राजनीति

म सभापति चुनिए भने सरकार राष्ट्रिय चुनावसम्म टिकिरहन्छ: देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले १४औं महाधिवेशनबाट आफू सभापति चुनिएको खण्डमा सरकार राष्ट्रिय चुनावसम्म टिकिरहने बताएका छन्।

काठमाडौंमा आयोजित नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिहरुलाई बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले आफू सभापति चुनिएको खण्डमा सरकार राष्ट्रिय चुनावसम्म टिकिरहने बताएका हुन्।  

प्रधानमन्त्री देउवाले सभापति हारेको खण्डमा नैतिकताले पनि प्रधानमन्त्रीमा बस्न नमिल्ने भन्ने कुरा आइरहेकोले सभापति जित्नैपर्ने आवश्यकता रहेको बताए। उनले यो आफ्नो अन्तिम बेला भएको र सभापति हारेमा सभापति नजित्नेले के देश चलाउँछ भन्ने प्रश्न उठाउने भएकोले पनि जित्नै पर्ने दबाव रहेको बताए। प्रधानमन्त्री देउवाले केपी शर्मा ओलीलाई हटाएर आफू प्रधानमन्त्री बन्न सफल भएको र पार्टी सभापतिमा जिते मात्रै सबै दलहरुलाई लिएर स्थानिय तहदेखि केन्द्रिय तहसम्मको सरकार बनाउने बताए।

उनले आफूलाई महाधिवेशनमा जिताए सबैका माग पूरा गर्ने र नेपाली काँग्रेसलाई कुनै व्यक्तिको नभइ सबैको पार्टी बनाउने प्रतिवद्धतासमेत जनाए। प्रधानमन्त्री देउवाले राष्ट्रमा प्रजातन्त्र भएमात्रै आफ्ना अधिकारको लागि लड्न सकिने भन्दै प्रजातन्त्र बिनाको देश कल्पना गर्न नसकिने बताए। प्रधानमन्त्री देउवाले प्रजातन्त्र आजको आवश्यक्ता भएको उल्लेख गरे। उनले पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सरकारमा भएको कोलाहल आफू नेतृत्वमा पुगेपछि शान्त भएको बताए। प्रधानमन्त्री देउवाले अहिलेको समयमा काँग्रेस पार्टीले जित्न जरुरी रहेको र आफ्नो पार्टीले जितेको खण्डमा मात्रै देश अघि बढ्न सक्ने बताए। 

प्रकाशित: २६ मंसिर २०७८ ०७:०४ आइतबार

उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवा