राजनीति

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको दायित्व, सम्पत्ति, श्रेष्तालगायत हस्तान्तरण हुने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकले प्राधिकरण अन्तर्गत भैरहेका कार्य तथा हक, दायित्व, सम्पत्ति, श्रेष्ता, कागजात तथा विवरणको हस्तान्तरण सम्बन्धमा पनि निर्णय गरेको छ।

प्रधानमन्त्री एवं प्राधिकरण निर्देशक समितिका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा बसेको निर्देशक समितिको २१ औं बैठकले सो निर्णय भएको हो। यो निणय कार्यान्वयनसँगै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट हस्तान्तरण भई विभिन्न मन्त्रालय, विभाग एवं निकायहरु मार्फत सम्पादन भैरहेका पुनर्निर्माण तथा पुनर्स्थापना सम्बन्धी कार्यहरुको सहजीकरण, समन्वय तथा अनुगमन सम्बन्धी कार्यहरु अब राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमार्फत् हुने भएको छ।

त्यसैगरी, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गतको चालु र पुँजीगत खर्चको आव ०७८÷०७९ को एकीकृत आर्थिक विवरण तयार गर्ने कार्य तथा लेखा परीक्षण सम्बन्धी कार्यहरुको जिम्मेवारी पनि यसै प्राधिकरणलाई दिइएको छ। यसका साथै विश्व बैँकसँगको सम्झौता बमोजिम कार्यान्वयन भैरहेका भूकम्पीय आवास पुनर्निर्माण आयोजना तथा एमडिटिएफसँग सम्बन्धित प्राविधिक सहयोग, सोधभर्ना र प्रतिवेदन सम्बन्धि कार्य पनि अब राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हेर्नेछ।

हाल पुनर्निर्माण प्राधिकरणले प्रत्यक्ष हेरिरहेको धरहरा, सिंहदरबार, रानीपोखरीको शान्तिबाटिका खण्ड, हरिहर भवन तथा नारायणहिटी संग्रहालय अन्तर्गतको रणोद्विप दरबारको भौतिक निर्माणको कार्य शहरी विकास मन्त्रालय अन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागले हेर्नेछ भने पुनर्निर्माण सम्पन्न भएको रानीपोखरी काठमाडौँ महानगरपालिकाको कार्यालयलाई हस्तान्तरण हुनेछ।

केन्द्रीय आयोजना कार्यन्वयन इकाई (भवन), केन्द्रीय आयोजना कार्यन्वयन इकाई (शिक्षा) र केन्द्रीय आयोजना कार्यन्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) अन्तर्गत सम्बन्धित श्रेष्ता तथा कागजात सम्बन्धित मन्त्रालय एवं विभागमा भदौ अन्तिम साता हस्तान्तरण भइसकेका छन्।

प्रकाशित: ७ पुस २०७८ ०८:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App