मत चयन गर्न सहमति खोज्ने गरी अध्यक्ष मण्डल घोषणा गर्दै अधिवेशन शुक्रबारका लागि स्थगित भएको छ।

अध्यक्ष मण्डलमा केन्द्रीय सदस्य अम्बिका थापा, अघिल्लो अधिवेशनमा अध्यक्षका पराजित उम्मेदवार दुर्गाकुमार थापालगायत ९ सदस्य रहेको पार्टी अध्यक्ष इश्वरमणि राउतले बताए। पार्टी नेतृत्व चयन गर्दा सर्वसम्मत गर्ने प्रयास अध्यक्ष मण्डलले गर्ने गरी प्रयास सुरु भइसकेको जिल्ला कमिटी अध्यक्ष इश्वरमणि राउतले बताए।

पार्टीमा गुटगत प्रबृत्तिको अन्त्य गर्न र एकढिक्का छ भन्ने देखाउन अधिवेशनमा सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने तल्लोदेखि माथिल्लो तहसम्मका नेता कार्यकर्ताको धारणा रहेको उनले बताए। पूर्व अध्यक्ष बेदप्रसाद पोखरेलले सर्वसम्मत नेतृत्व चयनका लागि सबैको जोड रहेको भन्दै त्यस्कै लागि प्रयास जारी रहेको बताए।

कोही सर्वसम्मत नेतृत्व लिने दाउमा र कोही चुनावी प्रतिस्पर्धा गरेरै भए पनि अध्यक्ष हुने प्रयासमा देखिएका छन्। त्यसका लागि उनीहरुले समूह बनाएर र एकल उम्मेदवारी घोषणासमेत गर्न भ्याईसकेका छन्। अघिवेशन सुरु हुनअघि नै अध्यक्षका लागि वर्तमान सचिव प्रमेश घिमिरे, सचिवालय सदस्यहरु कुशल बस्नेत र कालु लामाले उम्मेदवारी घोषणा गरिसकेका छन्। बर्तमान अध्यक्ष इश्वरमणि राउत, उपाध्यक्ष बिमल कार्की, जिल्ला समन्वय प्रम्ुख खड्ग परियार, गोपाल खत्री पनि अध्यक्षका दाबेदार हुन्।

राउत, परियार, खत्री सर्वसम्मतकै पक्षमा अध्यक्ष हुन खोजिरहेका छन् भने कार्की सर्वसम्मत वा चुनाव कुनैको पक्षमा नदेखिए पनि अध्यक्ष हुने आकांक्षी हुन्।  

प्रकाशित: २३ पुस २०७८ १३:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App